अक्षरको नीलो मसी चुहिएर खस्ला जस्तो लागेको थियो। तर मेरो औँठीको पत्थरको पहेँलो ‘रिफ्लेक्सन्’ मा १७९४ को ‘ओबन ह्विस्की’ को स्टिकर देखिएपछि मैले अक्षरका तस्बिरहरु बिर्सिएँ। ‘सीस्को’ को एउटा ट्रक दायाँतिरबाट गह्रुंगो चालले मेरो आँखाबाट ओझेल भएलगत्तै म फेरी सिसामा आफ्नो प्रतिबिम्ब खोज्न थालेँ। ‘फायर इन्जिन’ को भद्धा आवाजले मेरो ध्यानलाई ठ्याक्कै ३१ चिरा बनाइदियो। सामुन्ने तीन फिट आठ इञ्च होचो पर्खालको बीचमा चुरोट च्यापेका मेरा औँलाहरुले एउटा ‘एब्स्ट्रयाक्ट’ इमेज टत्तःयाइदिए। इट्टाको रातो धुलोले एउटा कविता लेख्ने रहर ठिक त्यति नै बेला पलायो।
...
‘फर्चुन कुकी’ भित्र भेटिने अंक र भाग्यको ‘कोल्याबोरेसन’ ले कहिलेकाहिँ सोचमग्न बनाइदिन्छ। म चाहिँ धमिलिँदै÷चम्किँदै अल्मल्याइरहेको आफ्नै उमेरको अंक गणित सम्झेर खुइय गर्छु। यसपाली नीलो र सेतो धर्कोको जोडले साउती मात्रै मार्यो र त्यतिमै त्यसका अनेक बिम्बहरु बने। केही बिम्बहरु मलाई पनि अर्थपूर्ण लागे। १० नम्बरको एउटा मिडियम साइजको जर्सीले आँशु र पसिना मात्रै पुछेन, त्यहि धमिलिँदै÷चम्किँदै अल्मल्याउने श्रृंखलाको अकाट्य सत्य पनि पुछ्न खोज्यो। मलाई १३ वर्षको त्यहि ठिटोको छायाँले चिहायो जुन ठिटो हरेक साँझ बूढी औँलाको नङ् उप्किएपछि रगत र हिलो मिसिएका गोडाहरु पखाल्थ्यो र घिरौँलाको जालोले पैताला घोट्थ्यो। चश्माको भाँचिएको डन्ठीमा “ह्याण्डीप्लास्ट”का पत्र पत्रले बेरेर मजबुत बनाएपछि कति दिनसम्म फेरी देब्रेतिरबाट दौडिएर गोलको लागि पास निकालिदिन्थ्यो। नजाने कसरी र किन, मैले यसपाली पहिलाभन्दा धेरै शान्त भएर हेरेँ सबथोक र अनायास १३ वर्षको आफ्नो छायाँ देखेर मुस्कुराएँ।
आइतबारको फाइनलपछि ‘लुका मोड्रिच’ को अनुहारले मलाई निकैबेर पछ्याएको थियो। उनको अनुहारमा मलाई ‘विलेम डेफो’ को झल्को आएपछि सम्झिएको थिएँ ‘४ः४४’ र ‘एन्टिक्राइस्ट’ जस्ता ‘आइसोलेटेड्’ फिल्महरु। ‘किज्लोब्स्की’ का आँखामा पुगेर टाँसिने ‘आइसोलेसन्’ का रंगहरुभन्दा अलि फरक थियो ‘मोड्रिच’ र ‘डेफो’ को संयुक्त तस्बिर।
...
