मुलुक छोडे पनि लाखौँ नेपालीहरूको मन-मस्तिष्कमा नेपाल छ। माटो सँगको त्यो माया जन्म भूमिबाट टाढा हुँदा अझ थप गाढा भएको छ। सायद, त्यही भएर होला- नेपालमा देखिने/सुनिने राजनैतिक कुसंस्कार प्रति वितृष्णा उत्पन्न हुन्छ।
पञ्चायती व्यवस्थाले जनतामा लादेको एक दलीय व्यवस्थाका कारण कुण्ठित भएको जनताको अधिकारलाई पुन जनता माझ फिर्ता ल्याउन हक र अधिकारको लडाइँ भयो । तत्पश्चात् २०३६ को आन्दोलन हुँदै २०४६ को बहुदलीय व्यवस्था, माओवादीको क्रान्तिपछि ०६२/०६३ को आन्दोलन, संविधानमा सङ्घीयताका कुराले स्थान पाएका राजनीतिक पक्षले जनताको चेतनाको विकासमा खेलेको भूमिकाका लागी पुराना दल र तीनका नेताहरू धन्यवादका पात्र छन् । तर , राजनीतिक हक र अधिकार पाएका जनताले लामो समय सम्म देशमा संवृद्धि र विकास देख्न र भोग्न पाएनन् । यसको परिणाम स्वरूप नेपाली मानवीय भावनामा पद, प्रतिष्ठा र पैसाको स्वार्थी आचरणले धमिल्यायो । यसमा सबैभन्दा ठुलो दोष राजनीतिक दलहरूले सिकाएको स्वार्थी भावना, विभेदकारी व्यवहार अनि फरकताको महसुस गराउने प्रवृत्ति हो ।
देशमा मौलाएको भष्ट्र्चार र चरम बेरोजगारीका बारेमा युवाहरूले जिज्ञासा र चासो राख्न थालेका छन् । तर हाम्रो समाज र त्यस भित्र मौलाएको संस्कार नै यती दुषित भएको छ की घुस, भ्रष्टाचार, अनैतिक आय आर्जनलाई निरुत्साहित पार्नु भन्दा त्यसलाई बढवा दिन्छ । कुनै वैधानिक आय श्रोत नभै गलत विधिको कमाई बाट ठड्याईएका महल तथा अप्रत्याशित रूपले परिवर्तन भएको रहन सहनलाई फलानोले प्रगति गरेछ भनेर गौरव गर्ने पनि यही समाजका हामी पहिलो पुस्ता नै हौ।
विगत २०-२२ वर्ष देखी ठुला राजनीतिक दलहरूले आलोपालो देश विकास गर्ने अवसर पाएकै हुन । जनताले विश्वास गरेर सत्ता सञ्चालन गर्न दिए तर, जनताले दिएको मत र विश्वास बमोजिम देशको संवृद्धिका लागी ठुला दलहरू असफल भएकै हुन।अधिकारको लडाई लडने नेताहरूले सत्ताका लागी आलो पालो कुर्सी साटा साट गर्न समय ब्यथित गरे, राजनीतिक व्यवस्था र यसको जनमुखी आचरणलाई दुर्गन्धित बनाई जनताको भावना र देशको आवश्यकता अनुकूल प्रयोग गरिएन। नेताहरूले अधिकारको लडाई त लडे तर आफू सत्तामा पुगे पछि राजनीतिक र व्यक्तिगत आचरण गुमाउनु पुगे, देश र जनताका इच्छा र आकाङ्क्षा विपरीत सरकार ढाल्ने र बनाउने खेल मै समय ब्यथित गरे । पद , नातावाद र सत्ता लोपताका कारण ठुलो त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रका उपलब्धिहरू कुन्ठित हुन पुगे , ऊर्जाशील युवाहरू खाडीको रापमा हड्डी घोटन बाध्य भए भने गाउँघरमा बाझो खेत कुर्न बुदेशकालका बाबुआमा बाध्य भए ।
