अमेजन सीइओ जेफ बेजोस र नेसनल इन्क्वायरर आरोप प्रत्यारोप:
हालै पारपाचुके भएका संसारकै धनी व्यक्ति अमेजन सीइओ जेफ बेजोस र अमेरिकी पत्रिका नेसनल इन्क्वायरर बिच समाचार प्रकाशनको विषयमा मतभिन्नता सृजना भएको छ।
बेजोसले नेसनल इन्क्वायररले ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।
बेजोसको पारपाचुकेकोको निकै चर्चा भएको थियो । उनको अर्की महिलासँगको सम्बन्ध बारे पनि समाचारहरू प्रकाशित भए । त्यही संधर्बमा करिब एक महिना अघि नेसनल इन्क्वायरर पत्रिकाले बेजोस र लरेन सान्चेजबीचको विवाह बाहिरको कथा सार्वजनिक गरेको थियो । सो कथा राजनीतिक प्रतिशोधका कारण प्रकाशित गरिएको बेजोसले आरोप लगाए पछि उक्त आरोप फिर्ता गर्न नत्र आफूले बेजोस र लरेन सान्चेज बिचको अन्तरङ्ग तस्बिरहरू सार्वजनिक गर्ने धम्की दिएको आरोप बेजोसले इन्क्वायरर माथि आरोप लगाएका छन् ।
नेसनल इन्क्वायरर त्यही पत्रिका हो जसले राष्ट्रपति ट्रंप र प्लेबोय मोडेल केरेन मेकडुगल बिचको सम्बन्धको विषयमा लेखिएको कथा किनेर प्रकाशित नगरी दबाएको थियो ।
सर्वोच्च अदालतले लुजियानाको गर्भपतन विरोधी कानुन रोक्यो:
फेब्रुअरी ७ मा सर्वोच्च अदालतले ५-४ को निर्णयबाट लुजियानाको गर्भपतन विरोधी कानुन रोकेको छ।
महिला अधिकारवादीहरूले सर्वोच्च अदालतको यो निर्णयको स्वागत गरेका छन् ।
यस पूर्व लुजियाना राज्यमा जम्मा एउटा मात्र गर्भपतन गराउएन क्लिनिक रहन्थ्यो । अब भने यसको अन्तिम सुनुवाइ नभए सम्म लुजियानामा ३ वटा क्लिनिकले गर्भपतन पाउने भएका छन् ।
कन्जरभेटिभहरुको बाहुल्यता रहेको अहिलेको सर्वोच्च अदालतमा प्रधान न्यायाधीश जोन रोबर्टले लिबरल नीतिमा साथ दिए पछि यस्तो निर्णय आएको थियो । २०१६ मा टेक्ससमा लागु गर्न लगिएको यस्तै कानुन पनि सर्वोच्च अदालतले रोक्का गरिदिएको थियो ।
२०१४ मा पास गरिएको लुजियाना राज्यको यो गर्भपतन सम्बन्धी कानुन फेब्रुअरी ११ देखि लागु हुने अवस्थामा थियो । यसले गर्भपतन गराउने एउटै मात्र क्लिनिक हुने अवस्था आउँथ्यो भने त्यसमा रहेका प्रावधानहरूले गर्भपतनलाई निकै जटिल र कठिन प्रक्रियामा लैजान्थ्यो ।
राष्ट्रपति ट्रंपद्वारा संसद्को संयुक्त सदन (स्टेट अफ द युनियन) लाई सम्बोधन:
गत फेब्रुअरी ५ तारिख मङ्गलवार राष्ट्रपति ट्रंपले 'स्टेट अफ द युनियन'लाई सम्बोधन गरेका छन् ।
सामान्यतया जनवरी महिनाको अन्तिम मङ्गलवार राष्ट्रपतिले सम्बोधन गर्ने चलन चल्दै आए पनि सरकार आंशिक बन्दको कारण देखाउँदै प्रतिनिधिसभाकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपतिलाई सम्बोधनको लागि निमन्त्रणा गरिनन् । ३ हप्ताको लागि आंशिक सरकार बन्द खोल्न ट्रंप सहमत भए पछि एक हप्ता ढिला मात्र राष्ट्रपतिको सम्बोधनको कार्यक्रम तय भएको थियो ।
करिब डेढ घण्टा लामो उक्त सम्बोधनमा केही सकारात्मक कुराहरूको चर्चा गरे पनि धेरै जसो समय ट्रंपले दक्षिणी सीमामा सङ्कट रहेको कुरा व्यक्त गरे । अधिकतम अवैध आप्रवासीहरू आकाश मार्ग बाट आएको तथ्य भए पनि जमिनबाट हुने प्रवेशलाई उनले आफ्नो हरेक भाषणको एजेन्डा जस्तै काँग्रेसका सदस्यहरूलाई पनि सुनाए ।
मुलरको अनुसन्धान तर्फ इङ्गित गर्दै उनले यस्ता पार्टीगत अनुसन्धानहरूले सँगसँगै काम गर्न नसकिने भन्दै असन्तुष्टि प्रकट गरे । त्यस्तै ट्रंप प्रशासनलाई जिम्मेवार बनाउन नयाँ काँग्रेसले थप क्षेत्रहरूमा अनुसन्धान गर्ने तरखर गर्दै रहेको अवस्था अहिले छ ।
स्टेट अफ द युनियनको सुरुवात सन् १७९० मा जर्ज वासिङ्टनको पालादेखि सुरु भएको हो । तर थोमस जेफर्सनले त्यो प्रचलन बन्द गरेर लिखित वक्तव्य काँग्रेसलाई पठाउने चलन सुरु गरे । उक्त चलन १९८१ सम्म अर्थात् राष्ट्रपति जिम्मी कार्टरको पालासम्म लागु भयो । त्यस पछि सांसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्दै आएका छन् ।