केही वर्ष यता हाम्रा क्रिकेट खेलाडीहरूले उच्च स्तरको खेल प्रदर्शन गरिरहेका छन्। फलस्वरूप: विभिन्न प्रतियोगिता जितेर आम नेपालीलाई खुसीका पल दिइरहेका छन्। विदेशी भूमिमा मातृभूमिको नेपालको झन्डा फराइरहेका छन। नेपाली क्रिकेटको मौजुदा हालत र खेलाडीको सफलता दाँजेर झट्ट हेर्दा लाग्छ भगवानको अनुकम्पाले चमत्कार हुँदै छ। क्रिकेट खेलमा मिहेनत, प्राविधिक कौशल, धैर्यता, निरन्तरता लगायत मनोवैज्ञानिक पक्षको ठूलो भूमिका हुन्छ।
मैदानमा बारम्बार राम्रो प्रदर्शन गर्न एउटा खेलाडीलाई हौसला र उत्प्रेरणा पनि चाहिन्छ। यसरि हेर्दा हाम्रा क्रकेट खेलाडीको जति तारिफ गरे पनि कम हुन्छ। त्यसो त नेपाली क्रिकेट स्तरोन्नतिको चर्चा तारिफ र कदर अन्तर्राष्ट्रिय रुपमै हुँदै छ। यसैको छत्रछायामा उपल्लो तहका व्यवसायिक प्रतिस्पर्धाले नेपाली खेलाडी स्वागत गर्ने क्रम सुरू गरे- सन्दिप लामिछानेले त अवसर मात्रै पाएनन्, प्रमाणित पनि गरिदिए पहिलो अवसरमै। अहिले त उनी संसारकै चर्चित व्यव्यसायिक क्रिकेटका हट केक!
झन् नेपाली क्रिकेट नायक पारस खड्का नचिन्ने को होला र क्रिकेट दुनियाँमा? पछिल्लो पटक अन्तर्राष्ट्रिय एक दिवसीय र २०/२० ओभरको सिरिज जित्दै गर्दा त झन् कलिला उमेरका खेलाडीले तहल्कै मच्चाए। सचिन तेन्दुलकरको रेकर्ड समेत तोडियो। गौरवले नेपाली छाती फुल्यो। नेपाल क्रिकेट टिमले प्रतिस्पर्धा जित्दै गर्दा होस् या राम्रो खेल्दै गर्दा सम्पूर्ण नेपालीलाई नै गौरव यस मानेमा हुनुपर्छ- त्यहाँ देशको नाम गुन्जिएको हुन्छ, नेपाली ध्वजा फर्फराएको हुन्छ।
छिमेकी भारतलाई हेरौं- यदि त्यो स्तरको जनसमर्थन नहुने हो भने उनीहरुको क्रिकेट त्यति माथि पुग्ने थिएन। अर्को तर्फ सिंगो भारतलाई क्रिकेटले एक ठाउँमा उभ्याइदिएको छ। त्यहाँका राजनीतिज्ञ, धनाढ्य व्यापारी, कलाकार देखि सर्वसाधारणले उतिकै साथ दिएका छन् खेलक्षेत्रलाई- विशेष गरि क्रिकेटलाई। देश जतिसुकै धनि भए पनि आम देशवासीको उल्लेख्य साथ नपाए कुनै पनि खेल अघि बढ्दैन। त्यो यथार्थ बुझेर अहिले अमेरिकामा फुटबलको व्यापक प्रचार गर्न थालिएको छ। अमेरिकीहरूका त धेरै छन गौरवका विषय, धेरै छन उनीहरुसँग विजयोत्सव मनाउने खेलहरू। नेपालमा भने कमै छन देशले नै गर्व गर्न लायक खेलहरु - त्यसमा पनि क्रिकेटले नै हो धेरै सभावना बोकेको। छातीमा हात राखेर सोचौं- हामीले के दियौं त अहिलेसम्म क्रिकेट खेलाडीहरूलाई ठोस रुपमा भन्नु पर्द
अर्को तिर ३ करोड जनसंख्या भएको देशका लागि कति अन्तर्राष्ट्रिय स्तरका रंगशाला चाहिएला? काठमाडौँ, पोखरा, विराटनगर, भरतपुर, बिरगंज, धरान जस्ता प्रमुख सहरमा फूटबल र क्रिकेटका १/१ वटा गरेर पनि ३०-४० वटा त नचाहिएला र? तर कति अन्तर्राष्ट्रिय स्तरका कति रंगशाला छन् नेपालमा? जम्मा एउटा दशरथ रंगशाला फुटबलका लागि- त्यो पनि पानी नपर्ने याममा मात्र काम चलाउ खेल्न मिल्छ। क्रिकेटको रंगशाला त छँदै छैन किर्तिपुर विश्वविद्यालयको एउटा काम चलाउ मैदानमा हो अहिले सम्म नेपालका अब्बल क्रिकेट खेल हरु हुने। त्यो झट्ट हेर्दा एउटा स्कुलको खेल मैदान जतिको पनि छैन।
