गैर आवासीय नेपाली सङ्घ एउटा अभियान हो । नेपाली नागरिकताको निरन्तरता, लगायत विदेशमा बस्ने नेपालीका अन्य चासोका विषयहरूमा एनआरएनए निरन्तर सक्रिय छ । संविधानमा एनआरएन नागरिकताको व्यवस्था पनि यो अभियानकै देन हो । यो कानुन बन्ने अन्तिम प्रक्रियामा छ । यो आंशिक सफलता मात्र हो ।
नेपाली नागरिकताको निरन्तरता लगायत, नेपालको आर्थिक विकासका लागि गैर आवासीय नेपालीको भूमिका लगायतका विषयमा हाम्रा थुप्रै मुद्दाहरू अझै पुरा हुन बाँकी छन् । यसैले यो अभियानमा विदेशमा बस्ने नेपाली समुदायको मजबुत साथ अझै आवश्यक छ ।
विश्वका झन्डै ८० देशमा फैलिएको एनआरएनए विदेशमा बस्ने सबै नेपाली समुदायको साझा संस्था हो । विदेशमा रहेका करिब ५० लाख नेपालीलाई यसले प्रतिनिधित्व गर्छ । निश्चित उद्देश्य रहेका राजनीतिक पार्टी र समूह भन्दा एनआरएनए वृहत् भएको कारण पनि यही हो । हामी विदेशमा बस्ने सवैका प्रमुख मुद्दाहरू एउटै भएकाले नै यो हाम्रो संस्था भएको हो ।
एनआरएनए अभियानलाई अझ मजबुत बनाउन अमेरिकामा बस्ने नेपाली समुदायलाई एनआरएनए अमेरिकाको सदस्य बनेर सामूहिक अभियानमा आबद्ध हुन हार्दिक अनुरोध गर्छु ।
खाडी मुलुक र मलेसिया पछि सबैभन्दा भन्दा बढी नेपाली बस्दै आएको देश अमेरिका हो । अमेरिकामा नै एनआरएनए कमजोर भयो भने यसले हाम्रो साझा अभियानलाई समेत कमजोर बनाउँछ । यो अभियान कमजोर हुँदा हाम्रा मुद्दाहरुपनि कमजोर हुन पुग्छन् ।
विभिन्न उतार चढाव देखिएपनि एनआरएनए अमेरिका बिस्तारै संस्थागत स्वरूप लिने क्रममा छ । अहिलेसम्म यो सबैभन्दा बढी सदस्य रहेको राष्ट्रिय समन्वय परिषद् पनि हो ।
एनआरएनए सचिवालय निर्माण, भूकम्पबाट प्रभावितहरूलाई सहयोग लगायतका क्षेत्रमा एनआरएनएले विगतमा अग्रणी भूमिका खेलेको थियो । यसलाई अझ बढाउन अमेरिकामा बस्ने तपाईँ हामी बढी भन्दा बढी एनआरएनए अमेरिकाको सदस्य बनेर आबद्ध हुँदा सहयोग पुग्छ ।
हाम्रा साझा मुद्दालाई सम्बोधनका लागि दबाब दिने देखि कुशल र अविवादित नेतृत्व चयनका लागि पनि एनआरएनए अमेरिकामा धेरै भन्दा धेरैको सहभागिता चाहिन्छ ।
एनआरएन अमेरिकाको सदस्य भए पनि नभए पनि हामी निश्चित समयभन्दा बढी विदेशमा बिताएका प्राय सबै गैर आवासीय नेपाली हौँ । तर,एनआरएनए अमेरिकामा आबद्ध हुँदा एनआरएन अभियानको मनोबल बढ्छ । बढी भन्दा बढी सदस्य हुँदा नै एनआरएनए अमेरिका समावेशी, प्रभावकारी, स्वच्छ बन्छ ।
त्यसैले आउने फ्रेअवरी १५ भित्र एनआरएन अमेरिकाको सदस्यता लिई एनआरएनए अमेरिकालाई मबजुत बनाउन र एनआरएन अभियानमा आबद्ध हुन म अमेरिका बस्ने नेपाली समुदाय सबैलाई पुन हार्दिक आग्रह गर्छु ।