अमेरिकी इतिहासको खल पात्र वाटर गेट स्क्यान्डलका मास्टर माइण्ड रिचार्ड निक्सनलाई पढ्दा अनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नजिकबाट बुझ्दा यी दुई पात्रहरू फरक भए पनि प्रवृत्ति उही अनि उस्तै लाग्ने गर्दछ। नीतिगतरूपमा मात्र होइन चरित्रमा पनि यिनीहरू उस्तै उस्तै लाग्दछ।
पूर्व राष्ट्रपति निक्सन पनि निक्कै जिताहा, जिराहा, मिचाहा अनि जिद्दी स्वभावका थिए कुनै पनि कुरामा हार्नै नमान्ने अथवा नजान्ने। पहिलो राष्ट्रपतीय कार्यकालपछि उनले घरभित्र र बाहिर साह्रै धेरै शत्रु कमाएको कुरा अमेरिकी इतिहासकार र राजनीतिक विश्लेषकहरूले बारम्बार भन्ने गरेका छन्। आफ्नो पहिलो कार्यकालको दुई वर्षहरू मुश्किलले पार गरेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यही रफ्तारमा शत्रुहरू कमाएका छन्। नियतमा मात्र होइन यिनी नियतिमै पनि निक्सनको बाटो पछ्याउँदैछन्।
के हो त अमेरिकी इतिहासको कालो धब्बा भनेर जानिने वाटर गेट काण्ड?
निक्कै जिद्दी अनि जिराहा स्वभावका राष्ट्रपति निक्सनको पहिलो कार्यकाल केही हदसम्म सफल भएको कुरा अमेरिकी राजनीतिका विश्लेषकहरू बताउने गर्छन्। उनले तत्कालीन सोभियत सङ्घ, अरब राष्ट्रहरू र चीनसँगको आपसी सम्बन्धमा आंशिक सुधार गरेका थिए त्यसले उनको महत्वाकांक्षा निक्कै चुलिएको थियो।
उनी जसरी हुन्छ दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन चाहन्थे त्यही नियत र अभिष्टले उनले आफ्ना सुरक्षा संयोजकसहित अन्य पाँच जनालाई सन् १९७२ मा सम्पन्न भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा सुराकी गर्न खटाए र उनीहरूले वायर टेपिङ्ग गरेर थुप्रै कागजातहरू चोरेका थिए। त्यो घटना वासिंगटन डीसीको वाटर गेट कम्प्लेक्समा भएको थियो। ती खटाइएका सुराकीहरू उक्त होटल कक्षमा पक्राउ परेका थिए। त्यो घटनालाई ढाकछोप गर्न निक्सनले राज्य संयन्त्रको अधिकतम दुरुपयोग गरे तर वासिंगटन पोस्टका पत्रकारहरू बब उडवार्ड र कार्ल बर्न्सटिनको अनुसन्धानात्मक रिपोर्टिंङका कारण निक्सनले ढाकछोप गर्नै सकेनन्।
जुलाई महिनामा सर्वोच्च अदालतले सुराकी गरेर खिचिएका सम्पूर्ण टेप र कागजातहरू बुझाउनु भनेपछि बुझाउन उनी बाध्य भए त्यही समय माथिल्लो सदनको न्यायिक कमिटी र तल्लो सदन कंग्रेसले उनी विरुद्ध ‘इम्पिचमेन्ट’ को प्रस्ताव अघि बढाए अनि आफू बर्खास्तमा पर्ने निश्चित भएपछि अगस्ट आठ तारिखका दिन राष्ट्रको नाममा सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपति पदबाट राजीनामा दिए र तात्कालीन उपराष्ट्रपति जेराल्ड फोर्डलाई राष्ट्रपतिमा नियुक्त गरे। पछि नव-नियुक्त राष्ट्रपति फोर्डले निक्सनलाई आफ्नो संवैधानिक कार्यकारी शक्तिको प्रयोग गर्दै क्षमा दान दिए कमसेकम ऊ जेल जान परेन तर उनले खटाएका सुराकीहरूले भने तात्कालीन अमेरिकी मौजुदा कानुनको अधीनमा दण्डित भए ।
के डोनाल्ड ट्रम्पले त्यस्तै खाले संवैधानिक उन्मुक्ति पाउँलान् त?