यसरी क्रिकेट खेलका लागि विभिन्न भौतिक व्यवस्थापन लगायत अन्तर्राष्ट्रिय रंगशालाको टड्कारो आवश्यकता खड्किएको छ। तत्काल हेर्दा राज्यले राजनैतिक मूलधारका प्रत्यक्ष-परोक्ष खेलाडी बाहेक अन्य खेलक्षेत्रका सोच्न फुर्सद छैन। राज्यको लगानी, बोलपत्र, कमिशन, ठेक्कावालको ढिलासुस्ती, लापरवाही त्यसमाथि राजनीति, र विभिन्न निकायको फोहोरी खेलबाट गुज्रिएर यो अघि तत्काल परिणाम दिने गरी बढ्ने संकेत पनि देखिदैंन। उदाहरणका लागि एघार वर्ष अघि सुरू भएको मूलपानी रंगशालाको परियोजना सम्झे पुग्छ।
कप्तान पारस खड्का र उनी नेतृत्वको टिमले ब्याट-बलको खेल दौरान अम्पायरलाई जति अपिल गरे, शायद त्यो भन्दा बढी सम्वन्धित निकायलाई अपिल गरे होलान्। तर क्रिकेटका खाल्डा-खुल्डी पुर्ने सम्मको पनि सहयोग मिलेन। चन्द्र-सुर्य झन्डाका नाममा निरन्तर जित निकाली रहेको खेल क्षेत्रको यो हविगत हुँदा कुन नेपाली नागरिकलाई चित्त बुझ्ला र? यस्तो विषम परिस्थिति माझ धुर्मुस-सुन्तलीले आम जनताको प्रतिनिधित्व गर्दै क्रिकेट रंगशाला निर्माण अगाडि बढाउनु अत्यन्तै स्वागतयोग्य छ।
हेर्नोस् त, रंगशाला बन्न लागेको खबरले खेलाडी कति उत्साहित भएका छन्? वास्तवमा व्यक्ति/व्यक्तिको चित्त दुखाइलाई एकै ठाउँ जोडेर गैरजिम्मेवार प्रवृतिप्रति लक्षित रचनात्मक विरोधको रूपमा पनि लिन सकिन्छ यो अभियानलाई। यसले जनतामा विकास निर्माणसँग सम्वन्धित चेतनास्तर धेरै बढाउने वाला छ। यदि यो अभियान भने जसरी सम्पन्न भयो भने राज्यका अन्य निर्माणमा पनि धेरै छलछाम र भोलिवादले चल्ने वाला छैन।
अब यहाँनिर यो निर्माण राज्यले गर्ने काम अर्थात राज्यबाट आर्थिकभार व्यहोर्नु पर्छ भनेर स्वर उठ्नु नराम्रो चाहिँ हैन। रंगशालाको सट्टा अस्पताल, स्कुल या अन्य कुनै परोपकारी कामलाई महत्व दिएको भए हुने भन्नु झन् स्वागतयोग्य कुरा हो। विदेशमा श्रम गर्ने नेपालीको गाँस काटेर उठाएको पैसा यस्ता कुरामा किन लगानी गर्ने भन्ने तर्क झन् कति मार्मिक छ। त्यसो त यसका पक्षमा पनि समर्थन बुलन्द छ। यो क्रिकेट रंगशाला अभियानले जुन कोणबाट पनि राज्यका लागि केही न केही योगदान गर्ने कुरामा नै अभिप्रेरित गरेको छ।
दोश्रो, यसले क्रिकेटलाई झनै प्रचारप्रसार गरेको छ। यसरी खोस्रिन श्रीगणेश नगर्दैदेखि यस अभियानले देशलाई केही न केही दिन सुरू गरिसक्यो। निर्माण सम्पन्न हुँदा त यसले तरंग नै ल्याउँछ। किनकि अहिले हामीलाई सयौ थुंगा फूल जोड्ने बलियो धागो चाहिएको छ। यस सन्दर्भमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठा बोकेका खलेको विशेष महत्व छ। त्यस्ता खेल नेपालमै अन्तर्राष्ट्रिय स्तरका रंगशालामा हुनु महत्वपूर्ण छ। त्यसैले धुर्मुस-सुन्तली २ वर्षमा सम्पन्न गर्ने यो लक्ष राखेको यो अभियान आफैंमा एउटा सत्कर्म हो।
