डा. केसीले २४ दिनको अनसनपछि फेरी जुस पिएर १६ औँ अनसन तोडेका छन् । यस पटक पनि उनको जीवन रक्षा भएकोमा खुसी व्यक्त गर्दछु ।
यो १६ औँ अनसनमा मलाई पहिला जस्तो पक्ष विपक्षमा खडा भएर जुहारी खेल्न रहर जागेन र सुरुमै मैले फेसबुकमा एउटा स्टाटस लेखेको थिएँ, “नेपाल भन्ने देश बदलिँदैन तर पात्र र विषयहरू बदलिरहन्छन् चिया गफगर्नलाई । अब पालो सुरु भयो डा. अनसन केसी!” यसलाई कसैले डा. केसीको विरोधमा लेखेको ठान्नु भएको भए माफी चाहन्छु, त्यो हैन । आखिर यो यथार्थ हो कि नेपाल भन्ने देश बदलिएको छैन मात्र पात्रहरू बदलिरहन्छन्, हामीलाई चिया गफ गर्नका लागि या फेसबुकमा स्टाटस र कमेन्ट लेख्नका लागि र पत्रकारलाई स्पेश भर्नका लागि नयाँ नयाँ विषयहरू आइरहन्छन्, यसले हामी जनतालाई २ भागमा विभक्त गराएर लडाइरहन्छ र त्यो विषय समाधान नभैकनैं यसै हराउँछ र त्यो ठाउँ अर्को कुनै नयाँ विषयले लिन्छ । हामी जनता त यस्तो प्रायोजित जस्तो लाग्ने खेलका फगत गोटी मात्र भएका छौँ ।
नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र माफिया करण (व्यापारीकरण) भएको छ र यसमा साँच्चीकै परिवर्तन ल्याउन धेरै नै गाह्रो छ, किनकि अझ सम्म साँच्चीकै नियत सफा भएका सत्तामा आएको पाइएन । डा. केसी आफ्नो ज्यानको बाजी थापेर यसमा त्यागपूर्णलडाई लडिरहेका छन् जसमा साथ दिन या कमसेकम सहानुभूति दर्साउनुको बदला उनका विपक्षमा कटाक्ष गर्नु दुर्भाग्यपूर्ण हो ।
उनको माग पुरा गर्ने नियत पटक पटक सम्झौता गर्ने न काँग्रेस न कम्युनिस्ट कसैले देखाएनन् । जसका कारण यो माफिया करण पनि कायम छ र केसीले पनि पटक पटक आफ्नो ज्यान जोखिममा राखेर अनसन बस्नु परिरहेको छ । किन यस्तो भइरहेको छ ?
के सम्झौता गर्नेहरू इमानदार देखिएका छन् र डा. केसी पागल या सन्काहा हुन् ? हैन। उनका मागहरू त तब पुरा भएको मानिने छन् जब जनताले व्यवहारबाटै माफियाकरणको अन्त्य भएको महसुस गर्ने छन् ।
यिनको नियत सफा भएको भए यिनले डा. केसीलाई एउटा प्रतिद्वन्दीको रूपमा हैन सहयोगीको रूपमा हेर्ने थिए र डा. केसी, माथेमा आयोगका प्रतिनिधिहरू लगायत विज्ञहरूलाई यसको समाधान गर्ने जिम्मा दिने थिए । निर्णय प्रक्रियामा यिनलाई सँगै सामेल गर्ने थिए ।
डा. केसीको नियत नै खराब छ भनेर शङ्का गर्न मेरो विवेकले पाप सम्झन्छ किनकि किन केही के स्वार्थले यो सब गर्न सक्छ ? र फेरी यिनले उठाएका समस्याहरू त हामी सबैले थाहा पाई रहेका र वर्षौँदेखि भोगिरहेका त हुन्। खाली यिनले जोड दिएर उठाएका मात्रै हुन् । तब यिनलाई गलत भन्ने आधार के छ ?
