टेलिभिजनलाई किन ‘इडियट बक्स’ भनिन्छ मैले आजसम्म बुझेको छैन। तर, म पनि ‘इडियट’ बनेरै पत्रकारितामा होमिएँ।
पत्रिकारितामा छिरेको कुन साल हो मलाई सम्झना छैन। तर, यति याद छ- कमैया मुक्ति आन्दोलन चरम उत्कर्षमा पुगेको थियो।
मैले नेपाल टेलिभिजनको इस्ट्रिन्जरको रूपमा कैलालीबाट काम गर्न थालेँ।
कुनै एउटा संस्थाले मलाई एक विदेशी अध्ययनकर्तालाई कमैयासँग भेटाएर स्थितिको बारेमा जानकारी गराइदिन आग्रह गर्यो।
म त्यतिखेर ‘आवाज’ नामक पत्रिकाको सम्पादन पनि गर्थेँ। सम्पादन के भन्नु, रिपोर्टर, हकर सबै मै थिएँ। ‘आवाज’ कमैया र अन्य सीमान्तकृतको मुखपत्र झैं बनेको थियो।
ती विदेशी अध्ययनकर्तासँग गाडीमा बसेर कैलालीका बिभिन्न स्थानमा गयौं। कमैयाको दर्दनाक अवस्था मेरा लागि अनौठो थिएन। यो नेपाली समाजमा लागेको एउटा दाग थियो।
ती विदेशी महिला लेखनमा ब्यस्त थिइन्, नेपाली पनि बोल्थिन्। म अंग्रेजी त्यति नबुझ्ने हुनाले मैले उनको लेखाइमा ध्यान दिइनँ। साँझ परिसकेको थियो। विभिन्न स्थानको अवलोकन पछि हामी फर्कियौं।
अत्तरियामा गाडी रोकियो। उनले साँझ पर्न लागेको र आफूलाई महेन्द्रनगर जानुपर्ने हुँदा, मलाई अत्तरियामा ओर्लेर अर्को गाडी लिएर धनगढी जान भनिन्।
त्यसताका अत्तरियाबाट नगन्य सार्वजनिक सवारी साधन चल्थे। त्यसमा पनि साँझपख पहाडी रूट या महेन्द्रनगरको बाटो आएका गाडी पाए मात्र धनगढी पुग्न सकिन्थ्यो।
तै पनि म उनको कठिनाईलाई हेर्दै गाडीबाट ओर्लिएँ। यता उता हेरे कुनै गाडी देखा परेनन। करिब दुई घण्टापछि पहाडबाट आएको एउटा गाडी चढेर घर पुगेँ।
घर पुगेपछि राहत महशुस गरेँ। तर, यो राहत सँगै विद्रोहको रूप लिएको थाहै भएन। म साधारण रिपोर्टर भए पनि एउटा सम्मानित टेलिभिजनको भएकाले संस्थाकै अपमान भए झैं लाग्यो।
त्यसपछि ती महिलासँग जान आग्रह गर्ने व्यक्तिलाई फोन गर्दै सबै कुरा बताएँ। ती महिलाले आफूसँग माफी माग्नुपर्ने धारणा राखेँ।
भोलिपल्ट एकाबिहानै ती महिला घरमा पुगिन् र अंग्रेजीमा भनिन्,‘माई अपोलोजिज्।’
म पग्ली हालेँ। म भित्रको शालिनता र भद्रता हराइसकेको थियो। म भित्र एक ‘इडियट’ ले जन्म लिइसकेको थियो। दम्भ र अहंकारलाई च्यालेन्ज गर्न, गरिब र कमजोरको सत्य सबैलाई देखाउन, शायद म इडियट भएको थिएँ। म इडियट बक्सका लागि तयार हुँदै थिएँ।
त्यसपछि म काठमाडौंमा बसेर रिपोर्टिङ गर्न थालेँ। मैले तयार पार्ने समाचारमा आफ्ना विचार पस्किनँ। आफ्ना विचार या ‘ओपिनियन’ दिने मेरो काम थिएन। ‘ओपिनियन’ मलाई तल्लो लाग्छ।
