सिरिया र अफगानिस्तानबाट अमेरिकी सेना छिट्टै नफर्किने:
जनवरी ३१ गते सिनेटमा एक विधेयक पास भएको छ जसमा अमेरिकी सेना आइसिस पूर्णतया खत्तम नभए सम्म अमेरिकी सेना सिरियामा रहने कुरा मुख्य बुन्दा समेटिएको छ ।
यो विधेयक पारित भए सँगै राष्ट्रपति ट्रंप र सिनेटका रिपब्लिकनहरू बिच परराष्ट्र मामिलामा गम्भीर मतभेद देखा परेको छ ।
उक्त विधेयकको पक्षमा ६८ जना र विपक्षमा २३ जना सिनेटरहरुले मतदान गरेका छन् । करिब एक महिना अघि मात्र ट्रंपले सिरियामा आइसिस पराजित भैसकेको र अमेरिकी सेना फिर्ता गरिने घोषणा गरेका थिए ।
आइसिस पराजित भएको ट्रंपको घोषणा बाबजुद सुरक्षा प्रमुखहरूले आइसिस अझै पनि खतरा रहेको भन्दै अमेरिका सिरियामा रहनु पर्ने आवश्यकता औँल्याएका थिए । त्यस्तै काँग्रेसका रिपब्लिकनहरूले पनि हतारमा फर्किने गल्ती गर्नु नहुने भन्ने धारणा व्यक्त गर्दै आएका थिए ।
स्टारबक्सका पूर्व प्रमुख हवार्ड स्कुल्ज स्वतन्त्रबाट राष्ट्रपति लड्ने:
अमेरिकी राष्ट्रपतिको चुनाव आउन करिब दुई वर्ष बाँकी छँदा उम्मेदवारहरूको लर्को देखा पर्न थालिसकेको छ । यसै बिच स्टारबक्सका भूतपूर्व प्रमुख हवार्ड स्कुल्जले आफू स्वतन्त्र रूपमा राष्ट्रपति पदमा उठ्ने बारे गम्भीर रूपमा सोचिरहेको जनाएका छन् । यसले डेमोक्र्याट, स्वतन्त्र र आम अमेरिकी नागरिकहरूमा तरङ्ग पैदा गरेको छ ।
हवार्ड आफूलाई आजीवन डेमोक्र्याट रहेको दाबी गर्ने गरेका छन् तर डेमोक्र्याटहरुको प्राइमरीमा नलडी अलग्गै स्वतन्त्र उम्मेदवार हुने उनको चाहनाले डेमोक्र्याटहरुमा चिन्ता बढाएको छ । ६५ वर्षीय बिलिनियर हवार्ड यदि स्वतन्त्रबाट उठे भने राष्ट्रपति ट्रंप पुनः निर्वाचित हुने वातावरण बन्ने धेरैको अनुमान छ । सामाजिक मुद्दाहरूमा स्पष्ट प्रगतिशील विचार राख्ने हवार्डले राष्ट्रपतिमा जित्ने अवस्था नभए पनि डेमोक्र्याटिक पार्टीको उम्मेदवारको धेरै मत काट्ने धेरैको डर देखिन्छ ।
हालै मात्र उनले "सबैको लागि स्वास्थ्य" प्रस्ताव समेत गरेका छन् जसमा स्वास्थ्यमा कुनै खर्च लाग्ने छैन । स्वास्थ्यमा हाल लगाइने खर्चलाई उनले अन अमेरिकन अर्थात् अमेरिकन मूल्य र मान्यता विरोधीको संज्ञा दिएका
छन् । निःशुल्क स्वास्थ्यको नारा डेमोक्र्याटिक पार्टीको आधिकारिक नारा बनिसकेको छ । हवार्ड राष्ट्रपतिमा लड्ने चाहनाको उनकै कम्पनीका कामदारहरूले रुचाएका छैनन् । उनीहरूले समेत हवार्ड राष्ट्रपति उठेमा डेमोक्र्याटिक पार्टीको उम्मेदवार हार्ने र ट्रंपले जित्ने अवस्था सुनिश्चित हुनेछ ।
