निकेश थपलिया उमेरले पच्चिस वर्ष टेके। यी युवाले अमेरिकाका ५० राज्यहरू तिनीहरूका राजधानीसँगै सबैभन्दा चाँडै खरर भन्ने र लेख्ने, तथा विश्वका २१५ स्वतन्त्र राष्ट्र र भूभागका राजधानी सम्झिने कला छ। यीनले आफ्नो अदभुत कला देखाएर अमेरिकी अनलाइन विश्व रेकर्ड कम्पनी रेकर्ड सेन्टर मार्फ़त सन २०११ मा विश्व रेकर्डहरू बनाइएका छन्।
आजकाल अमेरिकामा के गर्दै छन् यी प्रतिभाशाली युवक निकेश? यस पङ्तिकारले सामाजिक सन्जाल मार्फत निकेशलाई सम्पर्क गर्ने जमर्को गर्यो। निकेश फेला परे, उनले अमेरिकामा बसेर गर्दै आएका सामाजिक गतिविधिका बारेमा यस पङ्तिकारले अध्ययन गर्यो र उनको अर्को महत्वपूर्ण कामका बारेमा चर्चा गर्ने निधो गर्यो । उनीसँग भएको छलफलका आधारमा तयार गरीएको यो छोटो रिपोर्ट।
डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेस अन्तर्गत अफिस अफ रेफ्यूजी रिसेटलमेन्टको अनअकम्पनिड एलियन माइनर्स कार्यक्रममा परिवार पुनर्मिलन अधिकारीका रूपमा हाल आफू कार्यरत रहेको निकेशले जानकारी गराए ।
गैरकानूनी तरिकाले सीमा पार गर्ने वा मानव तस्करीका कारणले सीमामा आएका, तथा इमिग्रेशन एण्ड कस्टम्स एनफोर्समेन्ट (आइस) ले अमेरिकी भूभागभित्र भिसा सकिएको अथवा कागज़ नभएको अवस्थाका १८ वर्ष मुनिका बाल बालिकाहरूलाई हिरासतबाट संरक्षण गर्ने कार्यक्रममा आफू सक्रिय रहेको निकेशले बताए।
यस कार्यका निम्ति संघीय सरकारले अनुमति र बजेट प्रदान गरेको अर्ध तथा गैर-सरकारी संस्था सिकागो स्थित हार्टल्याण्ड अलायन्स ह्युमन केयरसँग आबद्ध रहेको निकेश बताउँछन्।
यदि १८ वर्षको उमेरको हदपछि परिवार पुनर्मिलनको बाटो नभएमा के हुन्छ भन्ने प्रसंगमा स्पष्ट पार्दै निकेश भन्छन् -१८ वर्ष उमेर काटेपछि यदि परिवार पुनर्मिलनको बाटो नभएमा इमिग्रेशन जेल वा अनाथ आश्रम, १८ कटेकाको लागि विशेष आवासीय कार्यक्रम तथा मानसिक परामर्श उपलब्ध छ्न्। इमिग्रेशन जेलबाट छुट्नका लागि न्यायाधीशले तोकेको धरौटी रकम बुझाउनुपर्ने नियम रहेको छ ।
१८ वर्ष मुनिका बाल बालिकाहरूलाई संरक्षण गर्ने कार्यक्रम अन्तर्गत उपलब्ध हुने सुविधाका बारेमा चर्चा गर्दै निकेश भन्छ्न्- १८ वर्ष मुनिकाहरूलाई संरक्षण गर्ने कार्यक्रम अन्तर्गत सरकारको खर्चमा पढ़ाई, खानेकुरा, कपडा, शारीरिक तथा मानसिक स्वास्थ्य,तथा मनोरन्जन लगायतका अन्य सेवाहरू उपलब्ध हुन्छ।
यसरी संरक्षण गर्ने कार्यक्रममा सीमा पार गरेर आउने नेपाली बालबालिकाहरूको संख्या वर्षेनी बढ्दै गरेको र आफूले अधिकांश नेपाली बालबालिकहरूको केसमा काम गर्ने गरेको निकेश बताउँछ्न्।
नेपाली बाल बालिकाहरूलाई सहयोग गरेको प्रसँगमा हालै दुई नेपाली केसहरू १८ वर्ष पुग्नु दुई र तीन हप्ताअघि आएका र दुबैलाई इमिग्रेशन एण्ड कस्टम्स एनफोर्समेन्ट (आइस) को हातमा पर्नबाट जोगाएर अमेरिकामा भएका नाता वा चिनजानका व्यक्तिसामु बुझाइदिएको जानकारी गराए।
संरक्षित बाल बालिकाहरुको विवरण उपलब्ध हुन सक्छ भन्ने प्रस्नमा निकेश भन्छ्न् -संघीय सरकारको व्यवस्था मुताबिक संरक्षित रहेकाले यस कार्यक्रमका सहभागीहरूका व्यक्तिगत जानकारी, ठेगाना र अन्य विस्तृत जानकारीहरू गोप्य राख्नुपर्ने भएकाले आम संचार माध्यममा बताउन नमिल्ने नियम रहेको बताए ।