सत्कर्म त जसले जहाँबाट जसरी जति सक्दो गरे पनि त भो। विभिन्न ठाउँमा त्यतिका सुन्दर एकीकृत बस्ति निर्माण गरिसकेका धुर्मुस-सुन्तली जस्ता गौरव गर्न लायक समाजसेवी तथा कलाकारबाट यो सत्कर्म अघि बढ्नु झनै महत्वपूर्ण छ। यसका लागी देश-विदेशका नेपाली खेलप्रेमी र राष्ट्रप्रेमी नागरिकले आफ्नो स्वेच्छा र गच्छे अनुसारको सहयोग गरेर धुर्मुस-सुन्तली फाउन्डेशनलाई यो गौरवपूर्ण अभियानमा साथ दिनु आफैंमा एउटा पुण्य कर्म हो। पुण्य यसकारण कि यो सहयोगले खेलाडीदेखि सम्पूर्ण क्रिकेट प्रेमीका मनमा खुसी दिने छ। केहीले रोजगारी पाउने छन भने त्यो क्षेत्रको अन्य विकासमा पनि टेवा पुग्ने छ। एउटा क्रिकेट रंगशाला पनि नभएको देश भन्ने दाग मेटिँदै गर्दा ठूलो राहत महसुस हुन्छ।
अर्कोतिर धुर्मुस-सुन्तली फाउन्डेशनलाई साथ, सहयोग, हौशला र शुभेच्छा चाहिएको बेला यसप्रति नकरात्मक टिप्पणी, खिल्ली, अफबाह र दुराग्रह देखिनु दुर्भाग्यपूर्ण छ। अझ बिभिन्न मिडिया मार्फत यसको चर्को विरोध गर्दा सम्पूर्ण क्रिकेट खेलाडी, खेलप्रेमी मात्र नभइ यसमा उत्साहपूर्वक लागेका सबै तह र तप्काका नागरिकप्रति निर्मम अन्याय हुँदैन र?
त्यसो त पछिल्लो समय समाजमा विभिन्न व्यक्तित्वहरुले मानव सेवा, परोपकार र सामाजिक सुधारका लागि तन, मन, धन दिएर गरिरहेको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ। धुर्मुस-सुन्तलीको यो अभियान पनि प्रकारान्तरले त्यसैमा निरन्तरता हो-अर्को कोसेढुंगा हो। उहाँहरू जस्तै विभिन्न अभियन्ताकै कारण देश विदेशका नेपाली मन एकजुट भएका छन।
सकारात्मक उर्जा, हौसला र प्रेरणा संचार भएका छन। गरिवका दुःख केही हदसम्म बाँडिएका छन्। बन्धुत्व बढेको छ। राजनीतिले फाटेका धाजा जोड्ने काम गरेका छन्। राज्यलाई झक्झकाउने काम भएको छ। जवाफदेहिताको माग बढेको छ। राज्यका धेरै झुट पर्दाफास भएका छन्। जनतामा गरे हुने रैछ भन्ने भावना जागेको छ। तर सिंगो देशको मुहार फेर्न त लोक-कल्याणकारी नीति प्रति प्रतिवद्ध, जिम्मेवार र दृढ इच्छाशक्तिले ओतप्रोत राजनैतिक नेतृत्वमा राज्यका सारा प्रणाली एकै सुर र एकै तालमा होमिनु पर्ने हुन्छ।
राज्य-निकायका उदासिनताले देश निर्माणका धेरै सुनौला अवसर खेर गइसके र गइरहेका छन। अझ राजनीतिले हर क्षेत्र गिजोल्ने क्रममा क्रिकेट पनि अछुतो रहेन- खेल क्षेत्रको सुको ज्ञान नभएका मान्छे क्यानका अध्यक्ष बनाइयो। परिणाम - आइसीसी मार्फत क्यानको निलम्वन, राम्रो क्रिकेट खेले वापत नेपालले पाउनै लागेका आर्थिक सहयोगदेखि खेलाडीको तलबसम्म रोक्का। खेलाडीले बिचरा खेलून् कि खेल्ने वातावरण मिलाई पाउँ भन्दै राजनैतिक पापड बेलून्? खेलून् कि आइसीसीको मामला झेलून्?
