म ठूला कुरा जान्दिनँ। यो लेख्न थालेको कुरो त झन्
...
कहिलेकाहिँ कतिपय कुराहरु यत्तिकै चलिरहोस् झैँ लाग्छ। तर समाजको विकास प्रकृया व्यक्तिको भन्दा छिटो हुन्छ। त्यसमा परिवर्तनको गति र दृष्टिकोण स्वाट्टै बदलिइसकेको हुन्छ, हामीलाई मेसै हुन्न। हामी त्यो बदलावको प्रस्थान बिन्दु पहिल्याउन नसकेर अल्मलिन्छौँ। जब म हुर्किएँ, मसँगसँगै समय पनि हुर्कियो। हुर्किँदै गर्दा उमेरका भेदहरु बेग्लैसित परिभाषित हुँदै गए। म क्रमशः ३० को नजिक पुगेँ, समयले पनि उति नै वर्षको फन्को मार्यो। आज मजति नै बूढो समय मतिर हेरेर प्रश्न गर्छ वा हाँस्छ वा के गर्छ तर म ऊतिर नहेरी उम्किन खोज्छु। समयले परिपक्वताको परिभाषा पनि आफूखुशी बनाइदियो र मजस्तै धेरैलाई आफूभन्दा पाको बनाएर छोडिदियो यतै कतै। कताकता कतिपय तालमेल नमिलेको जस्तो भइदिन्छ। हाम्रा साथी हाम्रा साथी रहेनन्, हाम्रा सपना हाम्रा सपना रहेनन्। हामी नै हामी रहेनौँ। हामी खै को हो को हो भयौँ। तर यो परिवर्तनको साक्षी बसेरै पनि हामीले हाम्रै उपस्थितिहरुमाथि आलोचनात्मक दृष्टि लगाउन सकेनौँ।
दर्शनढुंगा ठोक्काएर आगो निकालेजस्तै गरी म धेरै कुराहरु एकआपसमा ठोक्काउँछु। अनि युद्धका बाछिटाले हिर्काएपछि जोसुकैको जीवन कम्तिमा एक दशक पछि धकेलिन्छ भन्ने कुरा महशुश गर्छु। अगाडि बढ्न थालिसकेका कतिपय कुराहरुलाई पहिलेकै अनुकुलतामा परिस्थितिजन्य आकारहरु मिलाएर हेरिदिनु पर्ने÷बुझिदिनु पर्ने रहेछ, त्यसरी एक दशक पछाडि धकेलिएपछि। त्यस्तो हुँदाखेरी हामीले एउटा ‘पिरियड’ लाई ‘जस्टिफाई’ गर्न खोज्ने रहेछौँ तर त्यसमा पनि ‘हार्मोनी’ बिग्रिने रहेछ। किनभने, हामीले एकखालको विश्वदृष्टि बनाइसकेको हुनुपर्ने अवस्थामा फेरी फर्किएर अर्कै प्रकारले संसार हेर्नुपर्दाखेरी धेरै कुरा मिलिदिँदैनन्। अनि फेरी त्यसैको सन्तुलन मिलाउनलाई संघर्ष गर्छौँ।
हाम्रा बाको पालाको ३० वर्ष र अहिलेको ३० वर्ष एकै हैनन्। अचेल “थर्टी इज द न्यू ट्वेन्टी” भन्ने ट्रेण्ड चलेको छ धेरैतिर। यतातिर बसमा, ट्रेनमा यात्रा गर्दा १७–१८ का तन्नेरीहरुले कुरा गरेको सुन्छौँ। तिनले गर्नेजस्तो गहिरो कुरा त हाम्रोतिर कुनै २५–२६ वर्षकोे वयस्कले पनि गरेको सुनिएको थिएन। समुना जी र म छक्क पर्छौँ त्यस्तोबेला, र भन्छौँ, “के चाहिँ पर्नी होला नि यस्ता केट्केटीलाई !” कहिलेकाहिँ त म मात्रै होला हुर्किन बिर्सिएको भन्ठान्थेँ। सन्देशले “मेरो हुर्काई पनि ६–७ वर्ष ढिलो भएजस्तो लाग्छ मलाई” भनेपछि चाहिँ मेरो पुस्ताका धेरैजनालाई यस्तै भएको होला भन्ने मान्छु। जो अघि गए, गइगए। ‘अघि’ भनेको कति ‘अघि’ हो, केको सापेक्षतामा हेरिने ‘अघि’ र ‘पछि’ हो भन्ने त फेरी जिन्दगीभरीकै एजेण्डा भइगयो।
