राष्ट्रपति ट्रम्प विरुद्धको घेरा साँघुरो पार्दै स्पेसल काउन्सिल बब मुलर:
२०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको 'धाँधली' को अनुसन्धानको जिम्मेवारी पाएका स्पेसल काउन्सिल बब मुलरले ट्रम्पलाई केन्द्रमा राख्दै आफ्नो अनुसन्धान साँघुरो पारेका छन्। यसै क्रममा कुनै समय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको प्रमुख बनेर काम गरेका पल म्यानाफ़र्ट यति बेला अमेरिकाको फेडेरल हिरासतमा राखिएको छ।
उनमाथि कर नतिरेको र कालो धन सेतो बनाउने काम गरेको आरोप छ। डोनाल्ड ट्रम्पको रसियासँगको सम्बन्धमा पनि उनी मध्यस्थकर्ता भएको शङ्का छ। उनले केही महिनाअघि स्पेसल काउन्सिल बब मुलरसंग सहयोगको सम्झौता गरेका थिए। तर उनले त्यसपछि पनि झुटो बोल्न छोडेनन्। उनले उक्त सम्झौता पछि पनि ट्रम्प प्रशासनका महत्त्वपूर्ण व्यक्तिहरूसँग नियमित सम्पर्कमा थिए।
डिसेम्बर ७ शुक्रवार बब मुलरले दर्ता गरेको १० पेज लामो मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छ। त्यसमा पल म्यानाफार्टले सरकारी वकिलहरूसङ धेरै पटक झुटो बोलेको आरोप लगाउँदै उनलाई जेल सजायको लागि न्यायाधिशसंग माग गरिएको छ। पल म्यानाफोर्टको मेमो सार्वजनिक भए पछि व्हाइट हाउसले भने ट्रम्पलाइ यो मुद्दाले झन् सफाइ दिएको अर्थ लगाएको छ।
डिसेम्बर ७ शुक्रवार नै स्पेसल काउन्सिल बब मुलरले डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिल माइकल कोहेनको मेमो पनि सार्वजनिक गरेको छ। मेमोमा कोहेन फेडेरल अधिकारीहरूसँग निकै सहयोगी रहेको जनाउँदै उनले उपलब्ध गराएका सूचनाहरू निकै महत्त्वपूर्ण भएको स्पष्ट पारेको छ। सार्वजनिक मेमोमा कमसेकम २ वटा आपराधिक क्रियाकलापमा उनी संलग्न भएको जनाइएको छ जुन काम उनले राष्ट्रपति ट्रम्पको प्रत्यक्ष आदेश र सहमतिमा गरेको जनाएका छन्।
उनको पहिलो अपराध चुनावी आर्थिक नियम उल्लङ्घनसँग सम्बन्धित छ। एडल्ट फिल्म स्टार स्टोर्मी ड्यानियल्ससंगको ट्रम्पको सम्बन्ध लुकाउन उनलाई एक लाख तीस हजार डलर दिएर चुप लाग्न लगाइएको घटना ट्रम्प कै निर्देशनमा गरेको उनले बब मुलरसंग स्पष्ट पारेका छन्। त्यस्तै मस्कोमा ट्रम्प टावर निर्माण गर्न गरिएको प्रयत्न उनी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भइसके पछि पनि जारी रहेको र उक्त काम पनि ट्रम्पको स्वीकृतिमा भएको जनाएका छन् जसमा कोहेनलाइ जिम्मेवार ठानिएको छ।
त्यस्तै डिसेम्बर २०१५ मा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनसङ ट्रम्पसंग मिटिङ गराउने काममा सक्रिय भएको र उक्त काम ट्रम्प कै चाहनामा भएको स्पष्ट गरेका छन्।
