संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय कार्यालयहरू आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताएका छन्।
बजेट अभावमा धेरै वटा अमेरिकी सङ्घीय कार्यालयहरू बन्द भएको आज २३ दिन पुगेको छ। राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न माग गरेका करिब ६ अर्ब अमेरिकी डलर बजेट संसदले पारित नगरे बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आएका छन्।
तर, अमेरिकी तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्रयाट पार्टीले पर्खाल निर्माणका लागि राष्ट्रपतिले माग गरेका रकम कुनै पनि हालतमा पारित गर्न नसक्ने बताएका छन्।
उनीहरूले पर्खाल निर्माणको कार्य ‘अनुत्पादक र खर्चिलो’ भन्दै मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीबाट अमेरिकाको आन्तरिक सुरक्षामा कुनै खतरा नरहेको दाबी गरिरहेका छन्।
राष्ट्रपति ट्रम्पले भने मध्य अमेरिकी मुलुकबाट अमेरिका प्रवेश गरेका आप्रवासीका कारण अमेरिकाको आन्तरिक सुरक्षामा ठूलो खतरा रहेको बताउँदै आएका छन्। उनले मध्य अमेरिकाबाट लागुऔषध भित्रिएको, हत्याहिंसा बढेको, सामाजिक विकृति र विसंगति बढेको आरोप लगाउँदै आएका छन्।
आपतकालीन स्थिति घोषणा गरी बजेट छुट्याउन किन ढिलाइ गरेको भनी फक्स न्यूजले राखेको जिज्ञासामा राष्ट्रपति ट्रम्पले भने, ‘म विपक्षी डेमोक्रयाट पार्टीका सांसदलाई अझै केही समय दिन चाहन्छु। मेरो विचारमा उनीहरूले अवश्य जिम्मेवारीका साथ निर्णय लिनेछन्।’
अमेरिकामा सङ्घीय कार्यालयहरू बजेट अभावमा यति लामो अवधिसम्म बन्द भएको यो पहिलो घटना हो।
अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा सन् १९९५–९६ मा २१ दिनसम्म अमेरिकी सङ्घीय कार्यालयहरू बन्द भएका थिए ।
राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्ताव ठीक रहेको भन्दै शनिबार धेरैपटक ट्वीट गरेका थिए। दक्षिणी सीमामा जारी ठूलो मानवीय सङ्कट अन्त्य गर्न पनि बजेट आवश्यक रहेको उनको भनाइ छ।
‘डेमोक्र्याट सांसदहरूले यो समस्या १५ मिनेटमा सुल्झाउन सक्छन्,’ उनले एउटा ट्वीटमा भनेका छन्। लगत्तै अर्को ट्वीटमा उनले भने, ‘डेमोक्रयाट साथीहरूलाई पर्खेर हामी ह्वाइट हाउसमा बसेका छौं। हामी पनि लामो छुट्टीमा जान चाहन्छौं। म पर्खालसहितको बजेटमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा प्रतिक्षारत छु।’
बजेट स्वीकृत नभएको परिणामस्वरूप आठ लाख कर्मचारी तलबविहीन भएका छन्। बजेट अभावमा सङ्घीय जाँच ब्यूरो, एयर ट्राफिक कन्ट्रोलर र सङ्ग्रहालयमा कार्यरत कर्मचारीले शुक्रबार तलब पाएनन्।
ह्वाइट हाउसमा शुक्रबार भएको एक बैठकमा राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘यदि डेमोक्रयाटले बजेट पारित नगर्ने हो भने म राष्ट्रिय आपतकाल घोषणा गर्नेछु। मसँग त्यस्तो घोषणा गर्ने पूर्ण अधिकार छ।’
ट्रम्पले उक्त कदम आफ्नै लागि घातक हुने थाहा पाउनु भएको छ किनभने त्यस्तो कदमविरूद्ध सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चित छ। विपक्षी डेमोक्रयाट पार्टीले राष्ट्रपतिबाट बिना आधार आपतकाल घोषणा गरिए त्यो राष्ट्रपतिबाट संविधान उल्लङ्घनको घटना हुने बताउँदै आएका छन्। (रासस/एएफपी)