राष्ट्रपति ट्रंपका अर्का सहयोगी रजर स्टोनमाथि ७ वटा आरोपमा मुद्दा दायर:
२०१६ चुनावमा विदेशी विशेष गरी रसियाद्वारा हस्तक्षेप गरिएको भन्ने विषयमा अध्ययन एवम् अनुसन्धान गर्न गठित स्पेसल काउन्सिलले जनवरी २५ गते रजर स्टोनमाथि मुद्दा दायर गरेको छ ।
शुक्रवार एकाबिहानै फ्लोरिडा स्थित रजरको निवासमा एफबीआइ प्रवेश गरी उनलाई नियन्त्रणमा लिएको थियो । उनी माथि न्याय प्रक्रियामा दखल पुर्याएको, काँग्रेससँग झुटो बोलेको र मुद्दाका साक्षीहरूलाई बाधा पुर्याएको जस्ता आरोप लगाइएको छ ।
रजर स्टोनलाइ शुक्रवार नै अदालतमा उपस्थित गराइयो र साढे दुई लाख धरौटीमा उनी रिहा पनि भैसकेका छन् । उनलाई अदालत लैजाँदा अदालत बाहिर ठुलो भिड जम्मा भएको थियो भने उनी अदालतबाट बाहिर निस्किँदा बिजयीभावमा देखिन्थे । निक्सोनियन शैलीमा दुवै हात फैलाएर "भी" अर्थात् भिक्ट्रि (विजय) सङ्केत गर्दै र मुस्कुराउँदै मिडिया सामु प्रस्तुत भएर स्टोनले आफूले राष्ट्रपति ट्रंपको विरुद्ध कुनै सूचना स्पेसल काउन्सिललाई नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । यसको लागि आफू आजीवन लड्ने घोषणा उनले गरेका थिए ।
२०१६ को चुनावमा डोनाल्ड ट्रंपलाइ जिताउन डेमोक्र्याटिक पार्टीको वेबसाइट ह्याक गरी रसियाले विकिलिक्सलाइ उपलब्ध गराएको आरोप लाग्दै आएको छ । चुनावका अन्तिम दिनहरूमा हलिवुड टेप सार्वजनिक भए पछि ट्रंपको चुनावी अभियान धरापमा पर्नै लागेको बेला विकिलिक्स मार्फत डेमोक्र्याटिक पार्टीका आन्तरिक इमेलहरू सार्वजनिक गरिएको थियो । जसले प्रतिरक्षात्मक अवस्थामा पुगेका ट्रंप राष्ट्रपति बन्न सफल भएका थिए । सो इमेल विकिलिक्ससंग सम्पर्कमा रहेर आफूले उपलब्ध गराएको रजर स्टोनले त्यति बेला बताएका थिए ।
रजर स्टोन माथि मुद्दा दायर सँगै राष्ट्रपति ट्रंपको चुनावी अभियान र रसियाबिच समझदारी कायम भएको भन्ने आशङ्कामा थप पुगेको छ । आफ्नो रसिया सँग कुनै लेनदेन नभएको जिकिर ट्रंपले गर्दै आए पनि उनका चुनावी अभियानका दर्जनौँ व्यक्तिहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रसियासङ सम्पर्कमा रहेको देखिएको छ । यस अघि नै ट्रंपका नजिकका सहयोगीहरू माइकल फ्लिन, माइकल कोहेन, जर्ज पापाडापोलस, पल म्यानाफर्ट, रिचार्ड गेट्स लगायत धेरैलाई मुद्दा दायर गर्नुको साथै उनीहरूले गल्ती समेत स्वीकार गरिसकेका छन् ।
३ हप्ताको लागि अमेरिकी सरकार आंशिक बन्द खुल्ला:
३५ दिन सम्म चलेको अमेरिकी सरकार आंशिक बन्द ३ हप्ताको लागि खुल्ने भएको छ । अमेरिकी जनताको नाममा व्हाइट हाउसबाट सम्बोधन गर्दै ३ हप्ता सम्ममा सीमा सुरक्षाको लागि आवश्यक सहमति जुटाउन काँग्रेसलाई आग्रह समेत गरेका छन् । सँगसँगै फेब्रुअरी १५ सम्म पनि त्यस्तो सहमति नभएमा आफूले सरकार फेरी बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
विगत ५ हप्तादेखि डेमोक्र्याटिक पार्टीले यही माग गर्दै आएको थियो । केही समयको लागि सरकार खोल्ने र त्यो बिचमा सबैको सल्लाहमा एउटा सहमतिमा जाने उनीहरूको माग थियो । ८ लाख कर्मचारीहरूको जिन्दगी दुखदायी बनाएर र यो अवस्थालाई बन्धक बनाएर कुनै खालको सहमति हुन नसकिने उनीहरूको तर्क थियो । अब कमसेकम तीन हप्ता काँग्रेसका सदस्यहरूले सहमति गर्न छलफल गर्न सक्नेछन् यद्यपि ट्रंपले भने जस्तै सहमति हुने सम्भावना भने अझै पनि निकै कम छ ।
यससँगै सीमामा पर्खाल लगाउने पैसा नभई सरकार बन्द नखुल्ने अडान लिँदै आएका ट्रंपको राजनीतिक हार भएको राजनीतिक वृत्तमा मूल्याङ्कन गरिएको छ ।