कुनैबेला मेरा बा जीवन मरणका अनेक कर्मकाण्डहरु नगर्दा नि हुन्छ भन्थे। मान्छेहरुले उनलाई परिवर्तनको कुरा गर्यो भनेनन्। खाली “कम्निष्ट” को बोली माने र भने, “कम्निष्टहरु नास्तिक हुन्छन्।” कोहिबेला म जिन्दगीका सपाट ‘रुटिन’ हरु नमानिदिन खोज्थेँ, त्यस्तोबेला मलाई चाहिँ मान्छेहरु “कम्निष्ट” पनि भनिदिँदैनथे, नास्तिक पनि भनिदिँदैनथे, बरु आलोकाँचो भनिदिन्थे, अबुझ र अव्यवहारिक भनिदिन्थे। समाज गतिशील हुन्छ, परिवर्तनशील हुन्छ र विकासका हरेक चरणमा समाजसँग सापेक्ष हुने अनेक तत्वहरुको गुणस्तर बृद्धितिर उन्मुख भइरहन्छ भन्नु व्यवहारिक नहुनु हैन भनेर मैले कसैलाई बुझाउनै सकिनँ। तर बाको र मेरो यौवनकालका यी भिन्न परिदृश्यहरुले मलाई समाजको एउटा ‘एक्टिभ अब्जर्भर’ बनाइदिएको छ।
...
आजसम्म हामीले धेरै कुरा गर्यौँ। सबैभन्दा धेरै त जिन्दगीको गति पहिल्याउने कसरत गरिरह्यौँ। तिनै कसरतहरुमा हामीले अहिलेको समयका सबैभन्दा सत्य हुन् भनिएका “ट्रेण्ड”हरु समायौँ र हाम्रा दैनिकीहरुमा तिनलाई खेलाइरह्यौँ। हामीले “ट्रेण्ड” त समायौँ तर तिनका आधारहरुको खोजी गरेनौँ। अर्को नयाँ ट्रेण्ड नआउञ्जेल हामीले त्यहि “ट्रेण्ड” लाई यतिधेरै गिजोल्यौँ, ती आफ्नो निर्दिष्ट लक्ष्य र अर्थभन्दा निकै पर हुत्याइए। विश्वभरीका मनोवैज्ञानिकहरुले ‘सिग्मण्ड फ्रोयड’ कै जगमा कुल्चिएर दुनिया चिहाए भनेर ‘प्रोफेसर फोष्टर’ ले भन्दाखेरी म हाम्रातिर मानव विकासका सिद्धान्तहरुमाथि कुल्चिएर कस–कसले समाजलाई कतातिर हेर्न लगाइदिए भनेर सोच्दै थिएँ।
कतिपय मान्छेहरु अरुलाई ‘डिक्टेट्’ गराइराख्न मन पराउँदा रहेछन्। एकफेर गर्दिए, ल ठिकै छ त भन्यो, जिन्दगीभरी गर्दिन्छु भनेजस्तो पारिदिन्छन् कहिलेकाहिँ। त्यसरी हौसिएका मान्छेहरुले त्यसपछि आफू नै हो सबथोक भन्ने ठानेर सबैलाई त्यसै गर्न थाल्दा रहेछन्। “यसरी पनि बाँच्न सकिन्छ” भन्नु र “यसरी नै बाँच् नत्र तैँले बाँचेको खेरै गयो” भन्दिनु त एउटै हुँदै हैन। हुनलाई हरेक मान्छे यो ब्रह्माण्डका ‘यूनिक क्रियशन’ हुन्। त्यसअर्थमा, सबैमा आफ्नो जिन्दगी सार्थक बनाउन सक्ने हैसियत कुनै न कुनै हिसाबले भएकै हुन्छ। कहिलेकाहिँ जिन्दगीका अनेक परिस्थितिहरु अर्कै किसिमले ठोक्किन्छन् र भनेजस्ते हुँदैन। तर अरुलाई झ्याम् कि झ्याम् ‘डिक्टेट्’ गराउने ‘अब्सेसन’ भएका मान्छेहरु जब संस्था बन्छन् या प्रतिनिधि बन्छन्, तिनले समाजका हरेक इकाईहरुमा केहि न केहि छिर्के लगाइरहन्छन्। धेरैजनालाई लडाउने त्यस्ता छिर्केहरु राजनितिमा बिगतदेखि वर्तमानसम्मै धेरै देखेका छौँ हामीले।