आफ्ना भोगाई, अनुभव र अध्ययनको त्रिवेणिभित्रै बसेर पनि आफ्नो “पोइन्ट अफ भ्यू” नबनाउने म। तिनमा बरु के के दृश्यहरु खोजिबस्ने। कुनै एउटा पक्का धारणा नबनाएपछि त आफू कस्तो जगमा उभिएको छु भन्ने प्रश्न चिन्ह फेरी आफैँमाथि आइरहेको पनि देख्ने, कहिले चाहिँ कत्ति पनि नदेख्ने। स्पष्ट नहुनुलाई आफ्नो ठूलो शक्ति मानेर गमक्क परेजस्तो पनि गर्ने कहिलेकाहिँ। त्यसमा मेरो आफ्नै ‘डिफेन्स’ छ तर बेलाबेला मसम्म धेरै कुरा ठोक्किएर म हल्लिनु पर्छ।
समुनाजीसँग केही अन्तरालमा यस्तै विषयमा कुरा हुँदा कोहि बेला दिन बितिजान्छ, कोहिबेला रात छ्याङ्ङै हुन खोज्छ। प्राय आफ्नै ‘सफ्ट’ अन्दाजमा हामी “मेडो बास् बास्” भन्दै अनेक लर्बरे बोली निकालेर एक अर्कासित प्रेमिल भईबस्छौँ। ती सबका बीच जिन्दगीका गहिरा र खँदिला बिचार अनि तिनका निर्देशहरु हराईजालान् भन्ने संशयलाई उनले मिहिन् ढंगले हेरिराखेकै हुन्छिन्। मलाई त्यहि कुराले ठूलो भर दिइरहेको हुन्छ। “संसार जित्दिन्छु म” भनेजस्तो लाग्छ अनि संकल्पजस्तो केहीले मलाई अलिबेरसम्म अँठ्याउँछ। भित्रभित्रै यस्तरी आफ्नै बोली गुञ्जिएजस्तो लाग्छ “मर्दाखेरी एउटा सामान्य मान्छे मर्यो भन्ने हुनु हुँदैन। सामान्यको फेरोमै अल्झियो भने अति सामान्य र अति अति सामान्य हुने छाँट आइदिन सक्छ। तर सामान्यको घेराबाट निस्किएपछि अघिल्तिर फराकिलो आकाश छ, सम्भावनाहरु अथाहा छन्।”
कहिलेकाहिँ केही कुराहरुमा त्यसै गुनासोजस्तै केही भइदिन्छ। जहाँ मुख्र्याईँ हुन्छ, त्यहाँ तर्कहरुको बास धरापमा पर्छ। ट्रेनमा बेला बेला त्यस्तै देख्छु। “ट्रान्सपोर्ट अथोरिटी”का सुरक्षाकर्मीहरु कोहिबेला अलि बढि उग्र भइदिन्छन् र रक्सीले रम् रम् भएकाहरुसँग उनीहरुकै स्तरमा झरेर भिडिदिन्छन्। तटस्थ हुनुपर्ने कला त तीसँग झन् बढि हुन्छ जस्तो लाग्थ्यो मलाई। तर त्यस्तो नहुँदो रैछ। बेला बेला क्यानडियन पुलिससँग अमेरिकी पुलिसहरुको तुलना हुँदाखेरी सामाजिक मनोविज्ञानका भाष्य र बुझाईहरु सतहमा आइराखेको देख्छु। कतिपल्ट त आफैँपनि ‘डबल स्ट्याण्डर्ड’ देखिएकै हुन्छु। केही देखेका कुरा हुन्छन्, केही देख्न नचाहेका कुरा हुन्छन्। फेरी सबैजना डिसेम्बर २६, २०१५ मा ‘हङ्कङ्’ बाट ‘लस् एन्जेलस्’ को लागि उँडेको ‘क्याथे प्यासिफिक’ को पाइलटजस्ता हुँदैनन्। ‘प्यासिफिक’ को माथि उँड्दै गर्दाको कुनै प्रहर पाइलटले ‘एनाउन्स’ गरेको थियो, “‘माउन्ट फुजि’ को सुन्दर टुप्पो हेर्ने भए देब्रेपट्टीको झ्यालतिर जानू।”
फेरि समुना जीले पठाएको फोटोको ‘टेक्स्ट’ सम्झिन्छु, “खासमा हामीसँग ठोक्किउन् भनेर योजना मिलाएरै संसारभरी वाहियात मान्छेहरु छोडिएको हुन्छ।” फुटबलको रम्–रम् त सधैँ उत्तिकै हो मलाई। संसारभरी छोडिएको भनिएका ती सबै विपक्षी पोस्टका डिफेन्डरहरु हुन् जस्तो लागिदिन्छ, झ्वास्स। ठोक्किन्छौँ, तिनले नै लडाउँछन्, तर जुरुक्क उठेर अघि बढेर अथवा तिनलाई छलाएर हामीले त गोल हान्ने नै हो। फेरी यो दिक्कलाग्दो कल्याङ्मल्याङ्मा कता–कता दिव्यज्ञान पाएजस्तो हुन्छ। ती छन् र त हाम्रो अर्थ र मूल्य छ। ती छन् र त हामीले जिन्दगीका दाउपेचहरुबाट आफू सग्लो निस्किने प्रयास अलि बढि गर्छौँ। र प्रयास गरेपछि त फेरी हुन्छ नै। हामीभित्रै पनि त त्यस्ता मान्छेका ‘रेप्लिका’ हरु होलान्, नत्रभने किन हामी आफ्ना संवेदनाहरुको ‘मुभमेन्ट’ ले खल्बलिएर लडिरहेको? मेरा सोचका ‘इन्भिजिबल थ्रेड’हरु फेरि यसरी अरुतिरै छिरल्लिन खोज्छन्।
...
