अमेरिकी सरकारको समीकरणमा परिवर्तन, प्रतिनिधिसभामा नेन्सी पेलोसी सभामुख नियुक्त:
अमेरिकी सरकार संयन्त्रको समीकरण परिवर्तन भएको छ। प्रतिनिधिसभाको सभामुख पदमामा डेमोक्र्याट पार्टीकी नेन्सी पेलोसी निर्वाचित भए सँगै अमेरिकी सरकारमा रहेको रिपब्लिकन पार्टीको एकछत्र राज्य समाप्त भएको छ।
गत नोभेम्बर ८ मा सम्पन्न चुनावमा डेमोक्र्याटहरुले प्रतिनिधिसभामा बहुमत हासिल गरेका थिए । करिब दुई महिनाको लेम डक सेसन पश्चात् जनवरी ३ देखि प्रतिनिधिसभा डेमोक्र्याटको हातमा आइपुगेको छ । । सन् २०१० मा ओबामा केयरको अलोकप्रियताको कारण सिनेट र प्रतिनिधिसभा डेमोक्र्याटहरुको हातबाट रिपब्लिकन पार्टीको कब्जामा गए पछिको करिब ८ वर्ष पछि फेरी डेमोक्र्याटहरु प्रतिनिधिसभामा बहुमतमा आउन सफल भएका थिए ।
त्यसै पनि अस्थिर र कुनै काम नहुने क्यापिटल हिलमा रिपब्लिकन पार्टीको वर्चस्व गुमे पछि झन् कामको गति कम हुने आंकलन गरिएको छ । राष्ट्रपति ट्रंपको आचरण, अभिव्यक्ति देखि उनको विगतको आर्थिक हिसाब किताबमा समेत नयाँ हाउसले आँखा लगाउने स्पष्ट छ ।
विगतको परम्परा बाबजुद ट्रंपले आफ्नो ट्याक्स रिटर्न सार्वजनिक गरेका छैनन् । जनवरी ४ मा नै प्रतिनिधिसभाले एक "नैतिक सुधार" सम्बन्धी प्रस्ताव पारित गरेका छन् जसले ट्रंपलाइ आफ्नो ट्याक्स सम्बन्धी कागजात सार्वजनिक गर्न बाध्य बनाउने आशा गरिएको छ । त्यस्तै रसिया सम्बन्धी अनुसन्धान फेरी सुरु गरिने डेमोक्र्याटहरुले जनाएका छन् ।
"यो दुई वर्ष ट्रंपले मनपरी गरे, अब ती दिनहरू गए । रिपब्लिकन पार्टीका नेताहरूले ट्रंपलाइ मनपरी गर्न दिँदा हामी भूमिका विहीन भएका थियौँ । अब भने हामीले जनताको चाहना अनुसार ट्रंप प्रशासनको गलत कदमहरू रोक्ने छौँ" ओभर साइट कमिटीका प्रमुख मेरिल्याण्ड राज्यबाट प्रतिनिधित्व गर्ने एलिजा कमिंगले जनाएका छन् ।
यसरी हेर्दा अब ट्रंप प्रशासन र प्रतिनिधि सभामा डेमोक्र्याटहरु बिच कडा भिडन्त हुने देखिन्छ । त्यसै पनि विभिन्न मारमा परिरहेका अमेरिकी जनता यो भिडन्तमा "साँढेको जुधाई बाच्छाको मिचाई" हुने भने अवश्यम्भावी छ ।
बन्दुक आक्रमणमा ३ जनाको मृत्यु, ४ घाइते:
क्यालिफोर्निया राज्यको लस एन्जलस सहर नजिकै रहेको टोर्यान्स सहरमा भएकोको एक बन्दुकधारीको हमलामा परि ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
शुक्रवार राति स्थानीय 'गेबल हाउस बार' मा भएको व्यक्तिगत विवादबाट सुरु भएको झगडामा एक जनाले गोली चलाए पछि उक्त घटना भएको प्रहरीले जनाएको छ।
