अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।
विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर असान्ज विरुद्धको अभियोगको प्रकृति बारे स्पष्ट हुन सकेको छैन ।
अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो, विकिलिक्सले ट्वीटरमा लेखेको छ । अमेरिकी सहायक महान्यायाधीवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्ज विरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताए । उनले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरेका छन्।
मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताउँदै ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दी नै राखिने बताएकी छन् ।