ट्रंपको राष्ट्रपति पदभार ग्रहण समारोहमा गरिएको अनुदान को अनुसन्धान गरिने:
राष्ट्रपति डोनाल्ड ट्रंपको पदभार ग्रहण समारोहका लागी विभिन्न बिदेशीदाताहरु बाट प्राप्त अनुदानका बारेमा अनुसान्धान गरिने भएको छ।
२०१७ को जनवरी २० मा डोनाल्ड ट्रंप आफ्नो पदको शपथ ग्रहण गर्दै थिए । वासिङ्टन डिसीमा ठुलो तामझाम साथ तयारी गरिँदै थियो । अमेरिकाका विभिन्न ठाउँहरूबाट मानिसहरू त्यहाँ आउँदै थिए । उक्त उद्घाटन समारोहको लागि करोडौँ डलर खर्च हुने हुनाले दाताहरू आवश्यक थियो । सोही क्रममा विदेशी दाता र संस्थाहरूबाट पैसा लिएको आरोपमा सङ्घीय सरकारका वकिलहरूले जाँचबुझ गरिरहेको न्यु योर्क टाइम्सले रिपोर्ट गरेको छ ।
अमेरिकामा हुने चुनावमा विदेशीहरूबाट पैसा लिन पाइँदैन । व्यक्तिगत रूपमा पनि चुनावमा पैसा दिन सीमा तोकिएको छ । ट्रंपको कार्यकालको उद्घाटन समारोहमा कतार, साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्सले भविष्यमा केही प्रभाव पार्न सकिन्छ कि भन्ने उद्देश्यले भित्री रूपमा पैसा दिएको भन्ने आरोपमा छानबिन भइरहेको जनाइएको छ ।
ट्रंपको उक्त उद्घाटन समारोहमा १०७ मिलियन डलर पैसा उठाइएको थियो ।
त्यसै पनि अनुसन्धानको घेरामा रहेका डोनाल्ड ट्रंपलाइ यसले अर्को समस्या उत्पन्न गरेको छ । रसियासङ मिलेमतो गरेको गरेको हुनसक्ने आशङ्कामा ट्रंप प्रशासन माथि रोबर्ट मुलरले अनुसन्धान गर्दै छन् भने चुनावी अभियानमा पैसा दिएर ट्रंपका बदमासी बाहिर आउन नदिएर चुनावी आर्थिक नियम उल्लङ्घन गरेको आरोपमा सदर्न डिस्ट्रिक्ट अफ न्यु योर्कले अनुसन्धान गरिरहेको छ ।
माइक मुल्भेनीले अस्थायी रूपमा चिफ अफ स्टाफको पद लिने:
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपका 'चिफ अफ स्टाफ जोन केलिले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरे पछि उक्त पद पूर्ति गर्न राष्ट्रपति ट्रंपलाई निकै सकस परेको छ।
उक्त पद पूर्ति गर्न तत्काल असम्भव देखे पछि ट्रंपको मन्त्रीमंडलमा बजेट निर्देशकको रूपमा कार्यरत माइक मुल्भेनीलाई अस्थायी रूपमा उक्त जिम्मेवारी दिने तयारी भएको थाह भएको छ।
डिसेम्बर १४ मा ट्रंपले उनलाई चिफ अफ स्टाफको जिम्मेवारी दिने घोषणा गरेका छन् । मुल्भेनी साउथ क्यारोलिना राज्यको पाँचौँ डिस्ट्रिक्ट बाट २०१७ सम्म कार्यरत प्रतिनिधि सभाका सदस्य हुन् । उनी दक्षिणपन्थी विचार राख्छन् । अब उनले अर्को स्थायी पदपूर्ति नहुन्जेल चिफ अफ स्टाफको पदमा समेत काम गर्नेछन् ।
माइकल कोहेन ३ वर्ष जेल जाने:
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रंपको लागि एक दशक भन्दा बढी व्यक्तिगत वकिलको काम गरेका माइकल कोहेनलाइ ३ बर्से जेल सजाय तोकिएको छ ।
कर छली, काँग्रेससँग झुटो बोलेको र चुनावी अभियानको आर्थिक नियम उल्लङ्घन गरेको आरोपमा उनलाई सदर्न डिस्ट्रिक्ट अफ न्यु योर्कको अदालतले दोषी ठहर्याएर उक्त सजाय सुनाएको हो ।
राष्ट्रपति ट्रंपको लागि गोली खान तयार रहेको जनाउने कोहेनको यो जेल प्रस्थानले ट्रंपलाइ निकै अप्ठेरोमा पारेको अनुभूति गरिएको छ । विशेष गरी उनले २०१६ को चुनावको अन्तिम दिनहरूमा एडल्ट फिल्म स्टार स्टोर्मी ड्यानियलसंगको अनैतिक सम्बन्ध लुकाउन एक लाख तीस हजार डलर स्टोर्मीलाइ दिएको र त्यो रकम डोनाल्ड ट्रंपकै आदेशमा दिएको सरकारी वकिलहरूसँग बताइसकेका छन् ।
ट्रंपलाइ राष्ट्रपतिमा जिताउन गरिएको यो प्रपञ्चमा स्वयम् राष्ट्रपति संलग्न भए पनि उनका वकिल जेल जाने तर जसको आदेश उनले पालन गरेका हुन्, त्यो व्यक्ति भने चोखो हुने अनौठो अवस्था सिर्जना भएको छ ।
कोहेनले अदालतमा दिएको वक्तव्यमा आफू ट्रंपसंग आबद्ध हुँदाको झुट, कभर अपको पिडाबाट आजाद भएको उल्लेख गरेका छन् । माइकल कोहेनले मार्च ६, २०१९ मा अदालत सामु आत्मसमर्पण गरेर आफ्नो जेल समय सुरुवात गर्ने छन् ।