अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सिआइएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खसोग्जीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी अधिकारीले बताएका छन्।
साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहोर्याउँदै आएको छ।
अमेरिकी गुप्तचर निकाय निकट स्रोतहरूका अनुसार घटनाको अनुसन्धानका क्रममा उसले विस्तृत प्रमाणहरूमा आफ्नो पहुँच पुर्याएको थियो।
खसोग्जीले काम गरेको पत्रिका द वासिङ्टन पोष्टले सिआइएको मूल्यांकन आंशिक रूपमा साउदी युवराजका भाइ खालेद बीन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ। खालेद बीन सलमान अमेरिकाका लागि साउदी राजदूतसमेत हुन्।
आफ्ना दाइको निर्देशनमा खालेदले खसोग्जीलाई फोन गरी महावाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ।
यसैबीच साउदी अरेबियामा रहेका खालेदले आफू करिब १ वर्षयता खसोग्जीसँग सम्पर्कमा नरहेको भनी पछिल्लो ट्वीटर सन्देश जारी गरेका छन्।
ह्वाइट हाउस र अमेरिकी विदेशमन्त्रालय दुवैले त्यस्ता खबरहरूबारे कुनै प्रतिक्रिया जनाएका छैनन् तर स्रोतहरूका अनुसार केन्द्रीय गुप्तचर निकायको निष्कर्षहरूबारे भने दुवैलाई सुचित गरिसकिएको छ।
अमेरिकी ट्रम्प प्रशासनले गत हप्ता खसोग्जीको हत्यामा सम्लग्न रहेको आरोपमा १७ जना साउदी अरबका अधिकारीहरूलाई सजाय दिइसकेको छ। उक्त प्रकरणपछि अमेरिकी सांसदहरूले साउदी अरबलाई वासिङ्टनले बेच्दै आएको हतियारमा कटौती गर्न सुझाव दिएका छन्। उनीहरूले साउदी अरबलाई दोषी ठहर गर्दै ऊविरूद्ध अहिलेकोभन्दा कडा उपाय अवलम्बन गर्न सुझाव दिएका छन्।
यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शनिबार खसोग्जीका हत्यारालाई उम्कन नदिने प्रतिवद्धता जनाएका छन्। पपुवा न्यू गिनीमा भएको एउटा सम्मेलनपछि बोल्दै उनले खसोग्जीको हत्याका जिम्मेवार सबैलाई जवाफदेही बनाउन अमेरिका प्रतिवद्ध रहेको बताए।
साउदी पत्रकार खसोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो। उनको शव अझै फेला परेको छैन। टर्कीले उक्त हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ । वासिङ्टन पोष्ट पत्रिकामा मासिक रूपमा स्तम्भ लेख्ने पत्रकार खसोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेयता बेपत्ता भएका थिए।
उनको अन्तिम संस्कार साउदी अरेबिया र टर्कीमा शुक्रबार गरिएको थियो। टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्जीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको थियो ।
सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्जीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै ५०० जना सहभागी थिए। विश्वका विभिन्न ठाउँबाट आएका ती व्यक्तिहरू फतिह मस्जीदमा भेला भएका थिए। उनीहरुले पत्रकार खसोग्जीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। (रासस/एपी)