यात्रा त गर्दै गरिएनछ। गरेकोमा पनि ज्ञानका ढोकाहरु त खुल्दै खुलेनछन्। कहिलेकाहिँ यात्रा भनेको विलास हो। कहिले चाहिँ केहि वाध्यता या सक्नुपर्ने कुनै गृहकार्य जस्तो पनि हो। कहिले फेरी यात्रापछिको भेटका लागि जम्मा भइराख्ने रोमाञ्चकता पनि हो। पहिला जानिएनछ तर अचेल यसरी लेखाजोखा गर्न थालेको छु। यात्रा नगरेकै त हैन, गरेको हो कोहिबेला। तर धेरैजसो यात्राहरु यात्रा नभएर हिँडाई मात्रै भएका रैछन्। बाटो कटाई मात्रै भएका रैछन्।
गाम्तिरको यात्राका धेरै आयामहरु हुन्थे। बसबाट ओर्लेर झमक्क साँझ परुञ्जेल हिँडेपछि पनि नपुगिने ठाम्मा हजुरबाआमा बस्ने गाम्। कतै बास बसेर भोलिपल्ट सबेरै हिँड्नुपथ्र्यो। जे पाकेको हुन्थ्यो त्यहि खायो, या पकाउन लगायो। कुनैबेला बास बस्ने टोली ठूलो हुँदाखेरीचाहिँ टोली आफैँले पकाएर पनि खाने। अनि भोलिपल्ट भाले र आफू सँगसँगै उठेर खाक्खाक् खुक्खुक् गरेर बाटो लाग्दापनि गाम् पुग्दा त आधा दिन गइहाल्थ्यो। धेरै अल्मल नगरी फटाफट हिँड्दाखेरी बास नबस्दापनि हुन्थ्यो तर हिँड्न सक्नेहरुले बल् दिइरहनुपथ्र्यो त्यस्तोमा। “यतिबजे उकालो काटियो भने ......” आफूलाई चाहिँ डाँडापछि अर्को डाँडा अनि फेरी अर्को – यो उकालो सकिँदैन कहिल्यै जस्तो लाग्थ्यो। तर म खुब हिँड्न सक्थेँ। बीच–बीचमा आउने स–साना चौताराहरुमा नअल्मिलिइकन अघि बढ्थ्यो टोली। उकालै भएपनि सम्म ठाउँहरु आउँथे, घरहरु देखिन्थे, मान्छेहरु भेटिन्थे, २–४ बात् पनि हुन्थे। फेरी अर्को डाँडा ताक्नुअघि क–कसलाई कत्रो लौरो चाहिने हो भनेर लौराको खोजी हुन्थ्यो। अनि लौरो टेक्दै, खुइय गर्दै लौराले बाटो कोर्दै हिँडेपछि कुनै न कुनै बेला त उकालो कटिहाल्थ्यो। बा, आमा, अंकल, आन्टीका गर्धनमा गोडा झुण्ड्याएर अग्ला भएका केट्केटीहरु, अनि केट्केटी र गह्रुङ्को झोलाको भारीको सन्तुलन मिलाएर बारीको डीलैडील हिँडेका यात्रीहरु पिलिक–पिलिक झ्याप्–झ्याप् हुने जुनकिरीहरु जस्तै देखिन्थे।
टर्च बालेर हिँडेपछि त राती जुनसुकै बेला पुगेपनि फरक पर्थेन। अगेना छेउको न्यानोमा गफै गफमा निदाउनु नै हुन्थ्यो जतिखेर पुगेपनि। कसौँडीमा भात छड्किँदै गथ्र्यो, दिब्रेमा तिउन पाक्दै हुन्थ्यो। फतक्क गलेर हामी केट्केटी चाहिँ भुसुक्क निदाइसक्थेम्। आमैले भात खान उठाउँदा निंद्रा बिथोलिएर रुन्थेम्। तर रातीको यात्रा बडो अन्धाधुन्ध हुन्थ्यो कोहिबेला। टर्चमा हाल्ने ‘एभरेडी’ ब्याट्रीले कहिलेकाहिँ जोरी खोज्थ्यो। टोकेर फेरी हालेपछि टर्चले “ल अब बाटो देखाउँछु” भनेझैँ मधुरो प्रकाश फाल्थ्यो। त्यहि प्रकाशमा हिलो कुल्चिएको हो कि गुहु, थाहा हुन्थेन। लतारिएर बडो कष्टले हिँडेका केट्केटीमध्येको कसैलाई कतै सिस्नुले छ्वास्स छोइदिन्थ्यो। “सिस्नुले पोल्यो ......” भनेर त्यो कहालिएर रुन्थ्यो। कसैले “सिंगान दल्नुपर्छ पोलेको ठाम्मा” भन्थ्यो। अनि “सिंगान दल छोरो” भन्दा “सिंगान आकै छैन ......” भन्दै फेरी निरिह भएर रुन्थ्यो त्यो बच्चो। त्यस्ता यात्राहरुले के सिकाए? सोचिएनछ। यात्रामा को–को थिए, ती सबैको हुनुमै कति थरी ‘डाइनामिक्स’ थिए – अहँ, वास्तै गरिएनछ।