हालसम्म डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्न कमला ह्यारिस, तुलसी गब्बार्ड, कोरी बुकर, जुलियन क्यास्ट्रो, मरियान विलिम्सन, एण्ड्रियु याङ्ग, जोन डिलानेले घोषणा गरिसकेका छन् भने एलिजाबेथ वारेन, क्रिस्टेन जिलिब्राण्डले उम्मेदवारी दिने मनसायले समिति गठन गरिसकेका छन् । पूर्व उपराष्ट्रपति जो बाइडेन, बेटो ओ'राउर्के, माइकल ब्लुम्बर्ग, एरिक होल्डर, बिल डी'ब्लासियो, एण्ड्रियु गिलम, जोन केरी र टेरी म्याकलिफ समेत उम्मेदवार बन्न सक्ने चर्चामा छन् । त्यस्तै अघिल्लो पटक हिलारी क्लिन्टनसंग पराजित बर्नी स्याण्डर्स समेत चुनावमा उठ्ने चर्चा छ ।
अमेरिकाद्वारा रसियासँगको न्युक्लियर फोर्स सन्धि निलम्बन:
अमेरिकी परराष्ट्र मन्त्री माइक पम्पेयोले रसियासँग गरिएको न्युक्लियर फोर्स सन्धि फेब्रुअरी २, २०१९ बाट निलम्बन गरिएको घोषणा गरेका छन् । लामो समय देखि रसियाले उक्त सन्धिको बर्खिलाप काम गरिरहेको आरोप लगाउँदै अमेरिका त्यसमा प्रतिबद्ध हुनु आवश्यक नभएको जनाएका छन् ।
रसियाको यस्तो सन्धि विरोधी गतिविधिले अमेरिका र युरोपियन राष्ट्रहरूलाई जोखिममा पारेको समेत उनले स्पष्ट पारेका छन् ।
मध्यम दुरीका न्युक्लियर मिसाइलहरू नियन्त्रण सम्बन्धी उक्त सन्धि रसिया र अमेरिका बिच सन् १९८७ मा सम्पन्न भएको थियो । यसको प्रमुख उद्देश्य रसियाको आक्रमणबाट युरोपियन राष्ट्रहरूलाई सुरक्षित गर्नु थियो । तर सन्धिमा उल्लिखित ३१० देखि ३१०० माइलसम्म प्रहार गर्न सक्ने मिसाइल प्रयोगमा प्रतिबन्ध नभएकोले युरोप खासै सुरक्षित थिएन । यो निर्णयलाई युरोपले समर्थन गरेका छन् । राष्ट्रपति ट्रंपले एक वक्तव्यमा अमेरिका मात्र सन्धि मानेर बसिरहन नपर्ने भन्दै उक्त सन्धिबाट अमेरिका बाहिर निस्किने जनाएका छन् ।
अब ६ महिनासम्म रसिया यो सन्धि पालन गर्ने प्रतिबद्धता र ठोस कदम चालेमा फेरी सन्धि पुनर्बहाली हुने अमेरिकाले जनाएको छ । रसियाको विगत लामो समय देखिको सन्धि प्रतिको उदासीनता देख्दा अचानक रसिया सन्धि पालन गर्नेमा अमेरिकी र युरोपियन सुरक्षा अधिकारीहरू आसावादी भने देखिदैनन ।
अमेरिकाको मध्यपश्चिमी भागमा अत्यधिक बढेको चिसोले ८ जनाको मृत्यु
अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन प्रभावित भएको छ। यहाँको तापक्रम अन्टार्टिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अवरूद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन्।
झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ। धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको बताइएको छ।
अमेरिकी सञ्चार माध्यमहरूले अत्यधिक चिसोका कारण कम्तीमा आठ जनाको मृत्यु भएको जनाएका छन्। आर्कटिक ध्रुवीय क्षेत्रबाट बहेको हिउँ आँधीका कारण अत्यधिक चिसो अनुभव भएको बताइएको छ।
अत्यधिक चिसोले जताततै बरफ जमेका छन्। मिसिगन तलाउको पानी जमेको छ भने सधैं खस्ने नियागारा फल्सको पानी जमेको छ।