अमेरिकी सरकार बन्द चौथो हप्तामा प्रवेश- खुल्ने सङ्केत देखिएन
अमेरिकी सरकार आंशिक बन्द भएको तेस्रो हप्ता पुरा भई चौथो हप्तामा लागेको छ । चौथो हप्ता लागे सँगै यो इतिहासकै सबभन्दा लामो सरकार बन्द हुन पुगेको छ । यस अघि १९९५-९६ को अमेरिकी सरकार बन्द २१ दिन सम्म चलेको थियो ।
यस बिच ट्रंपले राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकामा "मुटु र आत्माको सङ्कट" रहेको बताउँदै मेक्सिकोको सीमामा पर्खाल बनाउनै पर्ने औचित्य पुष्टि गर्न प्रयास गरेका छन् । उनले सम्बोधन सकेको केही मिनेटमै डेमोक्र्याटिक पार्टीका नेताहरूले यो ट्रंपले निर्माण गरेको व्यक्तिगत सङ्कट भएको जनाउँदै पर्खाल बनाउन पैसा दिन नसकिने स्पष्ट पारेका छन् । उता ट्रंपले पर्खालको लागि ५.७ बिलियन डलर नछुट्टाए सम्म काँग्रेसले ल्याउने बजेटमा हस्ताक्षर नगर्ने जनाएका छन् ।
आंशिक सरकार बन्दले करिब आठ लाख कर्मचारी प्रभावित भएका छन् भने उनीहरूको सेवाबाट आम अमेरिकी नागरिकहरू वञ्चित हुने अवस्था सिर्जना भएको छ । विमानस्थलमा जाँच गर्ने कर्मचारी काममा नआउँदा कतिपय फ्लाइट स्थगित गर्नु परेको छ भने पार्कहरूमा फोहोर उठाउन नसक्दा रोग फैलिने चिन्ता बढ्न थालेको छ ।
एकातिर डेमोक्र्याट पार्टीका नेताहरू एक पेनी पनि ट्रंपको पर्खाल बनाउन दिन तयार छैनन् भने राष्ट्रपति ट्रंप सङ्कटकाल लगाएर भए पनि पर्खाल बनाएरै छोड्ने रणनीतिमा देखिन्छन् । अति दक्षिणपन्थी रिपब्लिकन पार्टीका नेता र दक्षिणपन्थी पत्रकारहरूको दबाबमा परेर ट्रंपले यस्तो अडान जारी राखेका छन् । नत्र मेक्सिकोले पैसा तिर्ने भनेर पर्खाल निर्माण गर्न पैसा दिइएन भनेर सरकारका अन्य अङ्गहरू समेत बन्द गर्नु जायज देखिन्न ।
थुप्रै प्रयासका बाबजुद यो बन्द अरू केही समय लम्बिने त्रास आम अमेरिकीहरूमा फैलिएको छ ।
सन् २०३० भित्र अमेरिकामा कार्बन डाइअक्साइडको विसर्जन शून्यमा झार्ने महत्वाकांक्षि योजना बोकेको न्यु ग्रिन डिलले वाशिंगटनमा हलचल
सन् २०३० भित्र अमेरिकामा कार्बन डाइअक्साइडको विसर्जन शून्यमा झार्ने महत्वाकांक्षि योजना बोकेको 'न्यु ग्रिन डिल'ले वाशिंगटनमा राजनीतिक हलचल उत्पन्न गरेको छ।
न्युयोर्कबाट अमेरिकाको प्रतिनिधिसभामा निर्वाचित ओस्कारियो कोर्टेजले प्रस्तुत गरेको न्यु ग्रिन डिल नामक यो प्रस्तावले अमेरिकामा यति बेला तहल्का मच्चाएको हो ।
सन् २०३० भित्र कार्बन डाइअक्साइड को विसर्जन शून्यमा झार्ने उनको प्रस्ताव महत्वाकांक्षि योजना कसरी सम्भव होला भन्ने तर्क बितर्क समेत सुरु भएको छ । प्रस्तावक कोर्टेजले भने यो निकै कठिन भए पनि असम्भव नभएको र नगरी नहुने भएकोले अमेरिकाले यसमा नेतृत्व लिनु पर्ने जोडदार तर्क अघि सारेकी छिन ।
