ट्रंपको "एक्जिक्युटिभ अर्डर" अदालतद्वारा खारेज:
२०१६ को चुनावी अभियानको निकै पेचिलो नारा थियो, अध्यागमन । बढ्दै गएको गैर कानुनी आप्रवासीहरूको कारण धेरै गोरा अमेरिकीहरूमा त्रास पनि बढ्दै गएको थियो । मेक्सिकोबाट बिना भिसा अमेरिका छिर्नेहरूको पनि अमेरिकी सञ्चार माध्यमहरूमा निकै प्रचार प्रसार हुने हुनाले अमेरिकाको दक्षिणी भागमा सीमा नै पो छैन कि भन्ने धेरैलाई थियो । सोही मुद्दामा अत्यन्त अनुदारवादी धारणा राख्ने डोनाल्ड ट्रंप अमेरिकाको राष्ट्रपति बन्न पुगे ।
उनले पदभार ग्रहण २०१७ को जनवरी २० मा औपचारिक रूपमा गरे । त्यसपछि उनले समय समयमा आफ्नो एक्जिक्युटिभ शक्ति प्रयोग गर्दै कहिले "मुस्लिम प्रतिबन्ध" त कहिले "सीमामा पर्खाल" जस्ता अध्यागमनसँग सम्बन्धित कुराहरू गरे । त्यो भन्दा बढी उनले आप्रवासीहरूको मानमर्दनमा धेरै समय खर्च गरे । मेक्सिकनहरुलाई "बलात्कारी" भनेर चुनावी अभियान सुरु गरेका ट्रंप मुसलमानहरू सबै आतङ्ककारी हुन् भन्ने अभिव्यक्तिका कारण आलोचित बने । अफ्रिकन देशहरूलाई "सिट होल" देशहरू भन्ने देखि अरू देशहरूलाई समग्रमै नराम्रो भनेर बिबादास्पद अभिव्यक्तिहरू दिइरहे ।
यही हप्ता मात्र उनले अमेरिका बस्ने शरणार्थीहरूमा पनि आफ्नो शक्तिको हतियार चलाए । आफ्नो देश फर्किँदा असुरक्षित रहने अवस्थामा अमेरिका प्रवेश गरेको निश्चित समय भित्र जुनसुकै ठाउँबाट पनि अमेरिकामा "असाइलम" को लागि निवेदन दिन सक्ने अमेरिकी कानुन छ । नोभेम्बर ९ २०१८ मा त्यसलाई परिवर्तन गर्ने गरी ट्रंपले "एक्जिक्युटिभ" शक्ति प्रयोग गर्दै अमेरिकामा असाइलम लिन चाहनेले अमेरिकी बोर्डरमा रहेको अध्यागमन कार्यालयमा निवेदन दिनुपर्ने निर्देशन जारी गरे । त्यो बिन्दुबाट भित्र अमेरिकामा पसेपछि निवेदन दिन नपाइने उक्त निर्देशनको मुख्य उद्देश्य थियो ।
ट्रंपले त्यस्तो निर्देशन जारी गरेको केही समयमै सान फ्रान्सिस्को स्थित सङ्घीय अदालतमा उक्त निर्देशन गैर कानुनी भएको भन्दै मुद्दा पर्यो । नोभेम्बर १९ गते सोमबार उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशले ट्रंपको उक्त निर्णय खारेज गरिदिएका छन् । न्यायाधीश जोन टिगारले अस्थायी रूपमा उक्त "निर्देशन" खारेज गर्दै डिसेम्बर १९ मा यसको अन्तिम निर्णय दिने भएका छन् । अध्यागमन सम्बन्धी नियम बनाउने अधिकार संसदमा रहेको जनाउँदै जुनसुकै ठाउँबाट पनि निवेदन दिन सकिने अवस्था पुनर्बहाली गरिएको निर्णय गरेका छन् ।
