आठ वर्षीया श्रेया पराजुली नेपालीमा बोल्न मञ्चमा पुग्दा, दर्शकदीर्घामा बसेकी उनकी आमा हिमालशोभा धमलाको उत्सुक्ता हेर्न लायक थियो । अमेरिकाको केन्टकीस्थित लेक्सिन्टनमा एन्का शिक्षा समितिद्वारा आयोजित ‘प्रमाणपत्र तथा पुरस्कार वितरण’ समारोहमा, जब श्रेयाले बिना गल्ती एक सयसम्म खर्र भनिन् हिमालशोभाका आँखा खुसीले रसाएका देखिन्थे । किनकि यो सफलता हेर्न उनले दुई वर्ष कुर्नुपरेको थियो ।
२०१७ जुलाईदेखि सुरु भएको ‘हाम्रो नेपाली पाठशाला’ की नियमित विद्यार्थी श्रेया अहिले नेपालीमा लेख्न र बोल्न सक्छिन् । श्रेयासँगै उनका पाँच वर्षीय भाइ श्रीयम पनि पाठशाला जान्छन् । उनले नेपाली राष्ट्रिय गान गाउन यहीँ सिकेकाहुन् । अर्का १० वर्षीय प्रशंसा अवस्थी नेपाली बार र महिना नबिराई भन्न सक्छन् । यसको श्रेय पनि पाठशालालाई नै जान्छ ।
श्रेया, श्रीयम र प्रशंसा मात्र हैन उनीहरू जस्तै ९२ जना विद्यार्थी ‘हाम्रो नेपाली पाठशाला’ मा नेपाली भाषा (लेख्न र बोल्न) सिकिरहेका छन् । यहाँ भाषा मात्र हैन नेपालको संस्कृति, भूगोल, चाडबाड आदि विभिन्न कुरा पढाइन्छ ।
नेपालमा छँदा छोराछोरीले अङ्ग्रेजी बोल्दा मक्ख पर्ने अभिभावक यहाँ नेपाली बोलेको देखेर दङ्ग पर्छन् । किनकि, उनीहरूमा आफ्ना सन्तानले मातृभाषा र परम्परा बिर्सने हुन् कि भन्ने चिन्ता छ । नेपाली परिवेशको अभाव र अत्यधिक समय फोन तथा कम्प्युटरमा बिताउने बानीका कारण पनि नयाँ पुस्ता यस्ता कुरामा खासै चासो राख्दैन । यस्तो अवस्थाले विदेशी भूमिमा नेपाली भाषा कक्षा अझ अपरिहार्य बन्दै गइरहेको प्रस्ट हुन्छ ।
यद्धपि, अङ्ग्रेजी माहौलमा हुर्किएका केटाकेटीलाई अनौपचारिक शिक्षण प्रद्धतिमा नेपाली सिकाउन सजिलो नभएको भाषा शिक्षक डमरु पौडेलको अनुभव छ । नेपालमा झन्डै तीन दशक शिक्षण पेसामा बिताएका पौडेलका अनुसार, शुद्ध नेपालीमा भनेका शब्दहरू उनीहरूले बुझ्दैनन् जसलाई अङ्ग्रेजीमा अनुवाद नगरिहुँदैन । उनी थप्छन्– ‘सहज शब्दको खोजी र त्यसलाई बुझाउन अनेक तरिका अपनाउनुपर्छ ।’ अर्कोतिर, विद्यार्थी तथा अभिभावकमा अनिवार्य र पढ्नै पर्ने जरुरी नभएको मनोविज्ञानले पनि पढाइमा बाधा पुर्याईरहेको उनको बुझाइ छ ।
हप्ताको एक दिन दुई घण्टा पढाउने गरेको जानकारी दिँदै पौडेल भन्छन्– ‘कतिपय अभिभावकको उदाशिनताले विद्यार्थीको नियमित उपस्थितमा असर पर्ने गरेको छ । जुन कुरा पढाइको लागि राम्रो होइन ।’उसो त यस्ता कक्षाले आफ्ना छोराछोरीमा पढ्ने रुचि थप बढेको, नेपाल र नेपाली भाषाबारे घरमा छलफल हुन थालेको भन्दै खुसी हुने बाबुआमा पनि कम छैनन् । ‘कति नानीहरू पाठशाला आउन नसकेका वा नपाएका दिन रुवाबासी गर्छन् ।