मामाहरुले पर परको डाँडाहरु देखाउँथे। चश्मा लगाएका मेरा आँखाले ती ठम्याउँथेनन्। चश्मा माथि अर्को चश्मा थप्दापनि म उनीहरुले देखाएकै डाँडो या डाँडोमा टिनको पाता टल्किएको स्कूल या पसल या घर देख्थिनँ होला। कति तेज आँखा उनीहरुका। उनीहरुले ती डाँडा कतिचोटि काटे होलान्। ती डाँडामा उभिएर पनि त धेरैतिरका अरु डाँडाहरु पनि देखाए होलान् कतिचोटि। कि उनीहरुको अनुमान मात्रै हो! अनुमानमा ‘कन्फिडेन्स’ मिसियो भने त्यो अनुमान मात्रै रहँदैन, सुन्नेले त्यसलाई सत्य मान्छन्। तर त्यसो हैन भन्ने मलाई थाहा छ। भूगोलप्रतिको मेरो ज्ञान कमजोर हो, मेरो ‘कनेक्सन थ्रेड’ पातलो हो। ठाउँहरु कताबाट कहाँ जोडिन्छन् म गतिलोसँग थाहा पाउँदिनँ। उनीहरुले त्यतिबेलै त्यसरी भलाद्मी पारामा “थुइय बज्ज्या! केहिपनि थाहा नपाउनी भइस् जिन्दगीमा” भनेका हुन् जस्तो लाग्छ कहिलेकाहिँ यसै। अनि हाँस्छु र अनुमान गर्छु, छुचो हुन नमिल्ने मान्छेले गाली गर्न पाइयोस् भनेरै साहित्य शुरु गरेका हुोलान्। त्यस्तै डाँडाहरुमा फरक समयमा फरक प्रायोजनका लागि कति मान्छे हिँडे होलान्। तिनले कति परिवर्तन देखे होलान् र कति यथास्थिति पनि देखे होलान्। ती यात्राहरुबाट जीवन बाँच्ने अनेक कला सिके होलान् तिनले।
यसपाली ‘क्रिसमस ईभ’ मा ‘न्यू ह्याम्पसायर’ को सडकमा लुइँ–लुइँ २ घण्टाभन्दा बढि हिँड्नुले के सिकायो! त्यसको लेखाजोखा अलिपछि हुँदै गर्ला। तर समुना जीले भनेका कति कुराहरु सम्झिरहन्छु। मैले “यसपालीको यात्रा कस्तो ‘स्मूथ’ भयो” भन्दाखेरी उनले सोचको शक्तिलाई त्यसको जस दिइन्। हो पनि। यात्रा गर्दाखेरी दुःख पाइन्छ भन्ने कुरोमात्रै सोचियो अथवा दुःख पाइयो भनेर ङ्यार्–ङ्यार मात्रै गरियो भने त्यहि सोच र गन्गन्को भारीले यात्रालाई गह्रुङ्गो पारिदिन्छ। यात्रा भनेको धैर्यता पनि हो रैछ। मुख्य कुरा – गन्तव्यमा जसरी पनि पुग्ने दृढतापनि हो रैछ। केहि वर्षअघिको हाम्रो “हतारको चित्लाङ् यात्रा” को पनि सम्झना भयो मलाई। थानकोटभन्दा माथिको त्यस्तो अप्ठेरो बाटो हामीले साना कष्टले पार गरेको हैन। समुना जीले स्कूटरमै त्यो बाटो छिचोलेकी थिइन्। बाइक फस्ने, लड्ने, स्कूटरले पिकअप् नलिने, ओर्लेर अलि परसम्म हिँडेर फेरी बाइकको पछाडि बस्ने – त्यो क्रम धेरैपल्ट चलेको थियो। डरलाग्दो बाटामा अन्धकारले छपक्कै छोप्न खोज्दाखेरी डरलाई जितेरै स्कूटर बत्ताएकी थिइन् समुना जीले। ढुङहरु पनि बोलेजस्तो लाग्दोरैछ भन्थिन्। यात्रामा आफूमात्रै हिडिँदैन, आफ्ना विचारहरु पनि हिँड्छन्। अरुका विचारहरु पनि हिँड्छन्। यात्राले सम्बन्धहरु ब्लियो बनाउँछन्। ‘ब्रुकहिल रोड इन’ को ‘ब्याकयार्ड’ मा आगोको वरीपरी ६–७ घण्टा गफै गफमा न्यानोसँग बित्यो। समुना जीले त्यहाँको चिसोलाई ‘वेल्कमिङ् कोल्ड’ भनिन्। मैले गाम् पुग्दाखेरी त्यस्तै ‘वेल्कमिङ् कोल्ड’ को आतिथ्य महशुश गर्थें।
