अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता नेता किम जोङ उनबीच आउँदो फेब्रुअरीको अन्तमा दोश्रो शिखर वार्ता हुने भएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेता किमसँग भेट्न उत्साही रहेको जनाएकी छिन्। बैठक हुने एकिन मिति र स्थान केही दिनपछि सार्वजनिक गरिने उनले बताइन्।
आधिकारिक रूपमा जानकारी नगराइए पनि दोस्रो वार्ता भियतनामको दनांग सहरमा हुने बताइएको छ।
यसअघि गत जुनमा दुई नेताबीच सिङ्गापुरमा भएको बैठकपश्चात उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकेको थियो। यही विषयमा वार्ता गर्न अमेरिका आएको उत्तर कोरियाली टोलीले शुक्रबार ह्वाइट हाउसमा गरेको उच्च स्तरीय वार्तापछि किम र ट्रम्पबीच भेट्ने सहमति भएको जनाइएको छ।