नियत उस्तै भए पनि पूर्व राष्ट्रपति निक्सनको भन्दा फरक नियति वर्तमान राष्ट्रपतिले भोग्नुपर्ने स्थितिको आंकलन अहिले गर्न थालिएको छ। नियतबस गरिएका थुप्रै कसूरहरूमा तादम्यता भेट्न सकिन्छ यो दुबैजनाले आफ्नो कुकर्महरूको ढाकछोप गर्न ‘हस-मनी‘ प्रयोग गर्ने गरेको तथ्य फेला परिसकेको छ। ऊ बेला दोस्रो कार्यकालको निम्ति जीत हासिल गर्न निक्सनले सुराकीहरूलाई त्यस्तो धनराशी उपलब्ध गराएका थिए भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले स्त्री गमन र पोर्नस्टारहरूसँग रंगीन रातहरू बिताउन अकुत पैसा खर्च गर्ने गरेको सत्य उनका पूर्व कानुनी सल्लाहकार माइकल कोहेनले प्रमाणिकरूपमै मुलर आयोगलाई बताइसकेका छन् त्यसैबापत अनि एफ.बी. आई. झूटो विवरण दिएको, आयकरमा बेइमानी गरेको अभियोगमा कोहेनले तीन वर्षको जेल सजाय पाइसकेका छन् ।
पोर्न स्टार स्टोर्मी ड्यानियल्ससँग सन् २०१६ मा रात बिताए बापतको रकम एक सय तीस हजार अमेरिकी डलर उनका पूर्व कानुनी सल्लाहकार कोहेनले तिरिदिएका थिए र पछि ट्रम्पले निजीरूपमै उनलाई दिएको बताइएको छ।
कसूर गर्ने राष्ट्रपति चाहिँ सेतो घर (ह्वाईट हाउस) मा अनि बिचरा केटी मिलाइदिने सहयोगी चाहिँ जेलमा? यो कस्तो अमेरिकी न्याय हो भनेर पनि अहिले अमेरिकी कानुनको खिल्ली उडाउन थालिएको छ ।
अमेरिकी न्याय सम्पादन सबैलाई बराबरी हुन्छ भनेर भन्ने गरिए पनि केही मान्छेहरूले विशेष उन्मुक्ति पाउने गरेको कुरा पनि एकहदसम्म सत्य हो। राष्ट्रपति ट्रम्प अहिलेसम्म त्यो सवालमा निक्कै भाग्यशाली देखिएका छन्। वाटर गेट काण्डले स्थापित गरेको नजिर र मौजुदा अमेरिकी मूल कानुनको व्यवहारिक व्याख्या गर्दा त्यस्तो ‘इम्यूनिटी’ राष्ट्रपतिलाई प्राप्त छ र हुन्छ भनेर भन्ने आम बुझाइ रहेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको दर्जनौं प्रमाणिक फेहरिस्तहरू बाहिर आउँदासम्म पनि उनी कानुनको फन्दामा पर्न सकेका छैनन्। चुनाव जित्न उनले आफैंले नियुक्त गरेका क्याम्पेन मेनेजर पल मेनाफोर्टदेखि कानुनी सल्लाहकार माइकल कोहेन अमेरिकी कानुन र अदालतको नजरमा दोषी देखिइसकेका छन् भने उनका सुरक्षा सल्लाहकार माइकल फ्लाइन जेल अवधिको प्रतीक्षामा छन्।
चुनावताका ट्रम्पलाई जिताउन रसिया र त्यो सञ्जाल सक्रिय भएको यथार्थ पत्ता लगाउन अहोरात्र काम गरिरहेको रबर्ट म्युलरको विशेष आयोग आफ्नो विस्तृत विवरण अब छिट्टै सार्वजनिक हुने सम्भावना छ। अमेरिकीहरूको स्वाधीन सर्वोच्च संस्था ह्वाइट हाउसलाई राष्ट्रपतिले आफ्नो नाफाको लागि ट्रम्प एन्ड कम्पनी बनाएको सत्य दुनियाँका सामू छर्लङ्गै छ। राष्ट्रपतिले आफ्नी छोरी इभान्का ट्रम्प र ज्वाई जारेड कुस्नरलाई वरिष्ठ सल्लाहकारको लाभदायी पदमा नियुक्त मात्र गरेका छैनन् वेस्ट उइन्ग्सका भित्ताहरूमा आफ्नी छोरीलाई इभान्का डिजाइनर ड्रेसहरूको फोटो टाँस्दै व्यावसायिक प्रचार गर्न छुट पनि दिएका छन्। छोरी प्रेममार्फत् उनले बेथितिहरूको प्रचलन समेत आरम्भ गरेका छन्।
