न्यूयोर्क धेरैका लागि सपनाको नगरी हो। तर, मेरा लागि यो गाउँ नै हो। यहाँ गाउँमा झै हल्ला चल्छ, कुरा काट्ने गरिन्छ र स्नेह पनि बाँडिन्छ।
न्यूयोर्कमा म गाउँ खोज्ने गर्छु। त्यसैले म भित्र नेपालबाट आउने सबै नेपालीलाई भेट्ने आतुरता रहन्छ। तर, म त्यस्ता मान्छेलाई भेट्दिन जसले आफ्नो कथित विद्यता र ब्यक्तित्वद्वारा तर्साउन खोज्छन्, उनीहरूबाट विकर्शीत हुन्छु।
जनवरीको महिना न्यूयोर्कमा चिसोको बयान गरिरहनु पर्दैन। माघि अर्थात मकर सक्रान्ती आइरहेकाले मलाई नेपालको कैलालीकै गाउँको याद आइरहेको थियो। न आओस पनि कसरी, त्यहाँ माघीको रौनक नै अलग हुन्थ्यो।
बंगुरको मासुसँग ढिग्री खाएको स्वाद त छँदै छ, मेरा थारू समुदाएका मित्रको आतिथ्यता मैले भुलेको छैन। माघीले पीडा पनि दिने गर्थ्यो। तर, कमैया प्रथाको अन्त्य सँगै मेरो पीडा पनि अन्त्य भईसकेको थियो।
माघी सुन्दर पर्व हो। बाध्यता र परिस्थितिले आफू नेपालमा नरहेपनि कहिले काही समयले खुसीका पल उपहारस्वरुप दिँदो रहेछ। यस्तै पल जीवनभरका लागि पर्याप्त हुन्छ।
मैले न्यूयोर्कस्थित स्ट्रेटमा रहेको रेस्टुरेन्टमा मैले यस्तै पल विताउने मौका पाएँ। माघी मनाउन न्यूयोर्कको ७७ स्ट्रीट ज्याक्सन हाईटस्थित व्याम्वो रेस्टुरेन्ट पुगेको थिएँ। त्यहाँ केही खानेकुरा अर्डर गर्दै थिएँ।
मेरो नजर नजिककैको टेबलमा पर्यो। नचिन्ने कुरै थिएन। तीन हस्ती अत्यन्त साधारण तरिकाले बसेका थिए। उनीहरूमा आफूप्रति ध्यान आकृष्ट पार्ने इच्छा देखिदैन थियो। मानौं प्रसिद्धी ‘स्टार्डम’ को अर्थ बुझिसकेका थिए।
म उहाँहरू बसेको टेबलमा गएँ। तीनै जनालाई नमस्कार गरेँ। उहाँहरूले हार्दिकतापूर्वक नमस्कार फर्काउनुभयो।
शिव श्रेष्ठ नेपालका पहिलो सुपर स्टार हुन्। यसो भन्दा कसैलाई आपत्ती नहोला। जीवन रेखा, चिनोलगायत दर्जनौं नेपाली चलचित्रमा काम गरेका श्रेष्ठको जीवन्त अभिनय शैलीले नेपालमा मात्र नभएर पाकिस्तानमा पनि ठूलो स्टार बन्न पुगे।
अहिलेको पुस्ताले उनलाई बिर्सन खोजे झै लाग्छ। तर, शिव दाइको सोच भने यस्तो रहेनछ। उहाँले जे भन्नुभो, त्यसबाट उहाँलाई हेरि रहुँझै लाग्यो।
‘दिवाकर, म कलाको सेवा गर्न जन्मिएको हुँ। हो नाम र दाम मलाई पनि चाहिन्छ, मैले पाए पनि। तर, मलाई त्यस्तो लाग्दैन। सधैं रहने त मेरो काम मात्र हो,’ उहाँले भन्नुभयो।
यसै क्रममा उहाँले मलाई अंगालो हाल्नुभयो। मैले विदेशी भूमीमा नेपालको न्यानोपन पाएँ। कुरै कुरामा उहाँले भन्नुभयो, ‘मेरो सबै फिल्म बिर्सिए हुन्छ केवल कान्छीलाई याद गरिदिए पुग्छ।’
बिचमै कृष्ण मल्ल दाइले भन्नुभयो, ‘कान्छी जस्तो फिल्म खेल्न भाग्य लिएर जन्मनुपर्छ।’
मैले कुरा अगाडि बढाउँदै भने, ‘शिव दाई तपाईँ उच्च कोटीको अभिनेता मात्र होइन नर्तकसमेत हो। तपाईँको नाचको विशेषता के भने तपाईँ नाछेपछि तपाईँले शरीर मर्काएझैं गरी नाच्ने रहर ममा पनि जाग्थ्यो। अझै पनि छ।’
शिव दाइ फेरि हाँस्नुभयो। उहाँको हासोमा बाल निश्चलता थियो। यस पटक मैले यस महान कलाकार सामू हात जोडेँ। उहाँले मेरो हात समात्नु भयो। मलाई लाग्यो एक महान कलाकार बन्न पनि मन महान हुनुपर्दो रहेछ।
यसो भनिरहँदा नजिक भद्र मुद्रामा बस्नुभएकी शर्मिला मल्ल दिदी मुसुमुसु मुस्कुराउँदै हुनुहुन्थ्यो।
उनी त्यही शर्मिला दिदी थिइन्। जसले परम्परागत सुन्दरताको परिभाषा तोड्दै ‘क्लासिकल नेपाली व्यूटी’ अर्थात शास्त्रीय नेपाली सुन्दरीको तस्बिर नेपाली जनमानसमा निर्माण गरिन्।
