चार वर्ष अगाडिको कुरा हो, भर्जिनियाको फेयर फ्याक्समा आयोजित एक सांस्कृतिक कार्यक्रममा अभिनय गर्न आएका कलाकारहरु कार्यक्रमस्थलको बाहिर लाईनमा बसेका थिए।
शिशाको फ्रेम भएको बाहिरी गेटबाट मैले चियाएँ। एक ब्यक्ति लाईनमा बसेका सेलिब्रेटी कलाकारहरू र मोडेलहरूलाई एक एक गर्दै फोटो सुट गर्दै थिए।
कलाकारको ड्रेस्, पोजिसन मिलाउने, लाईट र छाँया दिने छाता मिलाउँदै तथा हेर्दा वजनदार लाग्ने क्यामेरासहित फोटो लिन उनी ब्यस्त थिए।
उनलाई मैले कतै देखेको जस्तो लाग्यो, तर सम्झन सकिनँ। कार्यक्रम सकिएपछि एक जना मित्रलाई उनी को हुन भनेर सोधेँ। मेरो जिज्ञासामा मित्रले भने, ‘ग्लामर फोटोग्राफीका किङ भनेर चिनिने – राजीव श्रेष्ठ। ’
नेपालका चर्चित सिने पत्रिकामा उनले खिचेका अनेकौं फोटोहरू मैले देखेको थिए। तर, समयको अन्तरालले गर्दा त्यस दिन उनी मेरो स्मरणमा आएनन्।
यसपछि म सँगै फोटो सेसन हेरेकी मेरो छोरी राजीवको फोटोग्राफीको फ्यान नै भईन्। भर्जिनियाको फेयर फ्याक्सस्थित एक हाईस्कुलमा अध्ययनरत छोरी तृषाले आफ्नो ईच्छा अनुसार प्रोफेसनल फोटोग्राफी लिएकी छन्।
राजीवको ‘ग्लाम क्यालेन्डर २०१९’ को विमोचन कार्यक्रमको अवसरमा छोरीसहित कार्यक्रमस्थल मेरील्यान्डको जर्मन टाउनमा फेरि राजीवसँग भेट हुने मौका मिल्यो।
यसै भेटघाटका अवसरमा ‘नेपाली ग्लामर फोटोग्राफी किङ’ का उपनामले चिनेने राजीव श्रेष्ठले आफ्नो फोटोग्राफी, यस भित्रको संघर्ष र सफलतामा यसरी प्रस्तुत भए।
अनवरत रूपले बिगत तीस वर्षदेखि सेलिब्रेटी र मोडेलसहित समाजका बिभिन्न कार्यक्रममा फोटो सुट गर्दै आएका एक जीवन्त प्रतिभाका धनी हुन् राजीव श्रेष्ठ।
अत्यन्त शालिन, शान्त, कामप्रतिको ईमान्दारिता र लगनाशिलता नै राजीवको परिचय हो।
नेपाली चलचित्र क्षेत्रमा अभिनय गरेका प्राय सबै ठूला कलाकारलाई आफ्नो कला र ज्ञानमार्फत क्यामेरामा कैद गर्न सफल फोटोग्राफर हुन् राजीव श्रेष्ठ।
राजीवको जादुमय फोटोग्राफी कलाका बारेमा चर्चा गरिन्छ कि नेपालका चर्चित नायक/नायिका तथा मोडेलले आफ्नो करियर बनाउन र स्थापित हुन उनैबाट सुट गरिएका फोटोको ठूलो योगदान रहेको थियो।
राजीवले खिचिदिएका आकर्षक र कामुक फोटोमार्फत नेपालमा ब्यवसायिक रूपले सेलिब्रेटी र मोडेल बन्न सफल भएकाको लामो लिस्ट नै छ।
कुनै ताका बागबजारस्थित उनको स्टुडियो ‘फोटो बैंक’ मा आएर राजीवबाट खिचिएका ग्लामर फोटोमार्फत चलचित्रका लागि कलाकारसमेत छानिन्थ्यो।
बिज्ञापनमा कुन मोडेल रोज्ने भनेर राजीवसँग सल्लाह मागिन्थ्यो।
उनको प्रतिभा र लगनशिलताको फलश्वरूप धेरैले ब्यवसायिक मोडलिङको पेशा अपनाए। त्यस्तै नायक तर्फ राजेश हमाल, शिव श्रेष्ठहुँदै यति बेलाका चर्चित नायकलेसमेत राजीवको कलाबाट लाभान्वित भएका छन्।
