काँग्रेससँगको कुराकानीमा झुटो बोल्न माइकल कोहेनलाइ ट्रंपले आदेश दिएको खुलासा:
जनवरी १६ मा अमेरिकाको सञ्चारमाध्यमहरू व्यस्त भए । कारण थियो बजफ़ीड नामक अनलाइन सञ्चार माध्यमले प्रकाशित गरेको समाचार । उक्त पत्रिकाका संवाददाताहरू जेसन लियोपोल्ड र एन्थोनी कोर्मियरले राष्ट्रपति डोनाल्ड ट्रंपले आफ्ना वकिल माइकल कोहेनलाइ सांसदहरूसँगको कुराकानीमा मस्कोमा निर्माण गर्ने योजना रहेको ट्रंप टावर सम्बन्धी कुरा लुकाउन आदेश दिएको कुरा सार्वजनिक गरे ।
तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन भने जनवरी १७ मा स्पेसल काउन्सिलको कार्यालयबाट उक्त समाचारको केही अंश सत्य नभएको भन्दै प्रतिक्रिया समेत व्यक्त गरिएको छ । बजफ़ीडले भने आफ्नो समाचार सत्य भएको भन्दै स्पेसल काउन्सिलले खास कुन कुरामा विमति जनाएको हो खुलाउन अनुरोध गरेको छ ।
डोनाल्ड ट्रंपले पटक पटक आफ्नो रसियासङ कुनै खालको आर्थिक सम्बन्ध नरहेको विचार व्यक्त गरे पनि सन् २०१६ जुन सम्म पनि ट्रंप अर्गनाइजेसनले मस्कोमा ट्रंप टावर निर्माण गर्न लविङ्ग गरिरहेको स्पष्ट भैसकेको छ । करिब ३०० मिलियन डलरको फाइदा हुने स्थिति रहेको उक्त परियोजनामा ट्रंप लामो समय देखि लागिपरेका थिए ।
रसिया र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँगको ट्रंपको ब्रोमान्समा पनि उनको रसियालाई खुसी पार्न यसो गरेको भन्ने आरोप लागेको छ ।
यो रिपोर्टिंग सँगै क्यापिटल हिलमा तरङ्ग समेत उत्पन्न भयो । डेमोक्र्याट पार्टीका प्रभावशाली नेताहरूले यदि यो कुरा सत्य भएमा ट्रंपले या त राजीनामा दिनु पर्ने या त काँग्रेसले महा अभियोग लगाउनु पर्ने समेत विचार व्यक्त गरे ।
ट्रंपले संसद्को संयुक्त सभालाई सम्बोधन गर्न नपाउने:
प्रतिनिधिसभा कि सभामुख नेन्सी पेलोसीले जनवरी १५ मा एक पत्र लेख्दै सरकार आंसिक बन्द भएको अवस्थामा सुरक्षा संवेदनशीलता देखाउँदै जनवरी २९ मा राष्ट्रपतिले गर्ने गरेको सिनेट र प्रतिनिधिसभाको संयुक्त सभा (स्टेट अफ द युनियन) लाई सम्बोधनको मिति पछि सार्न अनुरोध गरेकी छिन ।
प्रतिनिधिसभा प्रमुखको निमन्त्रणामा राष्ट्रपतिले हरेक वर्ष यस्तो संयुक्त सभालाई सम्बोधन गर्ने गर्छन् । सरकार आंशिक बन्द भएको यो अवस्थामा ट्रंपलाइ दबाब स्वरूप यस्तो पत्र लेखिएको स्पष्ट देखिन्छ ।
स्टेट अफ द युनियन १९१३ देखि सुरु गरिएको हो । अहिलेसम्म विभिन्न राष्ट्रपतिहरूले ९५ पटक यस्तो सम्बोधन गरिसकेका छन् । देशलाई एक बनाउन र फरक धारमा बहने दुई पार्टीहरूलाई एकै ठाउँमा ल्याएर देशलाई एकजुट बनाउन प्रयास गर्न यो मञ्चको प्रयोग गर्ने गर्छन् । तर ट्रंपले यो सम्बोधन आफ्नो सीमामा लगाउन खोजेको पर्खालको प्रचार गर्न तयारी गरिरहेको चाल पाएर नेन्सी पेलोसीले त्यसलाई परास्त गर्न यस्तो कदम चालेको अनुमान गरिएको छ ।
पेलोसीले ट्रंपले चाहेमा काँग्रेसलाई लिखित सम्बोधन पठाउन सक्ने वा ओभल अफिसबाट आफ्नो सम्बोधन गर्न सक्ने भन्दै सरकार नखुलेसम्म आफूले ट्रंपलाइ निमन्त्रणा नगर्ने स्पष्ट पारेकी छिन ।
ट्रंपले नेन्सी पेलोसीको भ्रमण रद्द गरिदिए:
सभामुख नेन्सी पेलोसीले पत्र लेखेर स्टेट अफ द युनियनको मिति सार्न भने पछि ट्रंपले नेन्सी पेलोसीको अमेरिकी सेनासङ भेटघाट गर्न अफगानिस्तान जाने यात्रा स्थगित गरिदिएका छन् ।
उड्न केही घण्टा बाँकी रहँदा सेनालाई ट्रंपले उक्त आदेश दिएर भ्रमण रद्द गरिदिएका थिए । पेलोसीको पत्रको बदला लिन ट्रंपले त्यसो गरेको धेरैले अनुमान गरेका छन् ।
डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभामा पकड जमाए पछि सरकार र संसदबीच द्वन्दको अवस्था सिर्जना भएको छ । त्यस माथि ट्रंप हरेक कुरालाई अत्यन्त व्यक्तिगत रूपमा लिने गर्छन् । प्रक्रिया भन्दा व्यक्तिगत सम्बन्धलाई बढी महत्त्व ट्रंपले दिने गर्छन् । यो घटना सँगै पेलोसी र ट्रंपबीच व्यक्तिगत इगो झन् गहिरो हुने र समस्याहरू झन् बल्झिने त्रास क्यापिटल हिलमा अनुमान गर्न थालिएको छ ।
यसले गर्दा करिब एक महिना देखि आंसिक बन्द रहेको अमेरिकी सरकार खुल्ने आशामा तुषारापात समेत हुन पुगेको छ ।