यसको कुनै जवाफदेहिता हुँदैन। मैले सत्य उजागर गर्ने प्रयत्न गरेँ। यस्तो सत्य जसले सर्वसाधारणलाई न्यायको पक्षमा सोच निर्माण गर्ने स्वतन्त्रता देओस्।
नेपाल टेलिभिजन एक सरकारी निकाय यसको आफ्नै दायरा हुन्थ्यो। तर, सबै छिचोल्दै म कर्तव्य पथमा हिँडिरहेँ। कसैको प्रतिशोध खेपेँ। केही अनुभव सँगालेँ। सबैभन्दा माथि त चेतना पाएँ।
मैले प्राप्त गरेको त्यो चेतना पाठक सामू साझा गर्न चाहन्छु:
- केही अपवादबाहेक पत्रकारिता कमाउ पेशा होइन। बहुसंख्यक पत्रकारको आर्थिक स्थिति कति कमजोर हुन्छ त्यो जान्न रिसर्च गर्नुपर्दैन। यो आर्थिक दृष्टिकोणले सुरक्षित पेशा होइन। यो कठिन तर, सुन्दर पेशा हो। यो धर्म हो।
- मलाई समाचार लेख्नेलाई मिडियाकर्मी भन्न हुन्न भन्ने लाग्न थाल्यो। मिडिया अर्थात ‘माध्यम’ भन्ने शब्दले पत्रकारितालाई होच्याउँदो रहेछ। यसको प्रमुख कारण केही हामी जस्तै पत्रकार हौं।
अर्को कारण, पत्रकारिताको ब्यापारिकरण अर्थात ‘कर्पोरटाइजेसन’ हो। तर, जे सुकै होस् जुन देशको पत्रकार ‘ठीक' हुन्छ ‘सही हुन्छ’ त्यहाँ लोकतन्त्र कहिलै मर्दैन। म ‘पत्रकार’ भनिरहेको छु किन भने, संस्थामा बिचलन आयो भने पनि निष्ठावान पत्रकारले पत्रकारितालाई जिवित राख्न सक्छ।
मैले न बुझेको ‘इडियट बक्स’ को कुरा गर्दा आज देशमा अनगिन्ती टेलिभिजन च्यानल छन्। जुन सुखद कुरो हो। तर, यससँगै एउटा ठूलो द्विविधा पत्रकारिताले सामना गर्नुपरेको छ। त्यो के भने, समाचार र मनोरन्जन बिच भिन्नता देख्न कठिन हुँदै गईरहेको छ। ‘ब्रेकपछि फलानो दुर्घट्नाको खबर लिएर आउने छौ’ भने लगत्तै कुनै महंगो बस्तु या सौन्दर्य सामाग्रीको विज्ञापन आउँदा त्यो दुर्घट्नामा पर्नेका आफन्तले के अनुभूति गर्लान भन्ने हेक्का पनि राखिन्न। यसले समाचारको गाम्भीर्यता र यस् पेशाको गरिमालाई हल्का पार्दैछ।
समाचारलाई मनोरन्जन बनाउनु हुँदैन, भन्ने कुरा मैले आफूले काम गरेको संस्था नेपाल टेलिभिजनका सुरूआती दिनमा अभुतपूर्व योगदान दिने निर शाह, दुर्गा नाथ शर्मा, विजय कुमार पाण्डे, भुषण दाहाल, राजु सिलवाल, रमा सिंह, राजेन्द्र देव आचार्य, महाप्रसाद लामिछनेलगायत थुप्रै अग्रजलाई हेरेर सिकेको हुँ।
नेपाल टेलिभिजन स्थापना भएको ३४ वर्ष भएको छ। यसको समाचारको विश्वसनीयतामा कमी आएको छैन। यो ठूलो उपलब्धि हो। नेपाल टेलिभिजनले आगामी दिनमा पत्रकारिताको महानता स्थापित गर्न पहल गरोस्। बिना भय सत्य बोलोस्। यसरी नै सरकारसँग जनता जोडिने छन्। टेलिभिजन सरकारको मुखपत्र कहलिने छैन। लोकतन्त्र मजबुत हुनेछ। एउटा सुन्दर नजिर बस्नेछ।
अन्त्यमा मलाई पत्रकार हुनमा गर्ब गर्न सिकाउने नेपाली जनताको यस् टेलिभिजन लाई मेरो साधुबाद!