परिवार पुनर्मिलनको प्रक्रिया कानूनी रुपमा जटिल भएकोले कम्तीमा दुई-तीन महिना लाग्ने तर आफ्नो देशको नागरिकहरूलाई मदत गर्दा छुट्टै किसिमको आनन्द आउने निकेश बताउछ्न्। यी दुई केसमा समयको सीमाका कारण सरकारबाट प्रक्रिया छिटो गर्नको निम्ति सहयोग मिलेकोमा आफुलाई खुशी लागेको निकेशले बताए ।
आफ्नो देशको नागरिकलाई १८ वर्ष उमेरको हुनु एक दिन अगाडि नै इमिग्रेसनको हिरासतबाट बचाएर परिवारसँग पुनर्मिलन गराउन पाउदाको जस्तो हर्ष आफूले बयान गर्न नसक्ने निकेश बताउँछ्न्।
भारत, ग्वाटेमाला, रोमेनिया, मेक्सिको, होंडुरस ,चीन र अफ्रिका जस्ता भौगोलिक क्षेत्रहरूका बालबालिकाहरूलाई समेत आफूले सहयोग पुर्याउँदै आएको निकेशले जानकारी गराए ।
निकेश यस क्षेत्रमा प्रयोग हुने प्रमुख भाषाहरूमा पर्ने नेपाली, हिन्दी र स्पानिश गरी तीनवटा भाषा बोल्न र लेख्न सक्ने भएकाले आफूलाई काम गर्न सझिलो भएको बताउँछ्न्।
यस क्षेत्रमा कसरी लाग्नु भयो भन्ने जिज्ञासामा निकेश स्मरण गर्दै भन्छ्न्– आफू अमेरिका आएको एक वर्ष पश्चातदेखि नै आप्रवासी शर्णार्थी, तथा मानव तस्करीका पीड़ितहरूका हक़हितमा काम गर्ने संस्थाहरूमा सन्लग्न हुँदै आएकाले हाल अमेरिकाको शिकागो शहरमा आप्रवासी बालबालिकाहरूको कल्याण र रक्षाका निम्ति काम गर्दै आमा र बहिनीसँग बस्ने गरेको बताउँछ्न्। नेपालमा हुँदा संयुक्त राष्ट्रसंघको प्रोजेक्टमा भोलन्टियर र एक सामाजिक संस्थामा समेत कार्यरत रहेकोले समाज सेवा तर्फ आफू आकर्षित भएको बताए ।
अन्तमा, विना कागजात तल्लो बाटो भएर आउने आप्रवासी बालबालिकाहरू र तीनका नातागोतालाई के सन्देश दिनु हुन्छ भन्ने प्रश्नमा निकेश भन्छ्न् -संसारभरबाट मानिसहरू बिभिन्न कारणले गर्दा गैरकानूनी रूपमा अमेरिकाको सीमामा आउँछन्- जस्तै राम्रो जीवनको चाहना, राजनितिक उत्पीड़न, मानव तस्करी, आदि। थुप्रै देशका नागरिकहरू सीधै मेक्सिको आएर त्यहाँबाट अमेरिकी नाकासम्म आउन सक्छन्। तर, नेपालीहरूको सन्दर्भमा अधिकांश दक्षिण अमेरिकाको कुनै देशमा आएर जंगल, पहाड़ तथा खोला सबै हुँदै दुःख-कष्ट सहेर ज्यानको बाजी लगाएर आउने गरेको पाइन्छ।
विशेषगरी यसरी आउने १८ बर्ष मुनिका बालबालिकाहरूले अझै धेरै चुनौतीको सामना गर्नुपर्छ। अमेरिकामा आफू वा आफ्नो परिवारसँग नाता पर्ने अथवा पहिलैदेखि चिनजान भएको व्यक्ति भनेर प्रमाण गर्न सकिन्छ भने र उक्त व्यक्तिले ब्याकग्राउण्ड चेक लगायतका अन्य सरकारी मापदण्डहरू उत्तीर्ण गरेको खण्डमा मात्रै पारिवारिक पुनर्मिलन गर्न सकिन्छ।
बालबालिकाहरू अमेरिका छिर्नुअघि उनीहरूले गर्नुपर्ने तीन महिने कठिन यात्रा र यहाँ आइपुगेपछिको जटिल सरकारी प्रक्रियाजस्ता विषयहरू ध्यानमा राखेर अभिभावकहरूले आफ्ना किशोरावस्थाका बालबालिकाहरूलाई सम्पति बेचेर वा ऋण गरेर यसरी पठाउने निर्णय लिनुपूर्व मन र मष्तिष्क दुबैबाट धेरै चोटि सोचबिचार गर्नुपर्ने सल्लाह दिन्छु।