कक्षामा स्वयं उपस्थित भएर पढाउन, लेखाउन खेलाउन सहयोग गर्ने अभिभावक पनि छन् ।’ शिक्षक पौडेलले आशावादी हुँदै भने– पहिलो वर्षभन्दा यस वर्ष अलिक सन्तोषजनक रह्यो । शायद यो क्रम आउँदा दिनहरूमा अझै बढ्दै जाला ।’काठमाडौँ विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई पढाएको अनुभवले आफूलाई यहाँ केही सजिलो भएको पौडेल बताउँछन् । ‘आफैँले लेखेको ‘भाषा सागर’ बुक सिरिजमा आधारित भएर पाठ्यक्रम तयार पारेको छु । जसलाई श्रव्यदृश्यका माध्यमबाट पढाउँदैछु’, पौडेलले प्रष्ट्याए ।
केन्टकीमा मात्र हैन अमेरिकाका अन्य विभिन्न राज्यमा नेपाली कक्षाहरू सञ्चालन भइरहेका छन् । भर्जिनियाको मनासस र सेन्टरभिलमा तीन वर्षदेखि र नर्थ कयारोलाइनमा एक वर्ष अघिदेखि भाषा कक्षा सञ्चालनमा रहेको जनाइएको छ । मनाससस्थित अमेरिका नेपाल शिक्षा सदनका सदस्य शिव तिम्सिनाका अनुसार प्राथमिक, मध्य र उच्च गरी तीन श्रेणीका कक्षा चालू छन् । जहाँ विद्यार्थी नेपालीमा निबन्ध, कविता लेख्नसक्ने भएका छन् ।
त्यसै गरी नेपालीहरूको ठुलो समुदाय रहेको डालस, टेक्सासमा पनि विगत लामो समय देखि स्थानीय सामाजिक संस्था नेपाली समाज टेक्सासले नेपाली पाठशाला सञ्चालन गर्दै आएको छ। नेपाली समाज टेक्सासका महासचिव भक्त भण्डारीका अनुसार हाल नेपाली पाठशालामा ६० जना विद्यार्थीहरूलाई नेपाली भाषा, गणित तथा सामाजिक शिक्षा सिकाइने गरिएको छ।
विगत २० वर्ष देखि अनब्रत रूपमा सञ्चालित डालसको यो नेपाली पाठशाला नेपाल बाहिरका नेपाली समुदायहरूमा सम्भवतः सबै भन्दा पुरानो पाठशाला हो।
डायसपोरामा रहेका नेपाली समुदायलाई सहयोग हेतु गैर आबशिय नेपाली सङ्घ, राष्ट्रिय परिषद् अमेरिका (एनआरएन अमेरिका) ले ७ कक्षा सम्मका लागी नेपाली भाषा पुस्तिका तयार गरेको छ।
विदेशका नेपालीहरूमा आफ्ना सन्ततिहरूले नेपाली भाषा सिकिदिए हुन्थ्यो भन्ने कामना व्याप्त रहेको महसुस गरेका गैर आबशिय नेपाली सङ्घ, राष्ट्रिय परिषद् अमेरिका (एनआरएन अमेरिका) का कार्यकारी सदस्य तथा नेपाली भाषा पुस्तिका प्रकाशन समितिका संयोजक कृष्ण लामिछानेले भने " हामीले हाम्रा सन्ततिहरूलाई नेपाली भाषा सिकाउन अति नै जरुरी छ। देशसँग हामीलाई भाषाले जोड्छ"