हामी विदेशीसँग परिचय गर्दा भन्छौ, ‘आई एम फलानो एण्ड फ्रम नेपाल।’ अथवा ‘ह्वेर आर यू फ्रम’ भनेर सोध्दा भन्छौं- फ़्रम नेपाल।
धेरैले नेपाल भन्दा बुझ्दैनन्। नबुझेर कि त फेरि सोध्छन् या त अनुमान लगाउँदै भन्छन्, ईन्डिया?, अन्य कुनै देश।
यस्तो जवाफ दिँदा निकै दुःख लाग्छ। कहिलेकाँही रिस उठेर आउँछ। तर जे जस्तो परिस्थितिमा पनि उनीहरूलाई बुझाउन सजिलै हुन्छ।
उनीहरूलाई सजिलै बुझाउने आधारहरूमा माउण्ट एभरेष्ट र बुद्धको जन्मस्थल र गोर्खाज्। यति भनेपछि उनीहरूलाई थप व्याख्या गरिरहनुपर्दैन, उल्टै गौरवले छाति चौडा बन्ने परिस्थिति बन्छ।
पछिल्लो समय भने भूकम्पका कारण पनि धेरैले नेपाललाई चिन्न थालेका छन्।
पूर्वराजा महेन्द्र शाह र वीपी कोईरालालगायतका व्यक्तित्वको भ्रमणले पनि केहीले नेपाललाई चिन्ने गरेका छन्।
विदेशमा बसेर नेपाल चिनाउने काममा अमेरिकालगायत विभिन्न देशहरूमा खोलिएका नेपालका लागि काम गर्ने दूतावास, नियोग र वाणिज्यदूतावासहरू त्यति प्रभावकारी देखिदैनन्। पर्यटनदूत पछिल्लो पटकको सबैभन्दा फेलियर आईडियामा गनिन्छ।
यी भूमिकामा रहेका करार तथा स्वयंसेवक कर्मचारीहरूले नेपालबाट आउने भिओआईपीहरूलाई सेवा गर्ने र बाँकी विचारमिल्ने राजनीतिसँग ‘टाइमपास’ गर्ने मात्र देखिएको छ।
कार्यक्षेत्र भित्र पर्ने जनताको सेवामा समेत प्रभावकारी हुन नसकेको उनीहरूको भूमिका कहिलेकाँही भ्रष्टाचारलगायतका कुरामा विवादमै सिमित हुने गरेको छ।
नेपाल सरकारले व्यवस्था गरेको नोकरी र बजेटमा भएका उनीहरूभन्दा धेरै विदेशमा बस्ने नेपालीहरूको व्यक्तिगत सफलताले नेपाललाई चिनाउने गरेको पाईन्छ।
यसैक्रममा अब नेपाललाई चिनाउनुपर्ने अर्को आधार बनेको छ ह्यारी भण्डारीको अमेरिकी मूलधारको राजनीतिमा प्रवेश।
मेरिल्यान्ड राज्यको डिस्ट्रिक ८ बाट डेलिगेट्समा बिजयी ह्यारीले गत बुधवार सपथ खाएका छन्। यससँगै पहिलो नेपालीको दर्जमा अमेरिकी संसदमा पुगेका उनले नेपालको चिनारीलाई थप प्रभावकारी वनाउने विश्वास गरिएको छ।
अघिल्लो पटकको असफलतालाई चिर्दै यसपटक डेलिगेटमा बिजयी उनले अमेरिकी सदनमा पहिलो पटक पहिलो व्यक्ति बनेर नेपाल चिनाउँनेछन्। राजनीति एउटा यस्तो कुरा हो जसले पहिलो अर्थात मथिल्लोस्तरको प्रभाव पार्नसक्छ।
छिटो र धेरैलाई प्रभाव पार्ने राजनीति क्षेत्रबाट पनि अब नेपाललाई चिनाउने हामीलाई सौभाग्य मिलेको छ। ह्यारिको यो जीत उनको मात्रै भएन नेपाल र सम्पूर्ण नेपालीका लागि भयो । अब उनी एक्लै अमेरिकी सदनभित्र छिर्ने छैनन्। उनीसँगै नेपाल छिर्नेछ।
