खोलाको सतहमा तैरिने बरफका चक्लाहरु जस्तै तैरिन्छन् आँखाका सतहमा यादहरु, कहिलेकाहीँ। यतिञ्जेलसम्म त यादहरु धमिलो हुँदै हराईजानु पर्ने हो, तर एउटा धुन झन् गाढा भएर बजिरहेको छ कतै।
बिझाईरहेको छ, अनुपस्थिति। सम्झाइरहेको छ केही। अँध्यारो कोठामा धुपको बास्ना, ‘पेन्टब्रस’ समेटेर बसेको टेबल। त्यस्तैमा ‘ह्म्म्म्म्......।’ कतै लडिएला भन्नु नपर्ने, आवाजले कसरी कसरी डोहोर्याए जस्तो, लड्न नदिए जस्तो। त्यसअघि या पछि कुनै एक बिहान फेरि, अनुप सरको ‘गाइडेड मेडिटेसन’ मा बिक्रम सरले ‘हीप्नोटिक एम्बियन्स’ बनाइदिनु भएको। चौरका शीतहरु छोडेर विस्तारै प्रकाशका रंगीन बिन्दूसम्म पुर्याएको मनलाई – फर्किँदाखेरीको ‘फ्लाइट’ मा अनुहारभरी घाम खसेको सायद। पैतालाले फेरि शीत छोएर एउटा मौन चिरिदिएको थियो।
मलाई अझैसम्म गहिरो बिझेको र त्यसपछि अन्त नसुनेको एउटा धुन, 'साँझ भयो, संगिनी घर आऊ।'
धेरैपछि यो लेख्ने साहस आएको हो।
सकिँदैन। कतिपय कुराहरु लेख्नुपर्छ भन्ने हुन्छ तर सकिँदैन।
जानिँदैन। कतिपय कुराहरुलाई प्रस्तुत गर्ने तरिकै जानिँदैन।
हुँदैन। कतिपल्ट, 'यस्तो लेख्नुपर्छ/यो विषयमा लेख्नुपर्छ' भन्ने कुरा आउँदा लेख्ने मान्छेसित प्रतिकृया नै हुँदैन।
के भन्ने ! के नभन्ने !कसरी भन्ने ! कसरी नभन्ने !
बिक्रम सर भन्नेबित्तिकै मलाई धेरैथोक एक्कैचोटि याद आउँछन्। तर फेरि त्यही धुनमा पुगेर यादहरु केहीबेर रोक्किन्छन्। मभित्र गहिरिएर बस्यो त्यो धुन, कहिल्यै हराएन। हराउन त बिक्रम सर हराउनुभो, त्यस्तो बेला हराउनु भो जतिबेला हरेक सुर मज्जाले लाग्दैथे। एकफेर लेखेथेँ, ‘स्पेस’ को पनि आफ्नै ‘टाइम एण्ड स्पेस’ हुने भएर होला अनुप सर, कतिपय स्थानहरुको ‘ब्लर इमेज’ र ‘सेपिया टोन’ का सम्झनाहरुले सधैँ आत्मीय छाप छोडिरहन्छन्।' मान्छेको सम्झना त अझै गाढा हुन्छ नि है अनुप सर !
उहाँ सिकाउनु हुन्थ्यो। सिकाउँदा सिकाउँदै सिक्नु पनि हुन्थ्यो। उहाँ ढुंगा जस्तो अररो हुनुहुन्थेन। ज्यान नबाङ्गिने डान्सर जस्तो पनि हैन। पानीजसरी सलल्ल बग्न सक्ने मान्छे। ‘क्युरियोसिटी’ थियो किनभने धेरै कुरा नजान्नुका आयामहरु जान्नुभएको थियो। उहाँ हामीजस्तै।
थीयटरमा दीक्षित भइसकेर गुरु भएर ज्ञान बाँड्न थाल्नुभएको हैन। केही मोडहरु थिए, उहाँको ‘क्युरियोसिटी’ थियो, सचेत भएर सहि संगत गर्नुपर्छ भन्ने चेतना थियो, र बेला आउँदाखेरी गर्छु भन्ने आत्मविश्वासले नै एकपछि अर्को काम गर्दै जानुभएको थियो। अनि सादगी र भद्रताले झन् मान्य हुनु भएको हो।
मैले देखेको बिक्रम सर खरो समालोचक हैन। उहाँले त्यतिसारो समालोचनात्मक हेराईले हेरेर केही कुराको व्याख्या गर्नुभएको मैले थाहा पाइनँ। उहाँले ग्रहण गर्नुहुन्थ्यो र त्यो ग्रहण गरेको ‘पर्सपेक्टिभ’ मलाई मन पथ्र्यो। यो राम्रो थियो, यस कारणले राम्रो थियो – यो नराम्रो थियो, यस कारणले नराम्रो थियो – त्यस्तो हैन। बरु, 'हामीलाई लोभ लाग्छ, हामीमा बेलाबखत मसिना लालचहरु भरिन्छन्। हामीलाई यस्तो गर्न मन पर्छ है, तर त्यसरी गर्दापनि हुँदो रैछ।' यस्तो हुन्थ्यो उहाँले हेर्ने तरिका। यसरी थाहै नपाउनेगरी उहाँले प्रस्तुतीका वैकल्पिक तरिकाहरु सतहमा ल्याइदिनुहुन्थ्यो।
