सपनाले मान्छेलाई हरेक पल बिथोल्छ । अक्सर कम अथवा सानो आकारको सपना देख्ने मेरो जीवन, एषणा, दैनन्दिनी र जिजीबिषाहरु पनि तिनै सपनाहरूकै क्रम, उपक्रम र क्रमभंगताकै सेरोफेरोमा रुमलिएको छ ।
मेरो बाल मस्तिष्क र चेतनाको आकार अनि आयतन भित्रको सपनामा कहिल्यै नपरेको तर संसारले सपना र सम्भावना भनेर मानेको सधैँ बिरानो लाग्ने उत्तर अमेरिकी भूगोलमा म यस बखत कर्महरूको जेलो गरिरहेको छु तर हरेक क्षण अनि दिन नोस्टाल्जियामा मेरो देश बाँच्ने गरेको छु । त्यस्तो पिडा अक्सर हरेक आप्रवासीहरूको भागमा पर्ने गर्दछ ।
कथाकार इन्द्र बहादुर राईले आफ्नो कथा "सपना शक्ति" मा कहीँ चित्रण अनि वर्णन गर्न नसकेको वर्गको सपना सायद मैले देखेछु, जो मेरो बाल मस्तिष्कको परिकल्पना भन्दा नितान्त बाहिरको थियो । मेरो बाल्यकाल निक्कै सुरुचिपूर्ण तर हरेक अर्थमा अरू आम मेरा उमेरवर्गकाहरुले गरेका अनि भोगेका भन्दा नितान्त फरक थिए । गुच्चा र डण्डीबियो खेल्ने चुलबुले चञ्चल उमेर वर्षहरू र बाल्यकाल मैले काका मात्र होइन ठुला बा र हजुरबा वर्गका मान्छेहरूसँग त्रि-पासा खेलेर बिताएँ ।
दौतेरीहरुसंग पाङ्ग्रा र गुच्चा खेल्न छाडेर म मानबहादुर काका र काइँला बाजेको चिया पसलमा जम्ने "चिया गफ" हरू सुन्न मै रमाउँथे । अलि समयपछि जनहित पुस्तकालय नियमित खोल्ने जागिर (जागिर यसकारणकि त्यसो गरेबापत मैले महिनाको पन्ध्र हो कि पच्चिस रुपैयाँ पाउँथे) पाएपछि म झनै उमेर भन्दा वयस्क, पाको अनि कति हदसम्म स्व-घोषित बौद्धिक पनि बनेँ ।
चिया पसलमा ठूलाबडाहरूको गफ सुन्दै अनि हो मा हो मिलाउँदै म पनि उधारो चिया खान्थे । पुस्तकालयबाट 'तनखा' थापेको दिन काइँला बाजेको खाताको मासिक बक्यौता चुक्ता गर्दाको त्यो दिन म अझै पनि सम्झन्छु । मलाई सानैदेखि अरूको लिनु र खानु निक्कै अप्ठेरो लाग्थ्यो तर हाम्रो समग्र आर्थिक स्थिति अनि हैसियत हेर्दा जस्तो देखिएपनि ठ्याक्कै त्यस्तो भने थिएन ।
दैनिक खर्च, चाडपर्व टार्नदेखि पछि काठमाडौँमा मेरो बसाई र पढाई खर्च धान्न बुबाले यताउताबाट ऋण पान गर्नु भएको जानकारी मलाई भई नै रहन्थ्यो । बाहिरबाट आवरणमा मानिसले बाटोछेउको तीन तल्ले घर देखे पनि हाम्रो आर्थिक अवस्था ठ्याक्कै मानिसले देख्ने अनि देखेको जस्तो थिएन । लालटिनमा मट्टितेल हाल्न पाँच रुपैयाँ नभएर घरमा उज्यालो समेत उधारो भित्र्याउनु परेको दारुण यथार्थ मेरो स्मृति र मानसपटलमा अझै छ ।
आर्थिक दुरुहताहरुले सायद मानिसको मनमा द्रब्यलालच पैदा गर्छ क्यारे, हामी पनि नजानिँदो गरी अरूहरूले "पैसा" कमाउने सपना बुनेका र गुथेका कुराहरू अतिरिक्त रुचिका साथ सुन्थ्यौँ ।
