अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परि मृत्यु हुनेहरूको संख्या २३ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
आगलागीबाट प्रभावितहरूलाई उद्धार गर्न उद्धारकर्ताहरू खटिरहेका बताइएको छ।
राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेको छ।
‘आज, हामीले थप १४ जनाको शव फेला पारेका छौं, योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ,’ बट काउन्टीका प्रहरी अधिकारी कोरी होनेले बताए।
आगोका कारण उत्पन्न धूँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुश्किलले देखिएको छ । भूँइमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ।
आगलागी प्रभावित क्षेत्रका झण्डै ५२ हजारलाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको समाचारमा जनाइएको छ ।
बिहीबार बिहान सुरू भएको आगलागी प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो।
आगलागीका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवनहरू क्षतिग्रस्त भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन्।(रासस/एएफपी)