त्यसरी राजनिति र राजनितिसँग नजिक हुनेहरुले सर्वत्र शक्तिको अभ्यास गरिराख्दा मलाई ‘फिलिप जिम्बार्डो’ याद आउँछन्। र उनको १९७१ को ‘स्ट्यान्फोर्ड प्रिजन एक्सपेरिमेन्ट’ याद आउँछ। आफू शक्तिशाली छु भन्ने भएपछि व्यक्तिमा कसरी शक्तिको दम्भ उत्पन्न हुँदै जान्छ र शक्तिको अभ्यास गर्दाखेरी कुनै ‘अथोरिटी’ लाई जवाफ दिनु नपर्ने भएपछि कसरी त्यो व्यक्ति मनोवैज्ञानिक रुपमै क्रुर हुँदै जान्छ भन्ने कुराको अध्ययन थियो त्यो। इराकको ‘अबु घरिब’ जेलमा अमेरिकी सेनाहरुले कैदीहरुलाई दिने गरेको शारिरक र मानसिक यातनाको विषयमा पनि उनले अध्ययन गरेका थिए। अचेल “एभ्रिडे हिरो”हरु बनाउने “हिरोइक् प्रोजेक्ट” सँगै “हिरोइजम्”का आयामहरु खोतल्दैछन् र शक्ति अनि सत्ताभन्दा इतरका मान्छेहरुसँग संवाद गरिराखेका छन्। उता हाम्रा फिल्ममा हिरो र ‘हिरोइजम्’ को ‘पोट्र्रेयल’ का विषयमा बहसहरु चल्न थालेका छन्। अनि अपराधलाई अपराधभन्दा अरु नै आवरणले छोपिदिन सक्नेहरुले जनताको मानसिक तहमै निरन्तर शक्तिको अभ्यास पनि गरिराखेकै छन्। संसारमा फरक भूगोलमा फरक सन्दर्भहरु यसरी ठोक्किइराखेका हुन्छन् र यीनै कुराहरुले पनि हाम्रा दृष्टिकोणहरु बनिरहेका हुन्छन्।
फेरी समाज र व्यक्तिको विकास अनि युद्ध र तिनले हामीलाई एक दशक पछाडि धकेलेको कुरातिर जान्छु। हामी त प्रत्यक्ष देखिएको युद्धको असरलाई हेरेर यसो भन्दैछौँ तर हामीभन्दा अघिल्ला पुस्ताका मान्छेहरुलाई पनि दशकौँपछाडि धकेलेको धकेल्यै गर्ने कारणहरु चाहिँ के के थिए होला ? अघिल्लो पुस्तालाई यहाँनेर घिसार्नुको कारण के हो भने; उनीहरु नै छन् भीड्को अघिल्तिर। अनि उनीहरु जेपनि बोलिदिन्छन्। उसलाई ‘रीफ्रेज’ गरेर यसरी भनौँ; “भीड्का अघिल्तिर उभिने हामीभन्दा पहिलेका पुस्ताका मान्छेहरु।” वास्तवमा उनीहरु त्यहाँ छन् तर छैनन्, अन्तै कतै अड्किएका छन्। कि त भन्नु पर्ने होला, “शासन व्यवस्थाको विकासको गति शासकहरुको विकासको भन्दा कति हो कति तीव्र छ, त्यहि भएर त्यो सामञ्जस्य नमिलेको हो।” कि त भन्नुपर्ने होला, “शक्तिले चेतनालाई निस्कृय पारिदिन्छ, त्यहि भएर हामी कतै अड्किएको अड्कियै भयौँ, विश्वदृष्टि बनाउनै पाएनौँ।” नत्र कसरी बुझ्ने हो! अल्मलिएँ।
भनेँ नि, म ठूला कुरा जान्दिनँ। ठूलाहरुका कुरा त झन् ...