दिदीको कथन पनि उस्तै थियो- कान्छी फिल्म, फिल्म मात्र होइन अनुभव हो। भुल्नै नसक्ने सुन्दर अनुभव। ’
नेपाली ग्रामीण चेलीको चरित्रलाई शायद शर्मिला दिदीले मात्र पर्दामा जीवन दिन सक्थिन त्यसैले निर्देशक बि एस् थापा र निर्माता भगवान दास श्रेष्ठले उनलाई यस भूमिकाका लागि चुनेका थिए।
कुराकानीकै क्रममा कान्छीको लोकप्रियताबारे जिज्ञासा राखेँ। मैले जे सुन्न पाएँ त्यसमा वास्तविकता बाहेक केही थिएन।
नेपालीचेलीकोपीडा
कान्छी निर्माण भएको ३४ वर्ष भईसक्यो। नेपाली महिला राष्ट्रको उच्चतम् पदमा पुगिसकेका छन्। तर, असंख्य नेपाली चेली अहिले पनि महिला हिंशा र बेचबिखनको सिकार हुन बाध्य छन्।
महिलाको अवस्थामा ‘प्रतिकात्मक’ सुधार भए पनि शोषणयुक्त जग भने उस्तै छ। ‘कान्छी’ ले यही शोषणको कारक तत्वका बारेमा बोल्छ। उमेर पुगेपछि बिहे नै गर्नुपर्ने बाध्यता मानौं कुनै ‘फल पाकेपछि बेच्नैपर्ने सोँचको’ यथार्थ चित्रण कान्छीले गरेको छ।
केटाकेटीको जात कुल हेर्नैपर्ने हाम्रो समाजको मानसिकता फिल्ममा चित्रित गरिएको छ। मुलत : यो नारीवेदनाको कथा हो।
अमरप्रेमकोअतिसरलचित्रण
कान्छी एउटा अमर प्रेम र समर्पणको कथा हो। फिल्मले प्रेमको अर्थ खोज्ने प्रयास गरेको छ। यसमा मसला नभएको होइन। तर, यसमा मानवीय संवेदना भरपुर थियो। त्यसैले करोडौंको मन छुन सफल भयो। ‘#मीटू’ को युगमा यो प्रेम कथा उदाहरणीय छ।
पोखरानेपालकोआत्मा
फिल्ममा प्रवासी नेपाली आफ्नो माटोको सुगन्ध खोज्दै पोखरा पुग्छ। कलकल बग्ने नदी र झरझर झर्ने झरनाले सजिएको पोखराको सुन्दरताको बखान गर्ने चलचित्र यो भन्दा पहिले शायदै बनेको थियो। यो चलचित्रले ‘पोखरा नेपालको आत्मा हो’ भन्ने स्थापित गरेको हो।
मिठासपूर्णसंगीत
स्वरसम्राट नारायण गोपाललगायत प्रकाश श्रेष्ठ, बिमला राई र अरूणा लामाको स्वरमा रहेका दमदार गीतहरू ‘हिमालसरी म अग्ली रहेछु...’, छोरीको जन्म....’, ‘कान्छी हे कान्छी...’, पिरतीको बोलीमा मेरो मन बस्यो तिम्रै बोलीमा...’ गीतले फिल्मलाई संगीतमय मात्र बनाएन मन र मस्तिस्कलाई उद्देलित पारिदियो। यसमा गोपाल योन्जनले संगीतको जादु चलाएका थिए।
हाम्रो छलफल गहन थियो। तर, क्लिस्ट थिएन। यही विशेषता हो नेपालका छोरा/ छोरी शिव श्रेष्ठ र शर्मिला मल्लको।
बिदा लिने बेला भईसकेको थियो। शिव दाइको सरलता र सादगी कृष्ण मल्ल दाइको बेबाक स्टाईल हेरेर न बोलिरहन सकिनँ।
मैले शिव दाइ र शर्मिला दिदीलाई भने- मेरो बाजे बुढेशकालमा फिल्म भनेपछि घृणा गर्नु हुन्थ्यो। तर, कान्छी तीन पटक स-परिवार हेर्न जानु भएको थियो। शिव दाइले पुनः अंगालो मार्नुभयो। मेरा आँखा रसाए। मैले मनमनै भने - कान्छी त मेरो मुना र मदन थियो।
अन्त्यमा यस पंतिकारलाई थुप्रैले भने देशको राजनीतिसँग सम्बन्धित विषयमा टिप्पणी गर्न सुझाएका थिए।
तर मलाई नेपालको राजनीतिभन्दा कला साहित्य, संगीत र आफूजस्ता साधारण मानिसको बारेमा लेख्दा समाज देशसँग जोडिएझैं लाग्छ।
त्यसैले म जे देख्छु, जे हो त्यही लेख्छु। कान्छी कुनै राजनीतिक फिल्म होइन। तर, सामाजिक सोच, र मानवीय भावनामाथिको ‘सफ्ट्कोर राजनीतिक’ अभिब्यक्ति नै हो।
‘कान्छी’ ले गीतमार्फत छोरीको जन्म हारेको कर्म भन्दै राष्ट्रको बिवेकलाई घोचेको छ। हो, छोरीको जन्म हारेको कर्म हुनै सक्दैन। कान्छीले यही भनेको छ। जसले राष्ट्रको विवेकलाई घोच्छ त्यो गैर राजनीतिक कसरी हुन्छ।