हालैका दिनहरूमा ट्रम्पले बब मुलरसंग निकै आक्रामक देखिएका छन्। मुलरले राष्ट्रपतिको निकै नजिकका मानिसहरूलाई मुद्दा लगाउन थाले पछि उनी झन् अत्तालिएका छन्। उनको ट्विटरमा देखिएको व्यवहारले उनी मुलरले ल्याउन सक्ने समस्याबाट आत्तिएको महसुस गरिँदै छ।
जर्ज एच डब्लु बुसको अन्तिम बिदाइ:
पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको अन्तिम बिदाइ टेक्ससको कलेज स्टेसनबाट गरिएको छ। सन् १९२४ जुन १२ मा जन्मेका जर्ज एच डब्लु बुस अमेरिकाका ४१औं राष्ट्रपति हुन्। नोभेम्बर ३०, २०१८ मा ९४ वर्षको उमेरमा उनको निधन भयो। सन् १९८९ देखि १९९३ सम्म उनले अमेरिकाको राष्ट्रपतिको रूपमा काम गरे। त्यसअघि सन् १९८१ देखि १९८९ सम्म ४३औं उपराष्ट्रपतिको रूपमा काम गरे। उनको जन्म म्यासाच्युसेट्समा भएको थियो भने १९४८ मा बुस परिवार पश्चिम टेक्ससमा बसाइ सराइ गरेको थियो।
१९४१ मा जापानी सेनाले पर्ल हार्बरमा आक्रमण गरे पछि १८ वर्षको कलिलो उमेरमा उनी अमेरिकी नेभीमा भर्ती भए। सम्पन्न बुस परिवारमा जन्मेर पनि उनले सजिलो बाटो नरोजी आफ्नो देशको रक्षाको लागि सेनामा भर्ती हुने निर्णय लिए।
उनले १९४५ सम्म सेनामा कार्यरत रहे, त्यसपछि एल विश्व विद्यालयबाट आफ्नो पढाइ पुरा गरे। टेक्सस सरेपछि उनी पेट्रोलियम पदार्थको व्यापारमा लागे। ४० वर्षको हुँदा नहुँदै उनी मिलिनियर भैसकेका थिए।
राजनीतिक जीवनमा उनले पटक पटक पराजयको सामना गरे। तर पनि उनले त्यसलाई कहिल्यै पनि व्यक्तिगत रूपमा लिएनन्। प्रतिनिधिसभा, सिनेट र दोस्रो कार्यकालको लागि भएको निर्वाचनमा पनि उनी पराजित भए। डेमोक्र्याटिक पार्टीका उम्मेदवार बिल क्लिन्टनसंग १९९२ को चुनावमा पराजित भए पनि उनको क्लिन्टन र उनको परिवारसँग सुमधुर सम्बन्ध रह्यो।
९४ वर्ष एक सय एकहत्तर दिन बाँचेर उनी अहिले सम्मका सबभन्दा बढी समय बाँच्ने अमेरिकी राष्ट्रपति समेत बने। सन् २००० मा उनका छोरा जर्ज डव्लु बुस राष्ट्रपति बने।
चीन-अमेरिका बिच ९० दिने व्यापार युद्धविराम:
जी-२० सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ्ग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ९० दिने व्यापार युद्ध विराम भएको छ। अमेरिका र चीनले एक अर्का देश बिच लगाउने तयारी गरेका व्यापार कर (ट्यारिफ) नलगाउने र सो ९० दिने अबधिमा कुराकानीद्वारा समस्या समाधान गरेर सम्भावित व्यापार युद्ध टार्ने उद्देश्यले यो सहमति भएको छ। आफूले गरेको जुनसुकै कामलाई अत्यन्त बढाई चढाइ गरेर राम्रो भन्ने ट्रम्पले यसलाई पनि अहिलेसम्मकै ठुलो उपलब्धि भनेका छन्।