महिला मोडलका लागि मात्र हैन धेरै पुरूष मोडेलका लागि समेत रूचाईने एउटा ब्रान्ड बनेका छन् राजीव।
अधिकांश मान्छेहरू फोटोग्राफरतर्फ आफ्नो अनुहार देखाउँदै मन मनै सोच्छन्, क्यामेराको बटनलाई क्लिक गरे पछि क्यामेरालेनै राम्रो फोटो निकाल्छ। मान्छेको यो सोचाईमा केही सत्यता भए पनि यस भित्र लुकेको सत्य र तथ्य भनेको फोटोग्राफरको साँचो कला हो।
प्रविधिको तिब्र विकास क्रमसँगै प्रत्येक मान्छेको हातमा क्यामेरासहितको स्मार्टफोनहरू उपलब्ध छन्।
आफ्नो हातमा रहेको स्मार्ट फोनको क्यामेराबाट खिचिएका आकर्षक तस्वीरहरू सामाजिक सन्जालमार्फत आफन्तलाई देखाईन्छन्। तर, सही प्रकाश, फोकस, बाहिरी दृश्य र पोजिसन मिलाएर फोटो खिच्ने कला उनीहरूलाई थाहा हुँदैन।
आधुनिक तथा डिजिटल क्यामेरा आएपछि अब फोटोग्राफी पहिलाभन्दा धेरै सहज हुन गएको छ।
प्राय मान्छेहरू शौखका लागि फोटोग्राफी गर्छन्। तर, यसमा तालिम र अध्ययन गरी ब्यवसायिक रूप दिन सकियो भने करियरका लागि फोटोग्राफी राम्रो विकल्प हुने राजीवको धारणा छ।
‘आजका दिनमा ग्लामर फोटोग्राफीको पेशा बिकल्पका रूपमा मात्र नभएर स्थायी पेशा भएको छ,’ राजीव अगाडि भन्छन्, ‘यस पेशामा नाम, दाम र सन्तुष्टी प्राप्त गर्न सकिने भएको छ। पहिले फोटोग्राफी गर्ने र गराउने कार्य सम्पन्न वर्गमा मात्र सिमित थियो, तर उपलब्ध डिजीटल र सस्ता क्यामेरालगायत स्मार्ट फोनको आगमनले हरेक वर्गले फोटोग्राफीमा चासो देखाउन थालेका छन्।’
ब्यबसायिक फोटोग्राफीका लागि लगन, तालिम, मेहनत र धैर्यताबाहेक खासै ठूलो योग्यता आवश्यक हुँदैन, राजीव अगाडि भन्छन्- ब्यबसायिक फोटोग्राफीका लागि स्कुल तथा कलेजमासमेत प्रोफेसनल फोटोग्राफी सिक्न सकिने छ। प्रोफेसनल फोटोग्राफीका लागि फोटोसपजस्ता सफ्टवेयरको ज्ञान हुनु आवश्यक हुन्छ जसबाट फोटोग्राफी स्कीललाई अझै निखार्न सकिन्छ।
फोटोग्राफीको क्षेत्र ठूलो छ र यसको माग बढ्दो छ। आफ्नो रूची र अनुभव अनुसार विभिन्न फोटोग्राफीका क्षेत्रहरू छनोट गरी आफ्नो पेशा बनाउन सकिने राजीवको धारणा छ।
प्रोफेसनल फोटोग्राफीमा अध्ययन र तालिम लिँदै गरेकालाई सुझाव दिँदै राजीव भन्छन्,‘बजारमा विज्ञापन अथवा फेशन फोटोग्राफीको विधाको माग प्रशस्त छ। बिज्ञापन कम्पनीका लागि कुशल फोटोग्राफरको आवश्यकता हुन्छ। यसमा फेसन फोटोग्राफीसमेत पर्छ तर यसमा प्राबिधिकभन्दा पनि सामाग्रीलाई सुन्दर रूपले प्रस्तुत गरिन्छ।’
फोटोग्राफीका विभिन्न विधाहरू र बजारमा बढ्दो मागका बारेमा चर्चा गर्दै राजीव अगाडि भन्छन् – कला तथा फिल्म फोटोग्राफीमा पनि प्रोफेशनल फोटोग्राफरको माग प्रसस्तै छ। फिल्म निर्माण पूर्व कलाकारको फोटोसेसन, कलाकार छनोट, फिल्मको सुरूवात सँगै यसको प्रदर्शन सम्मका सबै गतिविधि क्यामेरामा कैद गरिन्छन्।
