जी २० मा हुने ट्रंप -पुटिन वार्ता स्थगित:
अर्जेन्टिनाको राजधानी बुइनोस ऐरेसमा हुन लागेको जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन बिच हुने भनिएको वार्ता नहुने भएको छ ।
नोभेम्बर २९ मा ट्विट गर्दै ट्रंपले उक्त जानकारी दिएका हुन् । युक्रेनका जहाज र सेनाहरूलाई एजोभ सागरमा रसियाले कब्जा गरेपछि विवाद बढेको थियो ।
रसियासङ कडा रूपमा प्रस्तुत हुन नसकेको आरोप लागेका ट्रंपले दुवै पक्षलाई ठिक हुने भन्दै यो मिटिङ स्थगित गरेका हुन् । हेलसिन्कीमा भएको मिटिङमा कमजोर रूपमा प्रस्तुत भएको आरोप लागेका ट्रंपले पुटिनसङ कडा रूपमा प्रस्तुत भएर समस्या समाधान गर्नु पर्नेमा मिटिङ नै स्थगित गर्नु उचित नभएको तर्क कतिपयको छ भने कतिपयले वार्ता गरेर केही फाइदा नभएको तर्क गर्दै ट्रंपको निर्णयको बचाउ गरेका छन् ।
ट्विटर मार्फत मिटिङ स्थगित भए पछि क्रेमलिनले यसलाई कच्चा कूटनीतिको संज्ञा दिँदै त्यसो भएमा ट्रंपलाइ दिइएको उक्त दुई घण्टामा अरू महत्त्वपूर्ण कुरा गर्ने समय मिल्ने भन्दै ट्रंपसंगको मिटिङको त्यति महत्त्व नरहेको जनाऊ दिएका छन् ।
बुइनस आएर्समा यति बेला विभिन्न देशका नेताहरू बिच द्विपक्षीय, बहुपक्षीय तथा क्षत्रिय विषयमा कुराकानी भइरहेका छन् । संसारको शक्तिशाली राष्ट्रको रूपमा अमेरिकाको विचार र धारणा निकै महत्त्वपूर्ण मानिन्छ । तर वर्तमान अमेरिकी प्रशासन क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने सम्झौताहरूबाट भाग्ने गरेको सन्दर्भमा जी२० मा हुने घोषणापत्र जारी हुने कुरामा आशङ्का व्यक्त गर्न थालिएको छ ।
"द इन्साइट ल्यान्ड" को मंगलग्रहमा सकुशल अवतरण:
लामो समय देखि मङ्गल ग्रहको बारेमा मानव कौतुहलता रहँदै आएको छ । १९ औँ शताब्दीको सुरुवात देखि खगोलशास्त्रीहरू मङ्गल ग्रह लाइ नजिक बाट हेर्न खोजिरहेका थिए । त्यो लामो प्रक्रियाको एक चरणको अन्त्य हालै भएको छ । नोभेम्बर २६ गते "द इन्साइट ल्यान्ड" मंगलग्रहको सतहमा अवतरण भएको छ ।
६ महिना लगाएर ३०० मिलियन माइल दुरी तय गरे पछि नोभेम्बर २६ मा "द इन्साइट ल्यान्ड" ले मंगलग्रहमा पुगेको जानकारी पृथ्वीमा पठाएको छ । अब यसले लगातार त्यहाँका हालसम्म पत्ता लाग्न नसकेका कुराहरू पृथ्वी सम्म पठाउने छ ।
यो अन्तरिक्ष यान अमेरिकी सरकारको स्वामित्वमा रहेको नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन अर्थात् नासा, (NASA ) ले लामो समय लगाएर तयार गरेको हो । यसको मुख्य गुरुयोजना करिब १० वर्ष अघि सुरु गरिए पनि यसबारेको सोच भने दुई दशक भन्दा अघिको हो । यो यानको निर्माण र प्रक्षेपणमा नासाले ८१४ मिलियन खर्च गरेको छ भने यसमा रहेका दुईवटा मुख्य भाग निर्माण गर्न जर्मनी र फ्रान्सले समेत १८० मिलियन डलर खर्च गरेका छन् ।
यानले अवतरण गरेको जानकारीको प्रतीक्षा गरिरहेका क्यालिफोर्नियास्थित अन्तरिक्ष यानहरूको निरीक्षण केन्द्रमा यानले सिग्नल पठाउनासाथ तालीको गड्गडाहट सहित हर्ष मनाइएको थियो ।
यो यान प्रक्षेपणको मुख्य उद्देश्य मंगलग्रहको १६ फिट भित्र पुगेर भूगर्भको तथ्य पत्ता लगाउनु हो । दुई वर्ष सम्म चल्ने यो परियोजनाको अवधिमा यानले भूकम्प लगायत मंगलग्रहको भित्री भागमा हुने गतिविधिहरूको जानकारी पृथ्वीमा सम्प्रेषण गर्नेछ ।
