अमेरिकामा यो साता
अमेरिकी सरकार आंशिक बन्द कायमै- साता बित्यो, सम्झौता भएन:
एक हप्ता देखि अमेरिकी सरकार आंशिक रूपमा बन्द छ । सांसदले खर्च विधेयक पास गर्न नसके पछि गत शुक्रवार देखि सरकारका ९ वटा डिपार्टमेन्टहरु बन्द छन् । लाखौँ कर्मचारी बिदामा छन् भने लाखौँले काम गरे बापत तलब पाएका छैनन् । ५ बिलियन डलर रकम मेक्सिको र अमेरिकाको सीमामा लगाउने पर्खाल बनाउने बजेट संसद् नदिए पछि ट्रंपले त्यो बजेटमा हस्ताक्षर गरेका छैनन् । बजेट पास गर्न आवश्यक ६० मत सिनेटमा रिपब्लिकन पार्टीसँग छैन ।
पछिल्ला घटनाक्रमहरू हेर्दा आंशिक सरकार बन्द कमसेकम अर्को हप्तासम्म चल्ने अवस्था देखिएको छ । एकातिर नयाँ वर्षको कारण संसद्को बैठक बस्न सकेको छैन भने अर्को तिर डेमोक्र्याट र राष्ट्रपति बिच धेरै कुरामा मतभिन्नता छ । दुवै पक्ष आफ्नो अडानमा देखिन्छन् । रिपब्लिकन र डेमोक्र्याटहरु मिलेर पास गराएर पठाएको बजेट ट्रंपले हस्ताक्षर गरेनन् । अति दक्षिणपन्थी विचार राख्ने रस लिम्बा र जिनिन पिर्रो जस्ता सञ्चारकर्मीहरूको कुरा सुनेर ट्रंपले उक्त बजेटमा हस्ताक्षर नगरेको आरोप लगाइएको छ ।
अर्को तिर ट्रंपले परिस्थिति बनाउने होइन बिगार्ने तिरै तल्लीन देखिन्छन् । डेमोक्र्याटहरुले सीमा क्षेत्रमा पर्खाल लगाउने पैसा नदिए मेक्सिकोसँगको बोर्डर पुरै बन्द गरिदिने धम्की ट्रंपले दिएका छन् । डेमोक्र्याटहरुले भने सीमा सुरक्षाको लागि करिब साढे एक बिलियन डलर दिएको जनाउँदै त्यो भन्दा एक पेंनी पनि बढी दिन अस्वीकार गरेका छन् । चुनावमा मेक्सिकोले पर्खाल बनाउने पैसा तिर्ने भनेर जताततै भन्दै हिँडेका ट्रंपले यति बेला सोही पर्खाल बनाउन अमेरिकी करदाताहरूको पैसा माग गर्नु र त्यो नपाएर सरकार बन्द गर्नु लज्जास्पद छ ।
दुवै पक्षको यो भिडन्त कमसेकम आगामी जनवरी ३ गतेसम्म लम्बिने देखिएको छ । जनवरी ३ मा भने नयाँ संसद् आउँदै छ जसमा डेमोक्र्याटहरुको बहुमत हुनेछ । डेमोक्र्याट श्रोतहरूका अनुसार सोही दिन डेमोक्र्याटहरुले एउटा क्लिन विधेयक पास गरेर सरकार पुन खोल्ने योजनामा छन् । तिन वटै सरकारी निकाय रिपब्लिकन पार्टीको हातमा हुँदा पनि बजेट पारित हुन नसकेको अवस्थामा प्रतिनिधि सभामा डेमोक्र्याटहरु आए पछि झन् कस्तो अवस्था आउने हो हेर्न भने केही दिन कुर्नु नै पर्ने छ ।
ट्रंपको इराक यात्रा:
इराकमा यति बेला करिब ५२ सय अमेरिकी सेना कार्यरत छन् । राष्ट्रपति ट्रंप उनीहरूलाई भेट्न क्रिसमसको अवसर पारेर इराक पुगे । उनले त्यहाँ बस्दा अमेरिकी सेनाका प्रमुखहरूसँग कुराकानी गर्नुको साथै सेनालाई सम्बोधन गरे ।
सम्बोधनमा उनले थुप्रै विवादित कुराहरू बोले । संसारमा हुने युद्धहरूमा अमेरिकाले खर्च व्यहोरेको बताउँदै अब त्यसो नहुने जनाए । "अमेरिकासँग फाइदा लिन अब मैले दिन्न" उनले सेनाहरूसँग बोल्दै भने ।
इराकमा रहँदा उनले इराकी सरकारी अधिकारीहरूसँग भेटघाट भने गरेनन् ।
उनले इराकी प्रधानमन्त्री अदिल अब्दुल मह्दीसंग टेलिफोनमा कुरा गरे । तर ट्रंप फर्के पछि संसद्मा अमेरिकी प्रशासनको चर्को आलोचना भयो । अमेरिकी सेना तत्काल फिर्ता गर्न आव्हान गर्दै नत्र जबर्जस्ति निकालिने कुरा एक संसद् सदस्यले जनाए । इराकको एक सदनका प्रमुख सवा अल सैदीले अमेरिकाले आफ्नो सीमा थाहा पाउने पर्ने उल्लेख गर्दै अब अमेरिकी सेनाको इराक बसाइ सिद्दिएको उल्लेख गरेका छन् । यी अभिव्यक्ति सँगै ट्रंपको इराक यात्रा महँगो साबित हुने खतरा बढेको छ ।
अघिल्लो साता मात्र सबैलाई चकित पार्दै ट्रंपले अमेरिकी सेना सिरियाबाट फिर्ता हुने घोषणा गरेका थिए । इराकको सेना भने फिर्ता नगरिने बरु सिरिया त्यहीबाट हेर्ने उनले आशय देखाए पछि उनको झन् आलोचना भएको
छ । सिरियाबाट फर्किने उनको घोषणा सँगै डिफेन्स सेक्रेटरी जिम म्याटिसले राजीनामा समेत दिइसकेका छन् ।
ग्वाटेमालाबाट अमेरिका प्रवेश गरेका अर्का आप्रवासी बालकको मृत्यु:
क्रिसमसको राति सबै रमाइलोमा मस्त थिए । तर सीमा क्षेत्रमा भने अर्को डरलाग्दो घटना घट्यो । सिमापार गर्ने क्रममा पक्राउ परेका ग्वाटेमालाका एक ८ वर्षीय प्रवासी बालक फेलिप गोमेज अलोंजोको मृत्यु भएको छ ।
उनलाई चिसोले आक्रान्त पारेको थियो र उनलाई सामान्य औषधि दिएर पठाइएको थियो । तर त्यसको केही समय पछि नै उक्त बालकको मृत्यु भएको छ । यो सहित सीमामा ट्रंप प्रशासनले गरेको कडाइका कारण मर्ने बालकहरूको सङ्ख्या २ पुगेको छ ।
यस अघि पनि ७ वर्षीय जेकेलिन कल मकुइनको मृत्यु भएको थियो ।