कर्मवीर जेठा राईदाईहरु सिजनमा पैसा कमाउन भोटाङ्ग जान्थे । हामीलाई हरेक किसिमले भरथेग गर्ने जेठा दाइ पनि अब नरहेको दु:खद समाचार अघिल्लो महिना मात्र सुनेँ । माथिल्ला गाउँका खड्का मामाहरू नागाल्याण्ड अनि डिम्मापूर पुगेर भारु आर्जन गरेका कथा लोभलाग्दो गरी वर्णन गर्थे, ती स्कुले वर्ष र उमेरहरूमा उनीहरूले पैसा कमाएको कथा सुन्दा पढ्नु पर्ने त्यो उमेरमा मेरो मनको अन्तरकुन्तर खै कता हो कता नजानिँदो गरी "द्रब्य लालच" पैदा हुन्थ्यो ।
माझ किराँतका बस्तीहरूमा सिजन आएपछि गल्लीवालको आँखा लाग्थ्यो । ब्रिटिस लाहुरे बन्ने सपना हामी किस्ताबन्दीमा देख्थ्यौँ तर गल्लीवालको आँखा परि हाल्ने रिष्टपुष्ट गठिलो आकर्षक कद र शारीरिक दक्षता भने मसँग थिएन त्यसैले होला सायद म आफ्नो शरीर र औकात नापेर उचित विकल्पहरूको खोजी गर्थेँ ।
तर कालान्तरमा आफूले कहिल्यै नदेखेको सपना अनि सम्भावनाको संसारमा मैले आफूलाई बलात अवतरण गरेँ । थुप्रै रुचिहरूलाई मैले गन्तव्य ठानेर अघि बढाए पनि कुनै कर्मको पनि तार्किक अवतरण गर्न सकिन ।
अरूहरूको कर्म अनि कमाईको कथा सुनेर हामी मुस्किलले धरान, विराटनगर, काठमाडौँ पढ्न जाने अथवा बेलायती लाहुरे भन्नेसम्मको सपना बुन्थ्यो । एक दिन मेरो मुमाले "बाबु तेरो ठुली मुमा काठमाडौँमा डाक्टर हुनुहुन्छ उहाँले तलाई पढ्न काठमाडौँ बोलाउनु हुन्छ" भन्नु हुँदा मेरो कलिलो मनको तन्नेरी सपनाले हठात् सात समुद्र तरेको थियो । मेरो पढ्ने सपनाहरूले सगरमाथा आरोहण गरेको थियो ।
केही सपनाहरूले यथार्थताको रूप धारण गरेर मेरो जीवनमा सुखद अवतरण गर्यो । सायद २०३९ साल तिन हुनुपर्छ काठमाडौँमै बसेर सङ्घर्ष गरिरहनु भएको मेरो ठाकुर काकाले मलाई हवाईजहाज चढाएर आफूसँगै काठमाडौँ ल्याउनु भयो ।
एउटा बिरानो बस्तीमा मेरो सपनाहरूको अवतरण भयो । मेरो स्तर र वर्गको मान्छेले कल्पना नै नगरेको त्यो अवसर मेरो लागि ठुलो चुनौती बन्यो ।
गाउँ र जिल्ला बसिन्जेल जे पनि गर्न मन पराउने मेरो लागि त्यो नयाँ ठाउँ निक्कै ठुलो चुनौती बन्यो । मिनभवन कलेज पढ्न सुरु गरेकै वर्ष खोइ कताबाट कसरी हो अभिनयको नशा लाग्यो । गाउँमै नियमित रातो पुस्तक पढेको मान्छे म राजनीतिको चर्को नशा र महत्वाकांक्षाले छाड्ने कुरै भनेर अनि त अखिलको बिधार्थी राजनीति जमेरै गरियो ।
गायनको हल्का सपना पनि मनबाट हटिसकेको थिएन । कलेजको भलिबल टिमको कप्तानी गर्ने जिम्मा पाएपछि त्यो कर्म पनि चटक्क छाड्न सकिन पछि राष्ट्रिय स्तरको भलिबल प्रशिक्षणमा पनि केही महिना सामेल भएँ, दशरथ रङ्गशालामा घन्टौँ दौडिन पर्थ्यो शारीरिकरुपले निक्कै कठिन थियो पछि बिस्तारै त्यो कर्म मेरो प्राथमिकताबाट हट्यो भने गायनलाई मैले आफ्नै चाहनामा हापे । कालान्तरमा नेपोथिन पोलिथिन पाइप ईन्डस्ट्रीमा प्रति महिना ४९९ रुपैयाँ आउने "जागिर" पाएपछि तपसिलका थुप्रै सपनाहरू आफै बाटो लागे ।