अमेरिका र चीनबिचमा ठुलो व्यापारिक घाटा छ। त्यसलाई कम गर्न धेरै राष्ट्रपतिहरूले प्रयत्न गरे पनि सफल हुन सकेका थिएनन्। तर ट्रम्पले व्यापार युद्धको सम्भावनालाई नकार्दै चीनका उत्पादनहरूमा करोडौँ डलर बराबरको कर लगाउने घोषणा गरिसकेका छन्। त्यसको बदलामा चीनले पनि अमेरिकी समान विरुद्ध कर लगाउने घोषणा गरिसकेको छ। फलस्वरूप अमेरिकाको शेयर बजारमा गिरावट आइरहेको छ। ट्रम्पका मध्यमार्गी सल्लाहकारहरूले व्यापार युद्धमा नजान सुझाव दिँदै आएका छन्।
चीनका राष्ट्रपतिसँग ३ महिने व्यापारिक युद्ध बिराम लागे पनि चीनसङ सम्झौता भएर व्यापार युद्ध टर्ने सम्भावना भने कमै देखिएको छ। लामो समय चीनसङ नयाँ व्यापार सम्झौता गर्न प्रयास गरिरहेका ट्रेजरी सेक्रेटरी स्टेभेन म्युचिनको सट्टामा अनुदार मानिने रोबर्ट लाइटथाइजरको नियुक्तिले उक्त आशङ्का उब्जाएको हो। चीनलाई सही ठाउँमा ल्याउन चाइनिज सामानमा कर लगाउनु नै उपयुक्त मार्ग हो भन्ने धारणा राख्ने रोबर्टलाइ चीनसङ नयाँ व्यापार सम्झौता गर्न मुख्य प्रतिनिधि तोक्नुले चीनसङको समस्या सजिलै समाधान हुन नसक्ने देखिन्छ।
चीनसङको व्यापार युद्धको त्राससंगै अमेरिकाको शेयर बजारमा चिन्ता छाएको छ। अमेरिकी लगानीकर्ताहरु चीनसङ भएको भनिएको सम्झौता वास्तवमा हुँदै नभएको अवस्थामा झन् अन्योलमा परेका छन् र भोलि के हुने हो भन्ने अनिश्चितताले गर्दा बजारको गतिविधिमा असर परेको छ। फलस्वरूप यो हप्ता डिसेम्बर ४ मा DOW ८०० पोइन्ट तल झरेको थियो।
चिफ अफ स्टाफ जोन केली बाहिरिँदै
डोनाल्ड ट्रम्पको मन्त्रीमंडलबाट बाहिरिने व्यक्तिहरूको सूचीमा फेरी जोन केलि थपिएका छन्। जुलाई ३१, २०१७ मा पद बहाली गरेका जोन केलि त्यस अघि डिपर्ट्मेण्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी थिए। लामो समय अमेरिकी सेनामा काम गरेर सेवा निवृत्त भएका केलि रायन प्रिबसको सट्टामा व्हाइट हाउस छिरेका थिए।
जोन केलि व्हाइट हाउस आउँदा त्यहाँ भित्रको पश्चिमी हाँगो अर्थात् "वेस्ट विङ्ग" भद्रगोल थियो। सूचना चुहिने समस्या निकै ठुलो थियो। त्यस्तो अवस्थामा एक पाको मान्छे वेस्ट विङ्गमा जरुरत थियो। जोन केलिले धेरै हदसम्म व्हाइट हाउसको भद्रगोल लाइ साइजमा ल्याउन सफल भए।
स्टाफको समस्या त उनले हल गरे तर समस्या सबभन्दा माथिको मान्छेमा थियो। राष्ट्रपति ट्रम्प आफै कुनै विधि, विधान, प्रणालीको क्षेत्र भित्र रहेर व्यवहार गर्दैनन्। अन्त्यमा राष्ट्रपतिसँगकै नराम्रो सम्बन्ध कै कारण केलि बिदा हुने भएका छन्। केही समय बोलचाल समेत बन्द भएको भनिएका यी दुई बिचको सम्बन्ध वास्तवमै कहिल्यै पनि सुमधुर भएन।
('अमेरिकामा यो साता’ विभिन्न सञ्चार सामग्रीहरूको सहयोगमा संयोजन गरिएको हो )