बिज्ञान तथा प्रविधि सम्बन्धि फोटोग्राफीको माग पनि अत्याधिक छ। बढ्दो प्रबिधिको विकास सँगै मेडिकल साइन्सको क्षेत्रमासमेत प्रोफेसनल फोटोग्राफरको माग बढ्दो छ।
वाइल्ड लाईफ र एडवेन्चर सम्बन्धी फोटोग्राफीमा ठूला ठूला कम्पनीबाट ब्यवसायिक र अनुभवी फोटोग्राफरको खोजी हुन्छ।
त्यस्तै फोटोग्राफी सिक्नेको रोजाईमा समेत वाइल्डलाईफ फोटोग्राफी पर्दै आएको छ। फोटो पत्रकारिता अर्को चर्चित र रूचाईएको विधा हो।
फोटोग्राफीका साथै लेख तथा समाचार लेख्ने कला भएकालाई यो विधामार्फत आफ्नो पेशा बनाउन सहज हुन्छ।
बढ्दो अनलाईन मिडिया तथा सामाजिक सञ्जालको प्रयोगले फोटो जर्नालिस्टको माग पनि बढिरहेको छ।
समाजमा लोकप्रिय ‘इभेन्ट फोटोग्राफी’ का बारेमा प्रकाश पार्दै राजीव भन्छन् - यो विधाको फोटोग्राफी हाम्रो समाजमा अत्यन्त लोकप्रिय भएको छ। यस अन्तर्गत समाजबाट आयोजना हुने कार्यक्रम, सामाजिक गतिबिधिहरू जस्तै विवाह, ब्रतबन्ध, जन्मदिन, वैवाहिक उत्सव आदि पर्छन्।
शुरूमा सिक्दै गरेका तथा आफ्नो करियरको खोजीमा रहेकाहरुलाई यो विधाको फोटोग्राफीले फाइदा दिन्छ।
फोटोग्राफीका लागि के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने जिज्ञासामा शिकारूका लागि राजीव टिप्स दिन्छन् -फोटोग्राफीका लागि लाईट्समा पहिलो ध्यान जानुपर्छ।
फोटोको सुन्दरता त्यसमा पर्ने लाईट र छाँयामा लुकेको हुन्छ। फोटोग्राफीका लागि लाईट्सको ब्यवस्थापन र अनुभव हुन आवश्यक हुन्छ।
जुन चीजको फोटो खिच्ने हो त्यसमा लाईट राम्ररी मिल्नु पर्छ। लाईट्स पछि ध्यान दिनुपर्ने कुरा हो फ्रेम कम्पोजिसन।
फोटो खिच्दा क्यामेराको फ्रेम भित्र अब्जेक्टका अलावा अन्य चीजलाई राख्नु हुँदैन, यसबाट देखाउन खोजिएको चिजको महत्व घट्छ र देखाउन खोजिएको चिज अन्य अब्जेक्टका कारण महत्वहिन हुन्छ।
फोटोको शुन्दरताका लागि क्यामेरको फ्रेममा सब्जेक्ट हुनु पर्छ किनकि अन्य अनावश्यक चिजले फोटोलाई खराब बनाईदिन्छ।
फोटो ब्याङ्क स्टुडियोका ब्यवस्थापकसमेत रहेका राजीव विगत एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आफ्नो ब्यबसायिक फोटोग्राफीको कामलाई निरन्तरता दिइरहेका छन्।
यस अवधिमा राजीवले अमेरिकामा बसोबास गरेका लोकप्रिय नेपाली कलाकार, श्रष्टा, मोडल, समाजबाट सञ्चालन भएका बिभिन्न कार्यक्रमलगायत अनेकौ ईभेन्टमा फोटो सुट गरिसकेका छन्।
आफूले खिचेका ब्यवसायिक फोटोहरू संकलन गरी प्रत्येक वर्ष ‘ग्लाम क्यालेन्डर’ प्रकाशन गर्दै आएका राजीवले सन् २०१९ को ग्लाम क्यालेन्डरमा सर्वोकृष्ट नौ जना मोडलका आकर्षक फोटो समावेश गरेका छन्।