अमेरिकामा नेपाली गणितज्ञहरुको संगठन ‘एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियन इन अमेरिका’ को पाँचौ साधारण सभा सम्पन्न भएको छ।
बाल्टिमोरमा जनवरी १७ मा सम्पन्न साधारण सभाले डा. केशब पोख्रेलको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालको निम्ति ११ सदस्सीय कार्यसमिति गठन गरेको छ।
कार्यसमितिमा डा. केदार नेपाल (उपाध्यक्ष), डा. राम काफ्ले (उपाध्यक्ष), सुवास सुबेदी (सचिव), डा. गोकर्ण अर्याल (कोषाध्यक्ष) निर्वाचित भएका छन भने डा. अशोक अर्याल, डा. भिखारी थारु, डा. मनोज थापा, सुवास आचार्य, सुन्दर तामाङ र डा. हुमनाथ भण्डारी सदस्यमा निर्वाचित भएका छन्।
साधारण सभामा आमन्त्रित म्याथम्याटीकल एसोसियसन अफ अमेरिका (MAA) का भूतपूर्व अध्यक्ष डा. डेभिड कंगले गणित अनुसन्धान र प्राध्यापनमा सफलता हासिल गर्ने उपायहरु सुझाएका थिए।
नव निर्बाचित अध्यक्ष डा. पोख्रेलले आगामी दुई वर्षको कार्यकालमा अमेरिकामा बसेका नेपालीहरुको बीचमा सम्पर्क र सहकार्यलाई तिब्रमा दिदै संस्थाले बिगतमा गर्दै आएको कार्यहरुलाइ अझै परिस्कृत गर्दै नेपाली गणितज्ञ हरु बिचमा अझै धेरै सहकार्य गर्न सकिने बाताबरण बनाउँन लागिपर्ने बताएका थिए।
अनुसन्धान र अध्यापनका सिपहरु सेयरिङ गरेर नेपालमा गणित विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उपयोगी र गुणस्तरीय बनाउन सहयोगी भूमिका खेल्न सकिने विश्वास नवनियुक्त अध्यक्ष डा. पोख्रेलको छ।
नेपाल र मुलुकबाहिर रहेका नेपाली गणितज्ञहरु बिच गणित बिषयको अध्ययन, अनुसन्धान र अध्यापनको लागि सहकार्य गर्दै गराउँदै नेपालको गणितको स्तरोनत्तिको लागि काम गर्ने उद्धेश्यका साथ सन् २०१० मा स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै नेपालमा गणितका कार्यशाला, गोष्ठी र कन्फेरेस गर्दै आएको छ।
२०७६ सालको असार महिनामा संस्थाले नेपाल गणित समाज लगायतका नेपालका गणित संस्थाहरुसंगको सहकार्यमा दश दिने कार्यशाला सहित चार दिने वृहत अन्तरास्ट्रिय सम्मेलन गर्न गैरहेको छ। पोखरामा हुन गइरहेको यस कन्फरेन्समा गणितका बिभिन्न बिषयमा छ जना विश्वविख्यात अनुसन्धाता हरुले प्रवचन दिनेछन् भने अन्य धेरै मुलुकका २०० को हाराहारीमा गणितका अध्येता, अध्यापक र अनुसन्धाता जम्मा हुने विश्वास संस्थाका निवर्तमान अध्यक्ष डा. नविन वैधको छ।