खासमा ‘एक्टर्स स्टुडियो’ का ‘सेसन’ हरुमा उहाँको उपस्थिति र बोलीलाई मैले ‘क्लीन्जिङ्’ को रुपमा हेर्थेँ। एकसरो आफूलाई सफा गरेपछि अरु धेरै कुरामा ‘ईजी’ भइन्थ्यो। यो मेरो निजी अनुभूति हो, मलाई बिक्रम सरको ‘क्लास’ मन पथ्र्यो। अनि दिनभरीको कुनै एउटा बिसौनीमा उहाँ साधारण कुरा गर्नु हुन्थ्यो। असाधारण र ‘कनेक्ट’ गर्न नसकिने कुरा हुन्थेनन्। 'म तनहूँबाट काठ्माण्डू आको एउटा दमाईको छोरो, मैले आफूलाई न सानो मानेँ न अलग मानेँ। मलाई पढाउन मन पथ्र्यो।
जीवनमा हाँसो, रोदन जे जति संगेलेँ, तिनले अरुलाई ज्ञानको आलोक दिन सक्ला भन्ने सोच्थेँ। कलाकार भइराख्न सजिलो कुरा हैन, तर हार्मोनियममा औँला सलल्ल खेलाएपछि है, जब मनको सबै मैलो हराउँथ्यो, त्यो सम्झेर पनि कलाकार नहुन सकिनँ।' यस्तो कुरा गर्नु हुन्थ्यो। उहाँ बोलिराख्दा पनि ह्म्म्म्म्, हा..... ट्याँ ट्याँ ट्याँ ट्याँ हार्मोनियममा औँलाहरु पनि चलाइरहने, विद्यार्थीहरुसित संवाद पनि गरिरहने। अनि मुस्कानले उजिल्याउने अनुहार। 'ही वाज अ ब्लेस्ड आर्टिस्ट'। उहाँले विद्यार्थीसँग त्यस्तो ‘भाइब’ ‘क्रीयट’ गरेर संवाद गरेको आफैँमा ‘एस्थेटिकल्ली रिच पर्फमेन्स’ हुन्थ्यो।
फेरि पनि, यस्ता कुराहरुलाई ‘एम्फसाइज’ गरेर शब्द खेलाइरहन सजिलो छैन। सम्झनाका कुराहरु ‘डिस्टोर्टेड’ हुन सक्छन्। मलाई भ्रम छैन – मैले सबै कुरा आधिकारिक रुपमा भनेको छु भन्दिनँ। म पक्का गलत हुन सक्छु। मैले लेखेका यी सम्झनाका अक्षरहरुमा ९० प्रतिशत भावार्थ र १० प्रतिशत अकाट्य सत्य होलान्। तर आँखामा तैरिने यादहरु सर्वथा इमान्दार छन्। र छोरा छोरीलाई आफ्नो दुई छेउमा टाँसेर संगितको रियाज गरिराख्ने बिक्रम सर साधारण अभिभावक त झन् हुँदै हैन।
केही संवादहरु अझै पनि अधुरै भए बिक्रम सर। २०६८ सालको अन्तिम साँझ ‘एक्टर्स स्टुडियो’ को ‘ग्यादरिङ्’ मा भन्नुभएको थियो, 'कोही धेरै पिउँछन् र रमाइलो गर्न बिर्सिन्छन्, मचाहिँ थोरै पिएर धेरै रमाइलो गर्ने मान्छे परेँ है।' र उहाँको मज्जाको हाँसो।
चन्द्र गुरुङ्को कविता जस्तै:
गीतको लय हराउँछ
शीतको बिम्बले पातमाथि कोर्ने कविता हराउँछ
मनभरीको व्यथा लेख्ने अक्षर हराउँछ
कथाको एउटा पात्र हराउँछ
हराउँछन् धड्कन व्यक्त गर्ने शब्दहरु
जब एउटा मान्छे हराउँछ।
कोही हराउनु भनेको सपना देख्ने आँखाहरु हराउनु हो। बिक्रम सर, तपाईँ हराउनु भनेको त झन् ............ धेरैथोक हराउनु हो।
जब म जान्छु
अधुरै जान्छु, अपूरै जान्छु
पढ्दा पढ्दैको किताब
अधुरै हुन्छ
लेख्दा लेख्दैको कविता
अधुरै हुन्छ
केही संगीत अधुरै रहन्छन्
केही समीक्षा अधुरै रहन्छन्।
यस्तै त होला नि है बिक्रम सर ! मैले यसै कोरेको थिएँ। आज तपाईँलाई सम्झिँदाखेरी यसले पनि अर्थ भेटे जस्तो मानेँ।
'रानी चरी स्याख्लुङे वनभरी, भन माया तिम्रै छ मनपरी' थियटरका विद्यार्थीहरुको ‘एन्थम’ जस्तै भएको थियो। रहेका/भत्केका, काठ्माण्डूका नाटकघरहरुमा उहाँको सम्झना सुरक्षित छ आजसम्म। मभित्र चाहिँ फेरि त्यही धुन। त्यसैको गहिराई। अनि मधुरो गुञ्जिरह्यो।