विदेशी पाहुना र राष्ट्राध्यक्षहरूसँगको मैत्रीपूर्ण भेटघाटहरूमा मात्र होइन अन्य राष्ट्रिय सुरक्षाका विविध छलफलहरूमा पनि उनीहरूको संलग्नता हुने गरेको सत्य तथ्यले उनको मिचाहा प्रवृत्तिको फेहरिस्त देखिने गरी सतहमा आएको छ। पछिल्लो रिपोर्टहरूका अनुसार ट्रम्प टावर मस्को निर्माण र सञ्चालन गर्दा पनि राष्ट्रपतिले आचार संहिताको उल्लङ्घन गरेको कुरा बाहिर आएको छ। ट्रम्पका पूर्व कानुनी सल्लाहकार कोहेन र सुरक्षा सल्लाहकार फ्लाइनमार्फत् म्युलर आयोगले यसका बारेमा थप प्रमाण हात पारेको कुरा अमेरिकी सूचना स्रोत र विश्वसनीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् ।
न्युयोर्क राज्यमा दर्ता भएर सञ्चालन गरिएका ट्रम्प विश्वविद्यालय र ट्रम्प फाउन्डेसनले अवैधानिक गतिविधि गरेको आशङ्कामा न्युयोर्क राज्यका अटोर्नी जनरल बर्बरा अन्डरउडले अन्तिम छानबिन गरिरहेकै अवस्थामा अघिल्लो हप्ता मात्र ट्रम्प फाउन्डेसन बन्द गर्न सहमत भएका छन् तर सञ्चालकहरू भएका र गरिएका भनिएका कर्तुतहरूको न्यायिक भागीदार भने पक्कै बन्नेछन्। परोपकारी कार्यहरू सञ्चालन गर्ने सर्तमा न्युयोर्क राज्यमा दर्ता भएर सञ्चालनमा आएको यो फाउन्डेसनले उनीहरूको निजी तथा राजनीतिक फाइदाको नियत राखेर रकम बाँडेको कुरा अटर्नी जेनेरलको प्रवक्ताले बताएका छन्।
एक वर्ष अघि न्युयोर्क राज्यका पूर्व अटर्नी जनरल एरिक स्नाईडरम्यानको पालामा ट्रम्प फाउन्डेसनले गैर कानुनी काम गरेको अभियोगमा डोनाल्ड ट्रम्पलाई गिरफ्तार गरेर छानबिन गर्न म्यानहटन फेडेरल कोर्टमा मुद्दा हालेको थियो तर त्यो मुद्दामा बहालवाला राष्ट्रपतिलाई गिरफ्तार गरेर छानबिन गर्ने यो क्षेत्रको अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उक्त मुद्दालाई रद्द गरिदिएको थियो । त्यसको अर्थ डोनाल्ड ट्रम्पले न्यायिक उन्मुक्ति पाएको भनेर बुझ्नु हुँदैन, राष्ट्रपति पदबाट निवृत्त भएको केही घण्टामै बाँकी मौजुदा कानुनहरूको अधीनमा उनी छानबिनका लागि योग्य हुनेछन्।
राष्ट्रपतिलाई जिताउन रसियाको संलग्नता रहेको भन्ने आरोपको छानबिन आफ्नै ठाउँमा छ त्यो त्यसको प्रवृत्ति र प्रकृति निक्कै अमुक अनि निरपेक्ष लाग्दछ तर प्रमाणिकरूपमा सतहमा फेहरिस्तसहित बाहिर आएका यी र यस्ता कैयन आपराधिक अभिष्ट र नियतसहितका कर्तुतहरूले डोनाल्ड ट्रम्पलाई मौजुदा अमेरिकी कानुनको सांगोले कस्ने सम्भावना बलियो हुँदै आएको छ। अत्यन्त चलायमान अनि क्रियाशील रहेको अमेरिकाको मौजुदा क्याम्पेन फिनान्स ल बलियो अनि शक्तिशाली छ त्यो कानुनले अहिलेसम्म कसैलाई पनि बाँकी राखेको छैन अनि पूर्ण उन्मुक्ति दिएको पनि छैन।
ट्रम्पले कानुनी सल्लाहकारमार्फत होस् या आफ्ना योजनाकारहरूमार्फत् नै किन नहोस् अहिलेसम्म भए गरेका थुप्रै अवैध क्रियाकलापहरूले पैसा खर्च गरेर चुनाव जित्ने अतिशयोक्तिपूर्ण राजनीतिक अभिलाषा राखेको स्पष्ट देखिन्छ। ट्रम्प फाउन्डेसनमार्फत् आफ्नो रुचीका मान्छे र सङ्गठनहरूलाई निस्फिक्री बाँडेका रकमहरू होस् अथवा आफ्ना पूर्व कानुनी सल्लाहकार माइकल कोहेनमार्फत् पोर्नस्टार स्टोर्मी ड्यानियललाई बेश्यागमन बापत भुक्तानी दिइएको एक सय तीस हजार अमेरिकी डलर नै हुन् त्यसको जरो र जडले चुनावी आचार संहिताको प्रमाणिक उल्लङ्घन गरेको प्रस्ट छ।
