नेपाल-अमेरिका फिल्म सोसाइटीको मुख्य आयोजना तथा नेपाली संघसंस्थाको सहआयोजनामा हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अमेरिका फिल्म महोत्सवको घोषणासँगै फिल्मका लागि आवेदन खुल्ला गरिएको जानकारी दिइएको छ।
वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने फिल्म महोत्सवको यो तेस्रो संस्करण हो। यसमा संसारभरका जुनसुकै विधाका फिल्मले भाग लिन सक्नेछन्।
महोत्सवको प्रतिष्पर्धा खण्डमा विजयी फिल्मलाई पुरस्कारसमेत व्यवस्था गरिएको आयोजक संस्थाका प्रमुख पूर्णसिंह बराइलीले जानकारी दिए।
महोत्सवमा फिल्म प्रदर्शनपछि निर्माता/निर्देशक र दर्शकबीच अन्तरक्र्रियासमेत हुने उनले जनाए। विषयगत छलफल तथा कार्यशालासमेत आयोजना गरिने उनले बताए।
फिल्म आवेदनका लागि अनलाइन तथा हुलाकमार्फत् पठाउन सकिनेछ। नेपालका फिल्मकर्मीको हकमा भने नेपालमै मानवअधिकार फिल्म केन्द्रको कार्यलयमा फिल्म बुझाउन सकिने बताइएको छ।