नोभेम्बर २६ मा अवतरण भए पनि द इन्साइट ल्याण्डरले आफ्नो काम सुरु गरिहाल्ने छैन । ५ देखि ६ हप्ता सम्म वैज्ञानिक तथा प्राविधिकहरूले यानको स्वास्थ्य परीक्षण गर्नेछन् । यानमा रहेको रोबोटिक हातको पनि परीक्षण हुनेछ । सबै ठिक अवस्थामा रहेको प्रमाणित भए पछि रोबोटिक हातको सहायताले यान मै रहेको "सेइस्मो मिटर डोम" भनिने यन्त्र लाइ उठाएर जमिनमा राख्नेछ । त्यसपछि उक्त यन्त्रले तापद्वारा खाल्डो खन्नेछ र करिब ४० दिनको अवधिमा १६ फिट भित्र पुग्नेछ । त्यही बाट नै सो यन्त्रले सम्पूर्ण सूचनाहरू पृथ्वीमा पठाउने छ जसको सहायताले खगोलशास्त्रीहरूले मंगलग्रहको बारेमा थप जानकारी लिन सफल हुनेछन् ।
माइकल कोहेनको दोस्रो "गल्ती स्वीकृति सहमति":
माइकल कोहेन अमेरिकी मिडियामा फेरी छाएका छन् । करिब ७० घण्टा स्पेसल काउन्सलर वव मुलरसंग कुरा गरेका कोहेनले राष्ट्रपति ट्रंपलाइ अप्ठेरोमा पार्न सक्ने अवस्था देखिएको छ ।
करिब वर्ष १२ ट्रंपको व्यक्तिगत वकिल रहेका कोहेनलाइ फिक्सर अर्थात् "गलत कामलाई ठिक पार्ने" वकिलको रूपमा चित्रित गरिएको छ । उनले गतबर्ष मात्र एक पत्रिका सँग कुरा गर्दै आफूले ट्रंपको लागि गोली थाप्न तयार रहेको जनाएका थिए ।
नोभेम्बर २९ मा उनै माइकल कोहेनले स्पेसल काउन्सलर वव मुलरसंग आफ्नो गल्ती स्वीकार गर्दै काउन्सलरसंग सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले ट्रंप अर्गनाइजेसनले विगत लामो समय देखि रसियाको मस्कोमा ट्रंप टावर निर्माण गर्ने कसरत गर्दै आएको उल्लेख गर्दै उक्त कसरत ट्रंपले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिमा लड्न टिकेट पाएको पछि सम्म अर्थात् जुन २०१६ सम्म जारी राखेको कोहेनले जानकारी दिएका छन् ।
लामो समय देखि ट्रंपको वरिपरि रहेर ट्रंपका सबै आर्थिक "गन्धा धन्दा" को मतियार बन्दै आएका कोहेनको अफिसमा गत अप्रिलमा एफबीआइले छापा मारे पछि ट्रंपसंगको बन्धन विस्तारै चुडिदै गएको थियो । बिगतमा कोहेनको मुक्तकण्ठले प्रसंसा गरे पनि फेडेरल अधिकारीहरुसंग कोहेनले सहयोग गर्ने पत्रमा हस्ताक्षर गरे पछि ट्रंप उनीमाथि खनिदै आएका छन् ।
ट्रंपले कोहेनलाइ " कमजोर र झुठो बोल्ने" भनेर धज्जी उडाएका छन् । तर स्पेसल काउस्लरले कोहेन बिस्वस्नीय भएको भन्दै उनलाई "साक्षी" को रूपमा स्वीकार गरेका छन् । अमेरिकी कांगेससंग झुठो बोलेको स्वीकार गर्दै माइकल कोहेनले फेडेरल अधिकारीहरुसंग लामो कुराकानी गरिसकेका छन् ।
अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एच डब्लु बुसको शुक्रवार राती मृत्यु:
अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एच डब्लु बुसको शुक्रवार राती मृत्यु भएको छ।
बुस परिवारका प्रवक्ता जिम मेक्ग्राथका अनुसार शुक्रवार बेलुका १० बजे ९४ वर्षको उमेरमा पूर्व राष्ट्रपतिले प्राण त्यागेका हुन्। ८ महिना अघि राष्ट्रपति बुसकी श्रीमती बारबरा बुसको मृत्यु भएको थियो।
('अमेरिकामा यो साता’ विभिन्न सञ्चार सामग्रीहरुको सहयोगमा संयोजन गरिएको हो )