नेपाल कहिलै पराधिन भएन। तर, स्वतन्त्र पनि थिएन। यसो भनिरहँदा कतिपयले आफ्नो भावनामाथि ठेस पुगेको दाबी गर्न सक्छन्।
बिशेष गरी अन्ध राष्ट्रवादको जगबाट उब्जेको भावना आहत भएछ भने म किन्चित बिस्मित हुनेछैन। यद्धपि कसैको भावनामा ठेस पुर्याउनु मेरो धेय होइन।
म आफ्नो कथनको जिम्मेवारी लिँदै तर्क पेश गर्नसक्छु। तर, मेरोभन्दा दमदार तर्क अरू कसैले दिनसक्ला, ऊ भन्दा दमदार तर्क अर्कैले दिन सक्छ। यो एउटा निरर्थक प्रकृया हो। तर्क तासको घर झै कमजोर र तुच्छ हुन्छ।
मैले ‘नेपाल स्वतन्त्र पनि थिएन’ भने यो मैले आफ्ना र आफूजस्ता करोडौं नेपालीको भोगाइमा आधारित भएर भनेको हुँ। भोगाइ, सिद्धान्त र तर्कभन्दा बलवान हुन्छ।
नेपाल किन स्वन्तन्त्र थिएन त? नेपाल पराधिन न हुँदाहुँदै पनि स्वन्त्रत नहुनुको कारण यसको गरिबी हो। गरिबीले मुलुक सदियौंदेखि जरजर हुँदै आएको छ।
गरिबी कुनै समुदाय, जात, लिङ्ग बिशेषको मात्र नभएर सम्पूर्ण मुलुकको पीडा हो। हो केही जात, समुदाय लिङ्ग अरूभन्दा थोर बहुत गरिबीको सिकार होलान्। तर, समग्रतामा हामी सबै गरिब नै हौ।
गरिबीको बहुआयामिक पाटो हुन्छन्। तर, यसका मुलत दुई प्रमुख कारण छन्, जसलाई यस् देशका प्रबुद्ध र कथित पढालिखा जमात गरिबीको कारक मान्न पनि तयार हुँदैनन्।
म आज ती करोडौ गरिबीलाई आफ्नो नियती मान्न मजबुर नेपालीको भोगाइलाई ब्यक्त गर्न चाहन्छु।
विभेद र अन्यायको गुलाम देश
नेपाल कहिलै न्यायपूर्ण समाज थिएन। र छैन पनि। जातमा आधारित समाज न्यायपूर्ण हुने कुरै हुँदैन। जातले सदैब घृणा, भय , दासत्व , शोषण र विभाजनलाई मलजल गर्छ।
यसले कुनै जात विशेषको सर्वोच्चताको कुरा गर्छ। मन र मस्तिस्कलाई खुम्चाउँछ।
भेडा बाख्रा झै जातको झुन्ड बनाउँछ। जातले महिलालाई अझ बढी सिमान्तकृत र शोषित बनाउँछ। जुन समाजमा महिला र ठूलो संख्यामा मानिस जन्मको आधारमा या भौगोलिक अथवा कुनै आधारमा बहिष्कारमा पर्छन् त्यहाँको विकास कसरी सम्बभ होला?
कुनै जात बिशेषले बनाएको कपडा, जुत्ता, गहना लगाइन्छ तर उसलाई अपवित्र मानिन्छ। जुन महिला बिनाको घर या परिवारको कल्पना पनि गर्न सकिन्नँ उसैमाथि हिंशा गरिन्छ। उसको कामको कुनै कदर हुँदैन।
जुन समाजमा लैगिकताको आधारमा पशुभन्दा तल्लो ब्यवहार गरिन्छ। जुन समाजमा दुर दराजका जनताको आवाजको सुनुवाई हुँदैन।
त्यस समाजको उत्पादकत्वमा के असर पर्छ बुझ्न अर्थशास्त्र पढ्नु पर्दैन। जब न्याय पाउन सडकमा उत्रनुपर्छ र तै पनि न्याय पाइन्न त्यो समाज गरिब नै हुन्छ।
एउटा कथित दलितको होटेलमा अन्य जाति शहजै गएर खाने स्थिति आजसम्म बनेको छैन। यस्तो अवस्थामा त्यो कथित दलित कसरी आर्थिक रुपमा मजबुत होला?