दक्षिणी क्यालिफोर्नियाको टोर्यान्स प्रहरी विभागका अनुसार रातिमा बन्दुक प्रहारबाट घाइते ४ जनाको अवस्था खतरा मुक्त छ।
अमेरिकी सरकार आंशिक बन्द तेस्रो हप्तामा:
अमेरिकी सरकार आंशिक बन्द भएको दोस्रो हप्ता पुरा भएको छ । सङ्घीय सरकारका लाखौँ कर्मचारी या त बिदामा या त बिना तलब काम गरिरहेका छन् ।
विमानस्थल हेर्ने सयौँ कर्मचारीहरूले तलब नपाउँदा काममा नआउने भन्दै कल गरिरहेका छन् जसले विमानस्थलको काम ढिला भइरहेको छ र सुरक्षा चुनौती समेत थपिएको छ । सरकारका ९ वटा डिपार्टमेन्ट र एजेन्सीहरूमा कार्यरत कर्मचारीहरू देखि राजस्व विभागमा समेत असर परेको छ जसले गर्दा करदाताहरूले आफ्नो रिटर्न समयमा नपाउने समस्या देखिएको छ ।
एकातिर अवस्था यस्तो छ भने राष्ट्रपति र काँग्रेसका बिच सहमति नहुँदा समस्या हल हुन सकेको छैन । राष्ट्रपति ट्रंप आफूले भने बमोजिमको ५.६ बिलियन डलर बजेटमा नपरेसम्म आफूले उक्त बजेटमा हस्ताक्षर नगर्ने कुरामा अडिग छन् भने डेमोक्र्याटहरु ट्रंपको "कथित पर्खाल" लाई पेनी पनि नदिने अडानमा छन् । जनवरी ४ मा व्हाइट हाउसमा भएको मिटिङमा पनि कुनै निष्कर्ष निस्केन ।
मिटिङबाट बाहिर निस्के पछि ट्रंपले लामो पत्रकार सम्मेलन गरेर आफ्नो पर्खालको औचित्य पुष्टि गर्ने प्रयास गरे । उनले पर्खाल बिनाको बजेट पास नहुने धम्की दिए । अर्को तिर प्रतिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले सीमा सुरक्षाको लागि आवश्यक रकम छुट्टाउन सकिने तर पर्खालको लागि कुनै रकम छुट्टाउन नसकिने जानकारी गराएकी छिन ।
केही दिन अघि सम्म सरकारका तिनै अङ्ग रिपब्लिकन पार्टीको कब्जामा थिए । तर जनवरी ३ देखि प्रतिनिधिसभामा डेमोक्र्याटिक पार्टीको बहुमत छ । ट्रंपको माग अनुसार विघटित प्रतिनिधि सभाले ५.६ बिलियन बजेट पर्खालको लागि छुट्टाएर पठाएको थियो जुन सिनेटमा ६० मत नपुग्दा फेल भएको थियो । सिनेटमा दुवै पार्टीले सहमति गरेर पठाएको बिल ट्रंपले हस्ताक्षर गरेनन् । त्यो फेरी प्रतिनिधिसभामा आइपुग्दा डेमोक्र्याटहरु बहुमतमा पुगिसकेका थिए । शपथ लिएकै दिन डेमोक्र्याटहरुले पर्खालको लागि पैसा नछुट्टाई सरकार खोल्न नयाँ बजेट पास गरेर पठाई सकेका छन् ।
तर त्यो बिल राष्ट्रपतिले हस्ताक्षर नगर्ने भन्दै सिनेटका बहुमत नेता मिच् मेकोनलले छलफल नै नगरी अड्काएर राखेका छन् ।काँग्रेसका नेताहरूसँग भएको मिटिङ पछि व्यक्त गरिएका कुराहरूले अमेरिकी सरकार बन्दको नाटक लामो समय चल्ने त्रास फैलिएको छ ।