सङ्घीय अदालतको निर्णयले ट्रंपको स्वेच्छाचारी रूपमा कानुन बनाउने निर्णयमा धक्का लागेको छ । मुस्लिमहरूको प्रतिबन्ध माथि पनि अदालतले ट्रंपको विरुद्ध निर्णय दिएका थिए । अमेरिकी अध्यागमन कानुनमा व्यापक कमजोरी रहेको अधिकांशले स्वीकार गरे पनि यसको समाधान स्थायी रूपमा सांसदले कानुन बनाएर गर्नु नै अहिलेको आवश्यकता हो ।
ट्रंपकि छोरी इभांका ट्रंपको इमेल काण्ड:
२०१६ को रास्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रंपको हिलारी विरोधी एउटा नारा अत्यधिक चर्चित थियो "लक् हर अप" अर्थात् "उसलाई थुन" । कारण थियो सेक्रेटरी अफ स्टेट हुँदा सरकारी इमेलहरू प्राइभेट सर्भर मार्फत पठाउनु । २०१६ को चुनावमा भएको दोस्रो सार्वजनिक बहसमा ट्रंपले हिलारीको सोही गल्ती बापत आफू राष्ट्रपति बनेमा विशेष काउन्सिल नियुक्त गरेर जेल पठाउने उद्घोष गरेका थिए । उनका हरेक चुनावी सभामा दर्शकहरूलाई उनले "लक् हर अप" को नारा गुन्जिन्थ्यो ।
त्यसको दुई वर्ष पछि भने ट्रंपकि आफ्नै छोरी इभांका ट्रंपले सरकारी काम गर्न प्राइभेट सर्भर प्रयोग गरेको खुलेको छ । वासिङ्टन पोस्टको हालै प्रकाशित रिपोर्ट अनुसार उनले उनका पिताले चुनाव जितेको केही समय डिसेम्बर २०१६ देखि २०१७ को अन्त्यसम्म व्हाइट हाउसका कर्मचारीहरूसँग कुरा गर्न प्रयोग गरेकी थिइन । हिलारी क्लिन्टनले त्यस्तै काम गरेबापत आक्रमण गरेका ट्रंपले आफ्नी छोरीको भने बचाउ गर्दै हिलारी र आफ्नी छोरीको कुरा फरक रहेको दाबी गरेका छन् । तर स्वतन्त्र पर्यबेक्षकहरु भने इभांका ट्रंपको यो कार्य राष्ट्रिय सुरक्षामा गम्भीर त्रुटि भएको भन्दै छानबिन हुनु पर्ने जनाएका छन् ।
जलवायु परिवर्तन बारेको रिपोर्ट प्रकाशित:
पृथ्वीको तापक्रम बढ्दो छ र त्यो मानव जातिको लागि खतरा छ भन्ने कुरा करिब ९९% वैज्ञानिकहरूले विश्वास गर्छन् । अधिकांश अमेरिकीहरू पनि यसमा सहमत छन् । तर राष्ट्रपति डोनाल्ड ट्रंप र केही पुरातनवादीहरू यो कुरा स्वीकार गर्न तयार छैनन् । उनीहरू यो सबै कुरा उपरवालको खेल भन्ने विश्वास गर्छन् । फलस्वरूप जलवायु परिवर्तनलाई एउटा होक्स अर्थात् "हास्यास्पद" कुरा मान्छन् । पृथ्वीको बढ्दो तापक्रम कम गर्न अपाउनु पर्ने मानवीय नियमहरू उनीहरू मान्न तयार छैनन् । उनीहरू यसलाई अमेरिका माथिको षड्यन्त्रको रूपमा व्याख्या गर्छन् ।
तर नोभेम्बर २३ गते अमेरिकी सरकारको तर्फबाट १३ वटा अमेरिकी सङ्घीय एजेन्सीहरूले एउटा रिपोर्ट निकालेका छन् जसले ट्रंपले भनेका हरेक कुरहरुलाई बुँदागत रूपमा खण्डन गरिएको छ । वातावरण हेर्ने एजेन्सीहरूको रिपोर्ट लाइ भने ट्रंप प्रशासनले सच्याउने वा सच्याउन दबाब दिने काम गरेन ।