लामो समय सम्म यस मुलुकको प्रमुख राजनीति हाँकेका नेता र तीनका वरिपरि बस्नेहरूको जीवनशैलीमा आएको परिवर्तनले जिब्रो टोक्नु पर्ने अवस्था सृजना भयो। भ्रष्टाचारले मानिस, परिवार, समाज, देश र राष्ट्रलाई नकारात्मक असर पारेको हुन्छ । यसैको नकारात्मक प्रभावले नेपालका सत्ताधारी र यस मुलुकका श्रमजीवी जनता बिच आज ठुलो खाडल देखिन्छ । यसलाई गहिराईमा गएर विश्लेषण गर्ने हो भने भ्रष्टाचारको ठाडो असर मुलुकको बिकासक्रममा परेको हुन्छ । त्यस्तै, यस मुलुकको बागडोर सम्हालेका राजनीतिक व्यक्तिहरू दिन प्रतिदिन मोटाउँदै जानु र राष्ट्र खोक्रो हुँदै जानुको अर्थ यो मुलुकका जनतालाई थाम्नै नसक्ने गरी विदेशी ऋणको भारी बोक्नु परेको र देश गरिबीको चपेटामा फसेको हो भन्न सक्ने आधारहरू भेटिन्छन् ।
खाडी लगायतका मुलुकहरूमा श्रम गर्न बाध्य भएका उर्जनशिल युवाहरूको लर्को डरलाग्दो छ । देशमा रोजगारी छैन, घर परिवार पाल्ने कुनै आधार छैन । अड्डा अदालत, शान्ति सुरक्षा देखी स्वास्थ्य सेवामा समेत राजनीतिक हस्तक्षेपका कारण प्यारालाईज बनाइएका छन् । पेट पाल्नका लागी कि त नेताहरूको शरण पर्नु पर्दछ की अनैतिक काममा संलग्न हुनु पर्दछ । वैदेशिक रोजगारीकालागी सरकारी नीति र नियमको टेकोमा अनियन्त्रीतरुपले रोजगार कम्पनीहरूको स्थापना गरिनु, कम्पनीहरूको अनुगमन नहुनु, राजनीतिक पार्टीहरूको आडमा त्यस्ता रोजगार कम्पनीहरू सञ्चालन गरिदा वैदेशिक रोजगारकालागी गएका युवा युवतीहरू दिन प्रति दिन ठगिने गरेका , यौन शोषणमा पर्ने गरेका, अङ्ग भङ्ग हुने गरेका आदी अनगिन्ती घटनाहरू सुनिन्छन्। यस्ता घटनाहरूमा राज्य निरीह रहनु र राज्यबाट आवश्यकता अनुसार आफ्ना नागरिकहरूलाई सहयोग र सद्भाव प्रदान गर्न नसक्दाको पिडामा प्रत्येक नेपालीको मन कुँडिनु स्वाभाविक हो ।
शिक्षा, स्वास्थ्यमा दलगत हस्तक्षेप, राज्यको सेवा र विकासमा मौलाएको भ्रष्टाचार, ठेकेदार र माफियाहरूको राज्य र प्राकृतिक श्रोत उपरको लुट, सङ्क्रमणकालीन न्यायको हत्या, चरम बेरोजगारी, ओरालो लागेको अर्थतन्त्र आदिको निरन्तरताका कारण सम्बद्ध नेपालको गोरेटोमा लामो समय सम्म तगारो लाग्ने हो कि भन्ने आशङ्काले बुद्धिजीवी वर्गहरू चिन्तित देखिएका छन्। नेताहरूको सत्तालोपता र स्वार्थी आचरणका कारण राज्य विखण्डनको खेल विदेशीले खेली राख्लान् भन्ने डर पनि त्यत्तिकै छ। राष्ट्र जलिरहँदा, कमजोर भइरहँदा, भ्रष्ट्रचार्, जनताका हक र अधिकार कुन्ठित हुँदा , बेथिति र विदेशी हस्तक्षेपले थिलथिलो बनिरहँदा जुन देशका जनता सत्य बोल्ने साहस गर्दैनन्, गुण र दोषका आधारमा आफ्ना प्रतिनिधि छान्ने विवेक प्रयोग गर्न सक्दैनन् त्यस देशको अर्थतन्त्र यसरी नै कछुवाको गतिमा चली नै रहनेछ , खाडी जाने युवाहरूको लर्को बढी नै रहनेछ , विदेशमा चेलीहरूको बिक्री र मानसिक र यौन शोषण रोकिने छैन र राज्यबाट जनताहरू यसरी नै अपमानित हुनु पर्नेछ । यसका लागी जनतामा सचेतनाको आन्दोलन अबको आवश्यकता पनि हो ।
जन्मभूमि नेपालमा मौलाएको बेथिति र विसङ्गतिले नेपाल भित्र मात्र हैन नेपाल बाहिर उच्च शिक्षाकालागी गएका, रोजगारीको अवसरको सदुपयोग गरेका र जिविकायापन गर्ने अवसर पाएका नेपालीहरू अत्यन्त चिन्तित छन् । यसै बिच , देशको बिग्रँदो अवस्थामा स्वदेश फर्केर केही योगदान गर्ने सङ्कल्प लिएर डेढ दशक लामो अमेरिका बसाई पश्चात् एक युवक स्वदेश फर्किए। उनी हुन - सञ्चारकर्मी रवि लामिछाने । अमेरिका बाट मात्रुभूमी नेपाल फर्किए पस्चामा पत्रकारिताको माध्यमले नेपाल र नेपाली जनताको ढुकढुकी बनेर उदाएका रवि " जनतासँगको सिधा कुरा" नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यस प्रकार नेपाली पत्रकारीताका क्षेत्रमा आम सञ्चारकर्मी भन्दा अलग 'एग्रेशिभ पत्रकारिता' को भूमिकामा रवि लामिछाने देखा परेका छन् ।