यिनको नियत सही छ । नारा सही छ । उद्देश्य सही छ । त्याग अद्वितीय छ । उनी अव एक सामान्य कर्मचारी व्यक्ति नभएर हामी सबैका लागि ज्यान जोखिममा राखेर हाम्रा लागि लडिरहेका एक होनहार सन्त नेता हुन् ।
जो सुकै सत्तामा भएका बेला पनि यही मुद्दालाई उठाउँदै आएका उनलाई कुनै एक राजनीतिक दलको गोटी बनेको आरोध निराधार छ । उनको यो आन्दोलन हाम्रो आन्दोलन हो र यसले हामी सबैको साथ सहयोगमा पार पाएरै छाड्न पर्दछ ।
उनको निष्ठापूर्ण आन्दोलनको चरम दुरुपयोग पनि भइरहेको छ । आफ्नो सत्ता स्वार्थको खेलमा यस आन्दोलनलाई प्रतिपक्षमा जो छ उसैले उपयोग गर्ने कोसिस गर्दै आएका छन् । कतिपय शैक्षिक र मेडिकल माफियाहरू नै पनि जो चोर उसैको ठुलो स्वर गरेको पनि चर्चा छ । यस्ता कुराहरूले पनि डा. केसीप्रति जनताको नजर शङ्कास्पद बनेको छ ।
हामी जनता पनि राजनीतिक रूपमा यस्तरी विभाजित छौँ कि ठिक बेठिक, न्याय अन्याय, सङ्गति विसङ्गति केही कुराको मतलब हुन्न हामीलाई । आफ्नो पार्टीको लाइन के छ ? निर्देशन या सर्कुलरको आधारमा मेसिन जस्तो हामी चल्न थाल्यौँ । यसो नगरे पार्टीको इमानदार र बफादार कार्यकर्ता नभइने, अराजक भइने र आफ्नो राजनीति नै समाप्त हुने डर सिर्जना गरियो । हो मूल समस्या यहाँ छ । तसर्थ चाहेर पनि सत्य ओकल्न हामी डराउँछौँ, हामीलाई इमानको डर हुँदैन, पापको डर हुँदैन हुन्छ त केवर नेताको । यसरी हामी स्वतन्त्र नागरिक हैन, पार्टीको नाममा नेताका दास भएका छौँ । यदि जनतामा यस्तो संस्कृति नभरिएको हुन्थ्यो भने, सही र सत्यको पक्षमा जनता उभिने संस्कार हुन्थ्यो भने आज जनतासित नेता डराउने कुरा हुन्थ्यो, भ्रष्टाचार र कुरीति उहिल्यै समाप्त भइसक्या हुने थियो र डा. केसीले अनसन बस्नै पर्ने थिएन ।
डा. केसीको आन्दोलनमा साथ दिने नाममा उनलाई अनसनमा उकास्ने र उत्तेजित बनाउन खोज्नेहरूको नियत पनि सफा नहुन सक्छ नत्र किन उनीहरू आफू पनि उनी सँगै अनसन बस्न सक्दैनन् ? एउटा सत्याग्रहमा साथ दिने हो भने किन उनीसँगै अनसन बस्न कोही तयार हुँदैन ? आफू मन्त्रीको कुर्सीमा हुँदा बाहेक सधैँ अग्रिम मोर्चामा भिड्नेहरू आफैँ किन अनसन बस्न सक्दैनन् ? यदि सबै जना अनसन बस्ने हो भने बल्ल यसलाई सबैको आन्दोलन सत्याग्रह भन्न मिल्ला ।
अब सत्ता उल्टाउने खेलाडीहरू र अन्य स्वार्थबाट आउनेहरूबाट पनि यो आन्दोलनलाई बचाएर वास्तविक जनताको आन्दोलन बनाउनु पर्नेछ । यो कुनै राजनीतिक दलको झन्डामा हैन आम जनताको प्रतिनिधि नेपाली राष्ट्रिय झन्डामा यो आन्दोलन गरिनु पर्दछ र अबदेखि जे गरिन्छ सबैले सामूहिक रूपमा गर्नुपर्नेछ । अनसन बसे पनि सामूहिक रूपमा र मरे पनि सामूहिक रूपमा । डा. केसी माथि राजनीतिक स्वार्थ पुरा गर्ने काम बन्द हुनुपर्छ । डा. केसीको सपना मेरो पनि सपना हो र हाम्रो सपना हो हामी पनि उनी सँगै लड्नु पर्दछ, उनलाई मात्र मार्न पाइन्न ।
तर, फेरी पनि म आशा गर्छु सबैले आशा गरेको यो सरकारले यस भावनाको कदर गरेर काम गरेर देखाओस् र फेरी पनि डा. केसीहरूले अनसन बस्नु पर्ने सदा सदाका लागि अन्त्य होस्।