अहिलेको प्रतिनिधिसभामा सबभन्दा कान्छी सदस्य कोर्टेजको उमेर जम्मा २८ वर्ष छ ।
पृथ्वीको तापक्रम बढ्दै छ । त्यसको कारण विभिन्न खाले प्राकृतिक विपत्ति पनि बढ्दै छन् । सोही गम्भीरता लाइ ध्यानमा राख्दै अमेरिका लगायत बायुमंडलमा अत्यधिक ग्याँस विसर्जन गर्ने देशहरूको नेतृत्वमा पेरिस सम्झौता भयो । २०१५ को डिसेम्बरमा १९५ देशहरूले उक्त सम्झौतामा हस्ताक्षर गरे । २०१६ को नोभेम्बरमा लागु हुनुपर्ने उक्त सम्झौता २०१६ कै नोभेम्बरमा बायुमंडलमा हुने परिवर्तनलाई मान्छेको गतिविधिको कारण हो भन्ने नठान्ने व्यक्ति अमेरिकाको राष्ट्रपति हुन पुगे । फलस्वरूप अमेरिका त्यो सम्झौताबाट बाहिरियो ।
अमेरिकी राष्ट्रपति ट्रंप जलवायु परिवर्तनमा मान बको भूमिका छैन भनेर जति तथ्य रहित कुरा गर्न खोजे पनि अमेरिकाको जलवायुमा धेरै परिवर्तन आएको छ । त्यसको कारण दैवी विपत्ति डरलाग्दो रूपमा बढेको छ । पछिल्ला वर्षहरूमा समुद्री आँधी, बाढी र आगलागी जस्ता प्राकृतिक विपत्तिहरू ह्वात्तै बढेका छन् । ९९% वैज्ञानिकहरू जलवायु परिवर्तन डरलाग्दो रूपमा बढिरहेको कुरामा सहमत छन् । त्यो मात्र होइन केही राजनीतिक नेताहरू बाहेक अधिकांश अमेरिकीहरू जलवायु परिवर्तन समस्याको रूपमा रहेको मान्छन् ।
जनसङ्ख्याको आधारमा भन्ने हो भने अमेरिका कार्बनडाइ अक्साइड सबभन्दा बढी विसर्जन गर्ने राष्ट्रहरूमा तेस्रो हो । तर अमेरिकाका पुरातनवादी सोच भएका व्यक्तिहरू यसलाई मान्न तयार छैनन् । जलवायु परिवर्तन र यसबाट भइरहेका प्राकृतिक विपत्तिहरूलाई "प्रभुको लीला" भन्दै उनीहरू यसलाई नजरअन्दाज गर्छन् ।
यी पुरातनपन्थीहरुको नेतृत्व रिपब्लिकन पार्टीले गर्छ । सरकारी स्तरबाटै पहल हुनुपर्ने यस्तो काममा राष्ट्रपति र सिनेटमा वर्चस्व रहेको रिपब्लिकन पार्टी विपक्षमा रहेकोले तत्काल अमेरिकी नीतिमा परिवर्तन आउन असजिलो देखिन्छ ।
यति हुँदा हुँदै पनि जनतामा रहेको जबर्जस्त समर्थनले रिपब्लिकन पार्टी लाइ पनि सोच्न बाध्य बनाउन सक्छ । डेमोक्र्याटिक पार्टीभित्र जलवायु परिवर्तनको मुद्दामा धेरै मतभिन्नता छैन । गतबर्ष नोभेम्बरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा करिब ४० जना प्रगतिशील उम्मेदवारहरू डेमोक्र्याटिक पार्टीको टिकेटबाट निर्वाचित भएका छन् । जसले प्रतिनिधिसभाबाट केही महत्त्वपूर्ण नीतिहरू पारित गर्ने जनाएका छन् । जसमध्येको एक जबर्जस्त प्रस्ताव प्रस्तुत गरिएको छ जसको नाम "ग्रिन न्यु डिल" राखिएको छ ।