सुरजको “भोयज लोमान्थाङ” को ‘सिरिज’ पढेँ। पढ्छु भनेर निकै समय जोगाएर राखेको हो मैले ‘ब्राउजर’ मा पहेँलो ताराको ‘बुकमार्क’ सहित। पढेर हुरुक्क भएँ। उनको लेखाईमा जस्तो ‘कनेक्सन’ अरुकोमा ‘फील’ गरेको छैन यी केहि वर्षहरुमा। बच्चाको जस्तो उत्सुक मनका शब्दहरु परिपक्व देखिनेगरी उनिदिनु – यस्तो मलाई सधैँ मन परेको हो। उनले गरेको यात्रामा मपनि सँगसँगै हिँडेछु। शब्द मात्रै हैन, भाव मात्रै पनि हैन। जसरी हरेक कुरासित उनले आफूलाई ‘रिलेट’ गरेका थिए, त्यो सबैभन्दा मन परेको हो। चलिरहोस्, कहिल्यै नसकियोस् जस्तो लाग्नेगरी शब्दले जुन संसार देखाए उनले, त्यो एउटा विशेष अनुभूति हो। सुरजसित ऊबेला फ्रान्सेली केन्द्रको हलुवाबेदको रुखमुन्तिर बसेर गर्नेजस्तै बात गर्न मन छ कुनैदिन।
‘स्कूल डेज्’ मा एक अर्काका अनेक नाम राखेर जिस्क्याउने, बाझ्ने अनि अरुलाई जिस्क्याउनु पर्दा फेरी मिल्ने पनि – पछि कलेज पढ्दै गर्दा ‘रेगुलर’ भेट पनि नहुने, ‘ह्याङ् आउट’ पनि नगर्ने – आफ्ना अरु नै साथी ‘सर्कल’ हुने तर भेट्दाखेरी पहिलेकै जस्तो ‘एनर्जी’ देखिने ः यस्ता धेरै साथीहरु हुन्छन्। कोहि कता छन् कोहि के गर्दैछन् – अस्ति ‘मेसेन्जर’ मा त्रीदेशीय ‘भिडियो कल’ चल्यो अलिबेर। ‘पक्रुश’ सँग त कुरा भइराख्थ्यो, ‘सबिन’ सँग पहिलोचोटी त्यसरी कुरा भएको। ‘स्कूल डेज्’ का केहि परिचित ‘निकनेम’ हरु फेरी सुनिए। एउटा ‘पोइन्ट’ मा ‘सबिन’ ले भन्यो, “तँ र म गफ नगरेको कति भयो, तर ‘ग्याप’ जस्तो केहि ‘फील’ नै भएन।” उत्पात घनिष्ठ साथी हैनम् हामी तर पुराना साथीहरुसँगको त्यो एउटा ‘बोन्ड’ चाहिँ जेहोस् रहिरहने कुरा रैछ जिन्दगीमा। कुरै कुरामा उसले “साथी र साथित्व फरक कुरा रैछन्” भन्यो। कस्तो राम्रो कुरा गर्यो। यात्रामा बाटो, माटो, मान्छे र वरपर देखिने सबैकुरासँग कसरी कसरी आफ्नोपन महशुश भइहाल्दो रैछ। त्यो पनि साथित्व नै त होला भन्ठान्छु।
धेरै पहिला लेखेको थेँ –
आफ्नै सोचेँ तर यो माटो मेरो भएन
वर्षौँ हिडेँ तर यो बाटो मेरो भएन
किन लेखेँ, के सोचेर लेखेँ, सम्झना छैन। तर लेखिसकेपछि “गतिलो दुई हरफ लेखेँ” भन्ने चाहिँ भएको थियो। पछि फरक सन्दर्भमा यीनै हरफहरु पढेँ, कतै केहि अर्थ जोडिए कि जस्तो भयो। अहिले फेरी अर्कै सन्दर्भमा पढेपछि सोच्न थालेको छु, “माटो र बाटो आफ्नो कसरी हुँदैन?” फराकिलो क्यानभासमा माटोको कुराले धेरै ठूलो र गहिरो अर्थ दिने चित्र देखाउँछ र अहिलेको विश्वमा त्यो निकै भयवह पनि छ। तर एउटा व्यक्तिको अस्तित्वजन्य गन्गन्को प्रारुपमा खेलाएर हेर्दाखेरी केहि प्रश्नहरुको उत्तर खोजिनुपर्छ जस्तो लाग्छ।
“आफ्नो नहुने परिदृश्यहरु कसरी निर्माण हुँदारहेछन्?”
“कि आफ्नो नहुनुलाई बढि चलायौँ र हिँडेको, वर्षौँ हिँडेको कुरालाई बिर्सियौँ?”
“कि यात्रा हुनसक्ने ती हिँडाईहरुलाई यात्रा बनाएनौँ? बनाउन जानेनौँ? बनाउन सकेनौँ या बनाउनुपर्छ भन्ने नै थाहा पाएनौँ?”
यात्राका दार्शनिक छुवाईहरु कस्ता हुन्छन्, अझै जान्ने मन भयो।