अमेरिकाको मध्य तथा पूर्वी भूभागमा आएको हिमआँधीका कारण यो समाचार तयार पार्दासम्म १० जनाको मृत्यु भएको छ भने करोडौँ अमेरिकनहरूको जीवन अस्तव्यस्त भएको छ।
मृत्यु हुनेमा इलोनोइस राज्यका राज्य प्रहरीसमेतछन्। राजमार्गमा भएको एक दुर्घटनालाई उद्धार गर्न जाने क्रममा विपरीत दिशाबाट आएको अर्को सवारीसाधन आफ्नो नियन्त्रण गुमाए पछि उक्त दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिम आँधीका कारण राजमार्गहरू हिउँले भरिएकाले सयौँ दुर्घटनाहरू भएको प्रहरीले जनाएको छ।
अमेरिकाका मिजौरी, कान्सास, आयोवा, इलिनोईस, इण्डियाना, ओहायो, भर्जिनिया, मेरील्याण्ड, र डिसी क्षेत्रहरूमा भएको उक्त हिमपातका कारण स्थानीय विद्यालयहरू, कलकारखाना बन्द हुनुका साथै सयौँ हवाई उडानहरुपनि स्थगित भएका छन्।
हिम आंँधीका कारण बन्द भएको बिजुलीको आपूर्तिका कारण कान्सासदेखि डिसी क्षेत्रसम्म लाखौँ घरहरूमा बत्ती छैन जसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।