कथित दलित गरिब हुँदा वास्तवमा अन्य जाति पनि गरिब भईरहेका हुन्छन्। किनभने, हामी गरिबी बाडिँरहेका हुन्छौं।
कुरा कथित दलितको मात्र होइन एउटा कथित ब्राह्मण पनि गरीब हुन्छ। निर्मला पन्तकै कुरा गरौं।
पहिलेदेखि गरिब परिवार त्यसमा छोरीको हत्या पछि झन छिन्न भिन्न भएको छ। उनको परिवार जीवनका मूल्यवान पल न्यायको खोजीमा बिताउँदैछ।
एकातिर छोरी गुमिन् उतातिर पेट पाल्ने एउटै माध्यम पनि प्रभावित भयो। यो परिवार अन्यायका कारण झन गरिब हुँदै छ। यसको प्रभाव यो परिवारको थुप्रै पीडीले भोग्ने छ। अन्याय/ बिभेदको गरिबिसँग प्रत्यक्ष सम्बन्ध हुन्छ। यति बुझे न्याय बुझिन्छ।
पर्यावरण प्रति न्यून जवाफदेहिता/प्राकृतिक स्रोतको दोहन
हाम्रो देशका शहर हेर्दा ‘झोपडपट्टि’ भन्दा फरक देखिन्नन्। कारण हाम्रो सोचको दरित्रता। हामी जहाँ मन लाग्यो थुक्छौ। जहाँ मन लाग्यो शौच गर्छौं। यत्र तत्र फोहर फाल्छौं।
यहाँसम्म कि मठ मन्दिरमा पनि जथाभाबी फोहोर गर्छौ।
हामीलाई सामान्य नागरिक जिम्मेवारी ‘सिविक सेन्स’ पनि बोध हुँदैन। विकासको नाममा बन फडानीले विकास होइन बिनास निम्त्याउँदै छौ भन्ने बुझेर पनि आफ्नो निजी स्वार्थका लागि देश र आउने सन्ततीको भविस्य अन्धकारमय बनाउन उद्दत छौं।
जबसम्म समाज न्यायपूर्ण हुँदैन, प्रकृति र पर्यावरणसँग सन्तुलित व्यबहार गरिन्न त्यो देश गरिब नै रहन्छ भन्ने हामीले मनन् गर्नुपर्छ।
समानता, स्वतन्त्रता र समृद्धिका नाममा देशमा ठूला ठूला राजनीतिक परिवर्तन भए। ती परिवर्तन पूर्ण सत्य थिएनन्। ‘ह्याव्स र ह्याव्स नट’ को दूरी कम गर्नेले ‘अधिकार माग्ने’ र ‘अधिकार दिने’ को नयाँ बर्ग खडा गरिदिए। अधिकारका लागि महिला, कथित दलित तथा हर कोइ सडकमा छन्।
यो भन्दा लज्जाजनक स्थिति के होला? अधिकार माग्नु पर्छ र? प्राणी भएर जन्मेपछि हावा, पानीझैं उसले अधिकार पाउनुपर्ने होइन र? आफ्नो कर्तब्य निर्बाह गर्ने होइन र? तर, होइन रहेछ यहाँ आधा सत्य देखाइन्छ। जनता विश्वाश गर्छ र आफ्नै स्वतन्त्रतालाई बन्धक बनाउनपुग्छ।
केही दिन अघि ईलामबाट सुरू भएको सत्याग्रहका विषयमा धेरैखाले प्रश्न उठे। डाक्टर केसीको पहिचान एक निस्वार्थ मानव, एक सत्याग्रहीको हो। जो जनताको श्वास्थ्य सेवामा भएका विकृति हटाउन आफ्नो ज्यानको बलिदान दिन पनि तयार छन्। यस्तो कोही महान मानवले मात्र गर्नसक्छ। तर, उहाँको सत्याग्रह र त्यागको आलोचना गर्नु अपराध सरह नै हो। यहाँसम्मकी उहाँको भन्दा बिपरित बिचार राख्नेले पनि उहाँको मागप्रति ऐक्यबद्धता जनाउन आउँथे। एक प्रकारले एकताका प्रतिक थिए डाक्टर केसी।
तर यसपटक केहीले डाक्टर केसीप्रति अति असंवेदनशील अभिब्यक्तिसमेत दिए। यो दु:खद थियो। उनका अनुयायीले प्रतिवाद गरे।
आज मलाई १९८९ को अमिताभ बच्चनको फिल्म ‘मै आजाद हुँ’ को याद आइरहेको छ।
फिल्ममा भनिएको छ- आधा सच, झूट से भी खतरनाक होता है।
हो यस् फिल्ममा झै अर्ध सत्यलाई सत्य ठानी लहडमा लाग्ने प्रबृत्तीका हामी सिकार हुँदै आएका छौ। जुन दिन हामीले आफू भित्र को “म “ लाई जगाउने छौ हामी सबै स्वन्तन्त्र हुनेछौ।
हामी न्यायको यात्रामा हिँड्ने छौ, देश गरिब हुनेछैन। सही अर्थमा हामी स्वतन्त्र हुनेछौं।
सबै कुरा हेर्दा के लाग्छ भने हामी मनोवैज्ञानिक रूपमा कहिलै स्वतन्त्र थिएनौं। स्वतन्त्र हुन सबैले डक्टर केसी बन्नुपर्ने छ। ईर्श्या, राग, द्वेश, घृणा, लालच, जातिवाद त्याग्नुपर्नेछ। अनि शानसँग भन्नेसक्ने छौ- म स्वतन्त्र छु। म नेपाली हुँ।