नवीकरणीय ऊर्जा अहिलेको आवश्यकता हो । यसले मानवीय स्वास्थ्यमा सुधार, राष्ट्रिय सुरक्षामा मद्दत र रोजगारी सिर्जनामा समेत सहयोग गर्छ । यो कोइला भन्दा सस्तो, सफा र सुरक्षित समेत हुन्छ । यसको बेवास्ता गर्दै ट्रंप प्रशासनले वातावरणमा कार्बनडाइ अक्साइड विसर्जन कम गर्न निर्माण गरिएका थुप्रै कानुनहरू खारेज गरिदियो । तर अब कारखानाहरूले सरकारी सुविधा वा करमा छुट लिन चाहेमा कमभन्दा कम प्रदूषण फैलाउने तर्फ काम गर्नु पर्ने गरी नियम बनाउनु पर्छ । जुन कुरा यो ग्रिन न्यु डिलमा छ । यसले नयाँ नयाँ प्रविधिको प्रयोगलाई जोड दिनेछ ।
यदि यो प्रस्ताव पारित भयो र कानुनको रूप लिन सक्यो भने अमेरिकाको ऊर्जा क्षेत्रमा देखिएको समस्या सदाका लागि हल हुनेछ । नवीकरणीय भएकोले सस्तो हुनेछ जसले बिजुलीको बिल कम हुनेछ । बिजुली, पानी, यातायात र अन्य क्षेत्रमा समेत नवीकरणीय ऊर्जाको प्रयोग हुने भएकोले वातावरण त सफा हुने नै छ, खर्च समेत कम हुने हुनाले अन्त्यमा सबै अमेरिकीहरू यो प्रस्ताव पारित गर्न सकारात्मक हुने आशा गर्न सकिन्छ ।
पहिलो हिन्दु सांसद तुलसी गब्बार्ड राष्ट्रपति पदमा लड्ने:
हवाई राज्यबाट अमेरिकाको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तुलसी गब्बार्डले २०२० मा हुने रास्ट्रपतिय निर्वाचनमा डेमोक्र्याट पार्टीबाट उम्मेदवार हुने घोषणा गरेकी छिन ।
उनी हाल काँग्रेसको विदेश मामिला हेर्ने समितिमा छिन । उनी इराक युद्धमा समेत सामेल भएकी थिइन । गब्बार्ड अमेरिकी काङ्ग्रेसकी पहिलो हिन्दु सदस्य पनि हुन् ।
मैले राष्ट्रपति पदमा उम्मेदवार हुन धेरै कुराले निर्णायक भूमिका खेलेको छ, उनले भनेकी छिन । अमेरिकी जनताले धेरै समस्या झेलिरहेका छन् र तिनलाई समाधान गर्न सहयोग गर्न चाहन्छु । स्वास्थ्य, अपराध सम्बन्धी न्याय प्रणाली र जलवायु परिवर्तन जस्ता समस्याहरूको बारेमा मलाई धेरै चासो र चिन्ता छ, आफ्नो उम्मेदवारीको कारण बारे उनले स्पष्ट पारेकी छिन ।
गब्बर्ड डेमोक्र्याटिक पार्टी भित्र प्रगतिशील धारको प्रतिनिधित्व गर्छिन् । २०१६ मा डेमोक्र्याटिक पार्टीको प्राइमरीमा बर्नी स्याण्डर्सलाइ समर्थन गरेकी थिइन । अमेरिकाले कुनै पनि देशलाई कुनै खालको हस्तक्षेप गर्नु हुँदैन भन्ने विचार राख्ने गब्बार्डले संसद्मा हस्तक्षेप-विरोधी प्रस्ताव संसद्मा दर्ता गराएकी छिन । त्यस्तै सिरियाका राष्ट्रपति बसरअलि असादलाइ भेटेको भनेर आलोचित समेत भइसकेकी छिन ।
गब्बार्डको उम्मेदवारी घोषणा सँगै डेमोक्र्याटिक पार्टीबाट दुई जना महिला उम्मेदवार मैदानमा ओर्लिएका छन् । अघिल्लो हप्ता मात्र म्यासच्युसेट्सकि सिनेटर एलिजाबेथ वारेनले आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान सुरु गरिसकेकी छिन ।