युट्युबले आफ्नो नियम पालना नगरेको जनाउँदै लाखौँ भिडियोहरू आफ्नो वेबसाइटबाट हटाएको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान बुर्नोमा मुख्यालय रहेको युट्यूबले गत जुलाई र सेप्टेम्बर महिनामा गरेको आन्तरिक 'अडिट' पश्च्यात ५ करोड ८० लाख भिडियोहरूलाई कम्पनीको सीमारेखा भित्र नरही 'अपलोड' गरिएको पाइएकोले हटाएको जनाएको छ।
कम्पनीको आधिकारिक ब्लगमा जनाइएअनुसार भिडियोका साथ साथै झन्डै २३ करोड 'कमेन्ट' हरू समेत यूट्यूबबाट हटाइएको छ। यूट्यूबका प्रयोकर्तालाई विभिन्न ठगी स्किमहरूबाट जोगाउन र सुरक्षित वातावरण प्रदान गर्नका लागी उक्त कदम चालिएको ब्लगमा उल्लेख छ।
गुगलको आधिपत्य रहेको युट्युबले २०१७ देखि प्रविधि र मानव श्रोतको प्रयोग गर्दै आफ्नो अनुसाशनभन्दा बाहिर रहेका सामग्रीहरूलाई हटाउन सुरुवात गरेको थियो। झन्डै १० हजार कर्मचारीहरूले दैनिक रूपमा यूट्यूबमा अपलोड हुने सामाग्रीको निगरानी गर्ने गरेका छन्।