ढाँटेको कुरो काटेर मिल्दैन भनेको जस्तो पोर्नस्टारको आरोपलाई होइन, होइन भनेर ट्रम्पले टारिरहेको बेला उनलाई बचाउन कानुनी मसिहा बनेर आएका उनका कानुनी सल्लाहकार रुडी जुलियानीले ‘त्यो रकम चुनावी क्याम्पेन फण्डबाट होइन ट्रम्पले निजीरूपमै माइकल कोहेनलाई दिइसकेका छन् र चुनाव पहिल्यै भएको यो घटनाले ट्रम्पलाई केही असर नपार्ने बताई दिएर अर्को बिपत निम्त्याइदिएका छन्।
राष्ट्रपतिका कर्तुतहरू अहिले एकातिर टाल्यो अर्को तिर देखिने स्थितिमा पुगेका छन् । सारा दुनियाँलाई थाहा भएकै कुरा हो वर्तमान राष्ट्रपति ट्रम्प राजनैतिक व्यक्तित्व होइनन् उनी विशुद्ध व्यापारी हुन । एउटा प्रचलित आहान नै छ व्यापारीको जात, धर्म केही हुन्न उसलाई सिर्फ नाफा कमाउनुसङ मतलब छ । वित्तीय व्यवस्थापनमा निक्कै कमजोर धनी बाउका अपुताली सम्पत्तिले "रियल स्टेट मोगुल" को कलेवर र नक्कली आवरणमा बाँचेको ट्रम्पले आफ्नो ब्यबसायिककालमा तीन पटक बैन्क्रप्सी गरिसकेका छन् । तर अमेरिकी संस्थापन, दुवै पार्टी र सदनहरू नितान्त कमजोर भएको फाइदा उठाउँदै उनले राजनीति मार्फत व्यापार गर्ने कसैले नसोचेको नचिताएको अपुताली हात पारे । बनिबनाउ अमेरिकी शासकीय संयन्त्र उनको लागि व्यापारिक लाभको मार्ग भयो । ऊसँग देखाउनको लागि उकालो लागेको वर्तमान अर्थतन्त्र छ भने भाषण गर्नकै लागि रोजगारीको भारी अभिवृद्धि तर कानुनी राज्य र सामाजिक न्यायको सवालमा उनले अमेरिकी "फाउन्डीङ्ग फादर" ले परिकल्पना गरेका हरेक समुन्नत प्रणाली र पद्धतिलाई आफ्नो स्वार्थका लागि तहसनहस गएका छन् ।
गत नोभेम्बर महिनामा सम्पन्न भएको मध्यबधी निर्वाचनको अभिमतले राष्ट्रपति ट्रम्पलाई स्वेच्छाचारी बन्नेबाट रोकेको मात्र छैन "तिमी मौजुदा अमेरिकी नियम कानुन भन्दा माथि छैनौँ है" भनेर चेतावनी पनि दिएको छ । वाटर गेट काण्डको उत्तरार्द्ध तिर देखिएको राजनैतिक परिदृश्यसङ अहिले विकसित हुँदै गरेका घटना परिघटनाहरु निक्कै हदसम्म मिल्दाजुल्दा छन् । अटेर गरेर बसेका जिराहा जिद्दी निक्सनलाई जसरी न्यायालयले ठिक ठाउँमा ल्याइदिएका थिए अहिले पछिलो समयमा ट्रम्प प्रशासनको विपक्षमा न्यायालयले गरेका फैसलाहरू वर्तमान स्वेच्छाचारी ट्रम्पलाई पनि न्यायिक अङ्कुश लगाइदिएका छन् भने त्यही बेला निक्सनका विरुद्धमा ल्याइएकै खाले "ईम्पिचमेन्ट" प्रस्तावको सम्भावना पनि अहिले देखिन थालेको छ । मध्यावधि निर्वाचन मार्फत नयाँ अभिमत सहित तल्लो सदनमा प्रचण्ड बहुमत हँसिला गरेका डेमोक्रेट्सहरुले पुराना रिपब्लिकन संस्थापनसङ आवश्यक छलफल गरिरहेका छन् । पुरानो स्थापित पार्टी धराशायी भएको रमिते बनेर हेर्नु भन्दा एक जना डोनाल्ड ट्रम्पलाई विस्थापित गरेरै भए पनि पार्टी बचाउन रिपब्लिकनहरू तयार हुने पक्का छ । अटर्नी जेनेरल जेफ सेसनलाई बर्खास्त गरेर रिपब्लिकनहरूकै विरोधको सामना गरिरहेका ट्रम्पले अहिलेसम्म "चिफ अफ स्टाफ" पाउन सकेका छैनन् भने राष्ट्रपतिले सिरियाबाट सेना तत्काल फर्काउने निर्णय गरेपछि भर्खर डिफेन्स सेक्रेटरी जेम्स म्याटिसले पनि राजीनामा दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प निरन्तर एक्लिदैछन । भनिएका र उल्लेख गरिएका यावत आरोपित मुद्दा र अभियोगहरूका प्रमाणिक आधारमा उनी माथि राज्यले कुनै पनि स्तरको दण्डजरिवानाको प्रक्रिया कुनै पनि दिन सार्वजनिक गर्न सक्दछ । बहालवाला राष्ट्रपति माथि पनि सार्वजनिक मुद्दा या अभियोग लगाउन पाउनु पर्दछ भन्ने बहस पनि तल्लो सदनका नव-निर्वाचित सदस्यहरूले उठाउन थालेका छन् ।
सन् १९७४ को अगस्त ८ मा राजीनामा दिन बाध्य भएका तात्कालिक राष्ट्रपति रिचार्ड निक्सनलाई उनैले नियुक्त गरेका राष्ट्रपति जेराल्ड फोर्डले संवैधानिक उन्मुक्ति दिएका थिए त्यही कारणले उ जेल जानबाट बच्यो तर वर्तमान राष्ट्रपतिमाथि धेरै मुद्दाहरूमा छानबिन भइरहेको छ । केन्द्रबाट उनले त्यस खाले उन्मुक्ति पाए पनि उनी न्यु योर्क राज्यका बासिन्दा भएको कारणले न्यु योर्क राज्यको क्षेत्राधिकारमा पर्ने अन्य थुप्रै अभियोगका आधारमा उनी मौजुदा कानुनको फन्दाबाट उम्कने सम्भावना नितान्त कम छ । न्यु योर्क राज्यको राजधानी अल्बनीमा ३७ वर्ष एकाधिकार जमाएका एसेम्बली स्पिकर डेमोक्रेट्स सेल्डन सिल्भर अहिले सात वर्ष लामो जेल सजाय भोग्दैछन भने सरकारी सवारी सुविधा आफ्नी श्रीमतीलाई उपलब्ध गराएको अभियोगमा सजाय पाएका न्यु योर्क राज्यका कम्पट्रोलर आलान हभासी भर्खर जेल मुक्त भएका छन् । त्यसै गरी न्यु योर्क राज्यकै मेजोरिटी लिडर रिपब्लिकन डीन स्कलोसले पनि आफ्नो पदीय दुरुपयोगको अभियोगलाई स्विकार्दै अघिल्लो महिना प्रशासन समक्ष आत्मसमर्पण गरेका छन् ।
कानुन नितान्त निर्दयी हुने गर्दछ र हुनै पनि पर्दछ । सात वर्षको जेल सजाय न्यायाधीशले सुनाएपछि आफ्ना कानुनीवाद मार्फत पूर्व एसेम्बली स्पिकर सेल्डन सिल्भरले अदालत समक्ष अनुनय विनय गरे "म यहुदीको सन्तान हुँ अरूहरूले जस्तै जे पायो त्यही खान हुन्न त्यसैले मेरो लागि विशेष सेल (झ्याल खाला) को बन्दोबस्त होस् ।" जवाफमा फैसला सुनाउने न्यायाधीशले भनिन "त्यस्ता जघन्य भ्रष्टाचार गर्न अनि पदीय दुरुपयोग गर्न चाहिँ तिम्रो धार्मिक आस्था र विश्वासले रोकेन अब खान बस्न चाहिँ विशेष ठाउँ चाहियो अहम् त्यस्तो सुविधा दिन न्यायोचित हुन्न ।"
अमेरिका बसाईको यो दुई दशक मैले भ्रष्ट अल्बनी र सिकागोको बारेमा धेरै फेहरिस्त पढेको अनि लेखेको पनि छु त्यसैले तिनै अनुगमन अनि मौजुदा कानुनहरूको विश्लेषणको आधारमा र अहिले विकसित भएका घटना परिघटना अनि स्थापित नजिरहरूको आधारमा मैले बारम्बार भन्ने अनि सार्वजनिकरुपमै लेख्ने गरेको छु- वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्प पद च्युत भएको केही घण्टा या दिनहरूमै जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुनेछन् ।