२०१७ को जनवरी मा ट्रंपले सत्ता आरोहण गरे पछि वातावरण बिगार्न नदिन ओबामा प्रशासनले अपनाएका धेरै नियमहरू खारेज गरिदिए । अमेरिकामा बढ्दै गएका आँधीबेहरी, हुरी, बाढी र आगलागी जस्ता प्रकोपहरू जलवायु परिवर्तन कै कारण भएको यो रिपोर्टमा उल्लेख गरिएको छ । चौथो नेसनल क्लाइमेट एसेस्मेन्ट नाम दिइएको यो रिपोर्टले यही गतिमा वातावरणमा धुवाँ र विकिरण निष्कासन हुँदै गएमा सन् २०९० भित्र तापक्रमको वृद्धिका कारण श्रमसँग सम्बन्धित क्षति मात्र वार्षिक १५५ बिलियन डलर हुनेछ । अमेरिकाको समुद्री तटमा मात्र त्यति बेलासम्म समुद्रको लेभल बढेर र आँधीका कारण १२० बिलियन डलर वार्षिक क्षति हुने उक्त रिपोर्टले उल्लेख गरेको छ ।
नेसनल ओसेनिक एन्ड अट्मोस्फ़ेरिक एसोसिएसन कि प्रवक्ता मोनिका एलेनका अनुसार २९ च्याप्टरमा समेटिएको यो रिपोर्ट आगामी डिसेम्बर २ देखि पोल्याण्डमा हुन लागेको संयुक्त राष्ट्र सङ्घको वातावरण सम्बन्धी छलफल र वासिङ्टन डिसीमा डिसेम्बरको मध्य तिर हुन लागेको वातावरण सम्बन्धी वैज्ञानिकहरूको सम्मेलनमा समेत छलफल होस् भन्ने उद्देश्यले प्रकाशित गरिएको जनाएकी छन् ।
अमेरिकामा थ्याङ्क्सगिभिंग अर्थात् धन्यवाद ज्ञापन पर्व:
अमेरिकामा मनाइने निकै कम चाडहरूमा थ्याङ्क्सगिभिंग पर्छ । यो नोभेम्बर महिनाको चौथो बिहीबार मनाउने गरिन्छ । १७८९ मा जर्ज वासिङ्टनद्वारा तत्कालीन काँग्रेसको आग्रहमा एक घोषणा जारी गर्दै यसको सुरुवात गरेका हुन् । त्यति बेला नोभेम्बर महिनाको अन्तिम बिहीबार मनाउने निर्णय भए पनि राष्ट्रपति फ्र्यांकलिन रुजबेल्टको पाल देखि यसलाई नोभेम्बर महिनाको चौथो बिहीबार मनाउन सुरु गरिएको थियो ।
युरोपमा दण्डको दरले भागेका युरोपियनहरूलाई स्वागत गर्न यो चाड सुरु गरिएको पाइन्छ । १७ शताब्दीको सुरुवातमा आएका ती आप्रवासीहरूले लगाएको बाली स्याहारेको दिनमा सबै जम्मा भएर यो चाड मनाइएको थियो । अमेरिकी धर्तीमा प्राप्त सुविधा, सुख र जीवनको लागि धन्यवाद दिन यो चाडको सुरुवात गरिएको मानिन्छ । करिब ४ सय वर्षको अवधिमा यो चाड मनाउने तरिकामा धेरै फरक आएको पाइन्छ । अहिले टर्कीको मासु खाएर रमाइलो गर्दै यो चाड मानिन्छ भने राष्ट्रपतिहरूलाई पठाइएको जिउँदो टर्कीलाई भने मरेर नखाई माफ गर्ने चलन छ । यो अवसरमा स्वतन्त्रताको लागि ज्यान दिने सैनिकहरूलाई धन्यवाद दिन देशभर परेडहरू आयोजना गर्ने गरिन्छ ।
('अमेरिकामा यो साता’ विभिन्न सञ्चार सामग्रीहरुको सहयोगमा संयोजन गरिएको हो )