यो शहरको रफ्तार मन पर्छ। यहाँ हरेक मौसममा दौडिनेहरु देख्छु। तीमध्ये सबै ‘बस्टन म्याराथन’ मा दौडिँदैनन् भन्ने पनि थाहा छ। ‘मुराकामी’ ले ‘मेमोयर’ मा लेखेको सम्झिन्छु, “दौडिनलाई आफू मात्रै भए पुग्छ।” त्यस अर्थमा, यो शहर एक्लाहरुको साक्षी हो जस्तो पनि लागिदिन्छ। ‘मुराकामी’ आफैँ यो शहरको घाम–पानी–हिउँ नभनी दौडिएकै हुन् कति वर्ष। दौडिनु र कथा लेख्नुमा उत्तिकै ‘इन्टेन्सिटी’ हुन्छ भन्ने यी ‘सरर्रियल’ लेखकको ‘किनो’ शीर्षकको कथाको ‘भाइब्रेसन’ मैले निकै बेरसम्म अनुभव गरेको हो। ‘नवाङ् खेचोग’ को बाँसुरी ‘नगरकोटी’ को कुनै लेखोटमा बजेको देखेथेँ, तर अन्दाजै गरेको थिइनँ त्यो बाँसुरीको धुन ‘मुराकामी’ को ‘टेक्स्ट’ सँग त्यति ‘सिन्क्रोनाइज’ हुन्छ भनेर! मलाई त ‘समर’ सकिएर ‘फल’ शुरु भएपछि हरेक बिहान झुल्के घामसँगै हिँड्दा÷दौडिँदा त्यहि बाँसुरीको लत लाग्छ भनेर पनि थाहा थिएन।
झोलामा ‘निर्मल बर्मा’ को ‘एक चिथडा सुख’ र हातमा ‘शंकर लामिछाने’ को ‘गौँथलीको गुँड’ बोकेर भौतारिन मन पर्छ कहिलेकाहिँ। “यहाँ पनि उसैगरी हिँड्दै छौ दाइ!” सम्झनामा झुलुक्क आएर प्रज्जवलले यति भनिदिन्छ। हामीले केही माघ १० हरु ‘शंकर लामिछाने’ लाई सम्झिएर बिताएका थियौँ। उनलाई सम्झनुको ‘फ्यासिनेसन’ अझै पनि उत्तिकै गाढा छ हामीलाई। अक्षरहरुमा ‘सेन्स अफ बिलङ्गिङ्’ दाबी गर्ने उनको आफ्नै ‘करेक्सन इन्स्टिंक्ट’ गहिरो गरी उनका लेखाईहरुमा पोखिएका हुन्छन्। उनी यो शहरमा थिए भने दौडिन्थे कि दौडिन्थेनन्, थाहा छैन।
...
केही कथाहरु हल्ला सेलाएपछि पढ्छु। केही गुन्गुन्हरु छोपिन्छन्, केही दृश्यहरु केरिन्छन्, केही मौनताहरु क्रमशः बढ्दै जान्छन् अनि मलाई कथाको मिठ्ठो खालको ‘आइसोलेसन्’ ले च्याप्प समाउँछ। जस्तै यो एउटा अधुरो कथा, वि.सं. २०२२ को डायरीको पेज ९७ बाट ः
... त्यहाँ पुगेँ तर तिमीलाई नदेखेर उदास भएँ। ‘सम’ जी ‘चिसो चुल्हो’ को अभ्यासका लागि मलाई खोज्दै थिए, मेरो आफ्नो खोजचाहिँ लगभग दिशाहीन् हुँदै गइरहेको थियो सायद।
यो शहरको उदासीमा गल्लीको साँघुरो छिद्रबाट झरिलो आकाश धेरैपल्ट चिहाएँ। फूल फूल्ने मौसममा त तिमी पनि फूलजस्तै हाँस्थ्यौ। दाइले लुकाइराखेको तेलको बट्टा सिनित्त पारेर तिम्रो घरमुनीको बाटो १, २, ३, ४ ... नजाने कतिचोटी हिँडेको हो। फागु पूर्नेमा आफूलाई मन पर्ने मान्छेलाई अत्तरले भिजाइदिने कालको कथा सुनेर हुर्किएको मेरो कोमल मनमा कतिफेरा मायालु बतासले छोएर गयो। आँखा आँखा बोल्न नयनको भाषा आविस्कार गर्नुपर्छ तर यो शहरले त्यसो गर्न जानेन।
कहिले त, खाली तिमी हुनुको आशिषले मलाई तै तै टिकाए झैँ लाग्छ। तर यो प्रेम बर्जित शहरमा कसोरी म प्रेमको परिभाषा कोरुँ!
प्रेमको एउटा कथा यसै हराइजाला उसोभए।
`सम’ जी ... खै! तिनीसँग जीवन खोजिबस्नुभन्दा बरु ‘प्रेमध्वज’ ले जस्तै “गोरेटो त्यो गाउँको” गाउँदै यो शहर डुलिहिँड्नु प्रिय होला मानेको छु।
सम्वत् ... (!! ) ... यो कथाको कुनै मिति नकोरौँ।