विगत दुई दशकदेखि म सपनाको देश अमेरिकामा छु । मेरो आलेखहरू मार्फत म यो कर्मभुमीलाई "आ-मरिखा" भनेर पनि भन्ने गर्छु तर यो भूमि कर्मवीरहरूका लागि "आ-गरिखा" पनि हो भन्ने मेरो निजी बुझाई छ ।
धेरै वर्षपछि म स-परिवार मेरो जन्मभूमि र जन्म थलो दावाँ पुगेँ । भोजपुरको हवाई मैदान मर्मत सम्भार हुँदै गरेको कारण जन्मभूमि दावाँबाट काठमाडौँ पुग्न हामीले गाडीबाट तुम्लिंगटार जाने निधो गर्यौँ । गाडी चलाउने भूमि चालकलाई "गुरुजी" भन्ने आयातित बोली अनि प्रचलन मेरो गामबस्तीहरुमा पनि भित्रिसकेको रहेछ । हिन्दी गीतको प्रभाव पनि कम सुनिएन तर आवरणको राष्ट्रवाद अलि चर्को सुनिन्थ्यो ।
त्यता पनि संस्थापनले रटाएको भारत विरोधी सेन्टिमेन्ट अनि खोक्रो राष्ट्रवादले जरो गाडेको रहेछ ।
गाडी पर्खिरहेका आमा-छोरीलाई हामीले बिच बाटोबाट सुन्तलेसम्म "लिफ्ट" दियौँ, पछि खादबारीसम्म जाने एक जना भाइलाई पनि हाम्रो रिजर्ब जिपमा कोच्यौँ । सानी नानी मेरी श्रीमतीको काखमा बसेर जुरेली जस्तै निरन्तर ट्याऊं ट्याऊं गरिरहेकी थिई । मौसम खुलेको थियो रहल-पहल गुराँस अनि उत्तरतिरका हिमाल हेर्दै अगाडी बढ्दा समय गएको हामीलाई पत्तै भएन ।
ती आमा-छोरीको ओर्लने ठाम आएछ हाम्रा गुरुजीले गाडी रोकेर तिनलाई ओर्लन सङ्केत गरे । सानी फुच्चीको ननस्टप ट्याऊं ट्याऊं सन्किएकै थिएन तर हामी छुट्टीनुनै थियो, छुट्ने बेलामा मेरी श्रीमतीले नानीलाई केही सय रुपैयाँ हातमा थमाएर पुरानै पारामा भनिन "नानी यो पैसाले चकलेट किनेर खानु है" जिपबाट ओर्लंदै उनले हामी तिर हेरेर भनिन "आन्टी म त यो पैसाले किताब पो किनेर पढ्छु" ।
उनको निश्छल बोलीमा मैले मेरो देशको भविष्य पो देखेँ । भोजपुर जाने बाटो बनाई रहेका थुप्रै कर्मवीर श्रमिकहरूले अघिल्लो दिन पनि मलाई आफूले दु:खजेलो गरेर नाति-नातिनीहरूको शिक्षामा लगानी गरेको कथा सुनाएका थिए । यहाँ आई पुगेर यो मेरो मनमा अलिकति डर पनि पस्यो कहीँ कतै ती नानीहरूले शिक्षासँगै नाम, थर, जात, गोत्र, क्षेत्र अनि धर्म आदि इत्यादिको नाममा सामाजिक विभेद भोग्न पर्यो भने, तिनलाई हतियार बनाएर "राजनीति" गर्ने जमात बहुर्यो भने अथवा संस्थापनको विभेद निरन्तर रह्यो भने मेरो मातृभूमि नेपालले फेरि अर्को अनि महँगो सामाजिक सामाजिक द्वन्दको सामना गर्नु पर्ने छ ।
हिजो आज हाम्रै वर्गका मान्छेहरूको सपना म जन्मेको गाउँमै पनि "ग्लोबल" बनेछ । भूगोलले सपनाको आकार अनि आयतनको मापन अनि निर्क्यौल नगर्दो रहेछ ।
मेरो गाउँ पनि एक्काइसौँ शताब्दीको समृद्ध सपनाहरू देख्न सक्षम भएछ । बाटो, बस्ती अनि मानिसहरू निक्कै फरक लाग्यो । फरक देखिए पनि बिरानो चाहिँ कहीँ अनि कोही लागेन । सपनाको स्वरूप, आयतन अनि रङ्गमा आमूल परिवर्तन भएछ । मेरो गाउँले हरेक अर्थमा छलाङ मारेछ म यो परदेशबाट त्यही माटोको महिमा गाउँदै ऋण तिर्ने अठोटहरूका साथ सप्तरंगी सपनाहरू बाँच्दैछु