निर्वाचन भएपछि उनले नेपाली समुदायमाझ पुगेर भनेका छन्, ‘नेपाल र नेपालीको विषयमा आफूलाई समर्पित गर्नेछु । मेरो पदले मेरा मतदाताहरूको काम गर्ने जिम्मेवारी दिएको छ तर यससँगै नेपाल र नेपालीप्रतिको मेरो कर्तव्य पुरा गर्नेछु।’
उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रबाट नेपाल र नेपालीहरूलाई सहयोग गर्ने बचन दिएका छन् ।
त्यसो त उनलाई मतदान गर्ने उनको निर्वाचन क्षेत्रमा मतदाताहरूमा नेपालीहरूको संख्या न्यून छ। जानकारी होस अमेरिकी निर्वाचनमा मतदान गर्न अमेरिकी नागरिकता लिएको व्यक्ति हुनुपर्छ। तर, अमेरिकाभरी रहेका नेपालीहरूले उनको चुनावी दौडका वेला धेरै सहयोग गरेका छन्।
विभिन्न राज्यमा कार्यक्रम आयोजना र आर्थिक संकलन गरेर ह्यारीको जीत सम्भव भएको हो। यस पटकमात्र होईन यसअघि पनि उनलाई यहाँका नेपालीहरूले सहयोग गरेका थिए। तर, अमेरिकी मूलधारमा त्यो पनि राजनीतिमा प्रवेस गर्नु सामान्य कुरा थिएन। पहिलो पटक हार व्यहोरेका ह्यारिलाई पछिल्लो पटक सफलता मिल्यो। यो सफलता अब उनको मात्र नभई सम्पूर्ण नेपालीको सफलता वनेको छ।
यसअघि राजनीतिक क्षेत्रबाट अमेरिकी मूलधारको दौडमा होमिएर जर्जियाका अमृता रेग्मी, सियाटलका दर्शन रौनियार, डिसीमेट्रोका जीवन तिवारीलगायतको असफल प्रयासपछि ह्यारीको यो सफलताको विजारोपन भएको छ।
अन्य मूलुकको तुलनामा नगन्य संख्यामा अमेरिकी मूलधारको व्यवस्थामा पुग्ने नेपाली भाषीहरूमध्ये टाउन अफ ईन्डियाना हेडका उपमेयर किरण सिटौला, पूर्वराष्ट्रपति बराक ओवामाका एसियन अमेरिकन प्यासिफिक आईल्यान्डरका राजनीतिक सल्लाहकार संजिता प्रधान, हरि शर्मा जस्ता औलामा गन्नसकिने व्यक्तित्वहरूले नेपाल र नेपालीहरूको चिनारीको भूमिकामा महत्वपूर्ण योगदान दिएका छन्।
हालै निर्वाचित भर्जिनियाको हर्नडन टाउन काउन्सिल म्यान प्रदिप ढकाल, भर्जिनियाकै मनाससस्थित हेमार्केट टाउन काउन्सिल म्यान र न्युह्यामसायरबाट स्टेट रेप्रिजेन्टेटिभमा चुनाव लडेकी मदलसा गुरूड, सियाटलबाट एसिया प्यासेफिक अमेरिकन अफयेर्सका कमिसनर्स मोहन गुरूड लगायत केही नेपालीभाषीले पनि नेपालको परिचय र प्रतिष्ठामा टेवा पुर्याएका छन् ।
अबको हाम्रो परिचयलाई फराकिलो दायरामा पुर्याउने प्रयास ह्यारीको अमेरिकी संसदमा भएको प्रवेशले गरिदिएको छ।
संसारमै शक्तिशाली राष्ट्रको रुपमा चिनिने अमेरिकी मूलधारको व्यवस्थामा पुगेका उनीहरू लगायत संसदमा पुगेका ह्यारीले नेपाललाई उत्तिकै शक्ति खर्चेर चिनाउने छन्।