अमेरिकाको विभिन्न शहरहरूमा आफ्नो प्रस्तुति दिने क्रममा गायक एवम् संगीतकार कालिप्रसाद बाँस्कोटाले आईतबार टेक्सासको लवकमा दर्शकलाई तताए।
नयाँ वर्षको अवसर पारेर यहाँस्थित नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा उनले उपस्थित धेरैलाई नचाएका हुन्।
विशुद्ध मनोरन्जनका लागि लवकस्थित सेन्टर प्वाईन्ट ईभेन्ट सेन्टरमा आयोजित कार्यक्रम साँझ ६ बजेबाट सुरू भएको थियो।
कार्यक्रममा उपस्थित करिब ३ सय नेपालीले लवकमा पहिलो पटक राष्ट्रियस्तरको कलाकारको प्रस्तुति हेरेका थिए।
‘कालिप्रसाद बाँस्कोटा जस्तो राष्ट्रिय कलाकारलाई यहाँ पाउनुनै हाम्रो गौरवको विषय हो,’ यहाँका पुराना बासिन्दा रेशम घर्तिले सेतोपाटीसँग भने, ‘उहाँको प्रस्तुति हेर्न पाउनु समुदायकै ठूलो सौभाग्य हो।’
कार्यक्रमका लागि हल व्यवस्थापनमा सहयोग गरेका युवा व्यवसायी चन्द्र श्रेष्ठले कार्यक्रमका लागि सहयोग गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताए।
पत्रकार भोला आचार्यसहित प्रकाश श्रेष्ठ, लवक नेपाली समाजका पूर्व अध्यक्षसमेत रहेका बरिष्ठ माधव पाण्डे, प्रविण सापकोटाको संयुक्त पहलमा कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रमलाई लवक नेपाली समाजले पनि सहयोग गरेको कार्यक्रमको संयोजकसहेत रहेका पत्रकार आचार्यले बताए।
टेक्सासकै अस्टिन शहरमा आफ्नो प्रस्तुति सकेर भोलिपल्टै लवकमा देखिएका बाँस्कोटाले ‘ओडाउँला पिरतीको बर्को तिमीलाई...’, ‘निर जहिले रिसाउने..’, ‘ठमेल बजार...’, ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाईले’, ‘साईली’, ‘लप्पन छप्पन जान्दिनँ म’ लगायतका चर्चित गीतहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा गायक एवम् संगीतकार बाँस्कोटाले स्टेजमा गीत गाईरहँदा दर्शकहरू सीटबाट जुरूक जुरूक उठेर उनको छेउमै पुगेका थिए।
उनका हरेक गीतहरू सकिन नपाउँदै ‘वान्स मोरको’ चर्को दवाव खेप्नुपरेको थियो। हरेक वहानामा शुरूका गीतहरू नदोहोर्याएर बचेका उनले प्रस्तुत गरेको अन्तिम गीत ‘निर जैले रिसाउनी...’ लाई भने नदोहोर्याई करै भएन।
दर्शकहरू बाँस्कोटासँगै स्वर मिलाउँदै निकै रमाएका थिए। कार्यक्रमम् बाँस्कोटाको प्रस्तुतिका साथै मिस नेपाल युएसए २०१८ की फ्रस्ट रनरअप पोशा जिटीले ‘बनकी चरी... बोलको आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् भने प्रविण सापकोटाले गायक दिपक बज्राचार्यको नयाँ गीत मन मगनमा आफ्नो प्रस्तुति दिएका थिए।
यसका साथै स्थानीय कलाकारहरू नीता घर्ति, प्रशंसा घिमिरे र कृतिका गौतमले आकर्षक नृत्य पस्केका थिए।
कार्यक्रमको मूल्यांकनसमेत गर्न भ्याएका धेरै दर्शकहरूले यस प्रकारको कार्यक्रम फ्रस्टटाईम इन लवक भन्दै खुशी व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा न्युयोर्कदेखि आएका डिजे सूर्य खड्काले दर्शकहरूलाई थप नचाएका थिए।