देशका जल्दा बल्दा समस्याहरूलाई राज्य समक्ष प्रस्तुत गर्ने र जनतालाई सुसूचित गराउने दाहित्व राज्यको चौथो अङ्ग पत्रकारिताको हो भने ती समस्याहरूको समाधान गर्ने दाहित्व राज्यको हो । मुलुकमा लामो समय देखी अस्थिर रहेको सरकार , राजनीतिक परिवर्तनबाट राखिएको आशा र भरोसा अनुरूपका कार्यहरू सम्पादनमा असफलता र जनताका समस्याहरू समाधान गर्न असक्षम राज्य संयन्त्र भएको अवस्थामा पत्रकार रवि लामिछानेले 'एग्रेशिभ पत्रकारिता' जस्तो चुनौतीपूर्ण अभियानको सुरुवात गरेका छन्। सहयोगका लागी राज्यबाट आस मारेका दुखी र पीडित जनताहरूको बढ्दो लर्को यती बेला सहयोगकालागी रवीको शरणमा पर्न थालेका छन् । अर्का तर्फ , माथि वर्णन गरिए झैँ गलत राजनीतिक संस्कारका कारणले देशमा मौलाएको बेथिति , भ्रष्टाचार र सेवाग्राही प्रति राज्यको गैर जिम्मेवारीपूर्ण व्यवहारलाई सार्वजनिक गर्दै , पीडितहरूलाई न्याय प्रदान गर्ने काममा सरकारलाई दबाब दिन सफल हुँदै आएका रविले बहुसङ्ख्यक नेपालीहरूको मन जित्न सफल भएका छन् ।
देश र जनताको संवृद्धि र विकासका लागी इमान्दारिता, क्षमता र इच्छा शक्ति आवश्यक हुन्छ । यी गुण भएका व्यक्तिहरू नेपालमा छन् तर यस्ता व्यक्तिहरू नेतृत्व सम्म पुग्नै पाउदैनन वा पुग्ने राजनीतिक संस्कार नै छैन । फलस्वरूप त्यस्ता व्यक्तिहरू आफ्नो भाग्य कोर्नका लागी कोही खाडी त कोही अन्य मुलुकमा जान बाध्य हुन्छन् ।अनि , त्यही पुराना र पुरातनवादीहरूको कब्जामा देश रहने गरेको अवस्था आजको नेपालको हो ।त्यही व्यक्ति, त्यही आचरण र त्यही बेथितिका बिच फोहोरी राजनीतिको टेकोबाट देश सम्बृदीको दिशामा पुग्दैन यसका लागी जनताको चेतनाको विकास गर्दै सुसंस्कृत राजनीतिको टेकोमा देशलाई आफ्नै जीवनकालमा संवृद्ध बनाउने अठोट लिन सक्नु पर्दछ ।
सुसंस्कृत राजनीतिको स्थापनाका लागी रवि लामिछानेको सिधा कुरा जनतासङले सहयोगी भूमिका खेलेको पाइन्छ । यस कार्यक्रम मार्फत गैर कानुनी काम गर्नेहरूको होस् उडेको छ, सयौँ सरकारी कार्यालयमा हुने भष्ट्रचारको पर्दाफास भएको छ, सयौँ सोझा साझा नेपालीले आफ्नो समस्या र पिर मर्का समाधान गर्ने विश्वासिलो माध्यमका रूपमा यस कार्यक्रमलाई पाएका छन् । जनताको मन जित्ने र जनतालाई सचेतना प्रदान गर्ने जस्तो महत्त्वपूर्ण कामका लागी रवि लामिछानेको ' एग्रेशिभ पत्रकारिता ' लाई प्रशंसनिय मान्न सकिन्छ । साँच्चै नै संवृद्ध नेपाल छिट्टै हेर्ने हो भने राम्रो काम गर्ने लाई सहयोग गर्दै देशमा मौलाएको बेथितिका विरुद्ध जनता नै अगाडी बढ्नु पर्दछ र देशमा सुशासन कायम राख्न सहयोगी भूमिका निर्वाह गर्नु पर्दछ ।