यस्तो अवस्थामा पनि क्रिकेट खेलाडीले उच्चस्तरको प्रदर्शन गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता जिताएर हामीलाई खुसी दिए। गर्वलायक क्षण दिए। विश्वमा नेपालको सकारात्मक छवि बनाए, केही हदसम्म भए पनि। जित पछि 'ओभरै पिच्छे डल्ला फ्याँको, विकेट लियो, गोर्खेले मौका पायो कि मुङ्ग्रोले चौका छक्का पिटी हाल्यो' जस्ता टुक्का जोड्न त रमाइलो हुन्छ। तर अब, अहिलेसम्म पाएका सफलतालाई अर्को उचाईमा पुर्याउन ठोस रुपमै केही गर्नै पर्ने भएको छ- त्यो पनि आमजनताले नै अग्रसरता देखाउनु पर्ने भएको छ। धन्न धुर्मुस-सुन्तली जस्ता अभियन्ता पाएका छौं हामीले। नत्र त आर्थिक सहयोग गर्ने मन भएर पनि यस्तो अवसर कहाँ सम्भव हुन्थ्यो र?
त्यसैले देश, काल र परिस्थितिको वास्तविकतालाई सोचौं, र मनमा उर्लेका नकरात्मकवादी छालहरूलाई ठन्डा दिमागले मत्थर गरौं। छातीमा हात राखेर चन्द्र सूर्य झन्डा सम्झौ, नेपाली खेलाडीलाई सम्झौ, यसका प्रमुख अभियन्ता धुर्मुस-सुन्तलीको अहिले सम्मका परोपकारी कर्म सम्झौ। यसप्रति सहयोग गर्न मनै मानेन भने पनि ठीकै छ। तर यस अभियान प्रति असहयोग चाहिँ नगरौं। अर्थात् जो यसमा सहयोग गर्ने सोच्दै गरेका महानुभावलाई समेत दुरुत्साहित गर्ने खालका टिका टिप्पणी नगरौं।
र अन्त्यमा, धुर्मुस-सुन्तली फाउन्डेशनलाई थोरै सुझाव-
अचेल नमुना शब्द खुब प्रचलित छ। नमुना गापा, नमुना नपा, नमुना कामनपा, नमुना यो, नमुना त्यो हुँदै रंगशालासम्म नमुना आइपुग्यो- विश्वकै नमुना रंगशाला! सुन्दै पनि आनन्द आउने। तर नमुनाका नामका अनावश्यक खर्च नहोस्। बरू सकेसम्म त्यसलाई गुणस्तरीय, प्रविधियुक्त र खेलका हिसाबले सुविधा सम्पन्न बनाउन मै ध्यान केन्द्रित गर्दा राम्रो होला।
रंगशालामा कला-संस्कृति झल्काउने नाममा यस्तो पनि नहोस् कि त्यहाँ खास-खास धर्म या सम्प्रदायको रंग झल्किँदै गर्दा अर्को कुनै फिक्का देखियोस्। यस्ता कुराले कुनै खेलका क्रममा तनाव सिर्जना भयो भने अन्तर्राष्ट्रिय खेलभावनाको मापदण्ड विपरीत हुन जान्छ। त्यसले अनपेक्षित सजाय पनि भोगाउन सक्छ, र देशकै बदनाम हुन्छ। त्यस्ता संरचना रंगशालाका वरपर बनाउँदा उचित हुन्छ जुन कुरा यो परियोजनाले नसमेट्दा पनि फरक पर्दैन।
अर्को कुरा तटस्थ भूमिको रूपमा भारत र पाकिस्तानको खेल खेलाउने सपना देख्नु नराम्रो होइन। हुन त सपनावादीहरूलाई शंकाको लाभ दिन उदार छ नेपाली समाज। तर राजनीतिमा नजोडिएका अभियन्ताले यस्ता प्रचार नगरी दिए हुन्थ्यो। यिनीहरुलाई खेलाउन रंगशाला नै पनि जम्मा एउटाले कहाँ मान्ला र? मुख्य कुरो त्यस्ता म्याचमा आइपर्ने सुरक्षा चुनौती अत्यन्तै जटिल छ।
झन् भारतसँग खुल्ला सिमाना भएको हाम्रो देशले त्यस्ता सुरक्षा चुनौती सामना गर्न सक्ला? यही अवस्थामा त असम्भव नै लाग्छ। कथमकदाचित एकाध अप्रीय घटना भए अकल्पनीय परिस्थिति आउन सक्छ। अन्यथा नलिनु होला, बरू छिमेकी देशले कामना त यो गर्ने हो कि छिट्टै भारत र पाकिस्तान को तनाव हटोस्। उनीहरूका बीच हुने म्याच तटस्थ भूमिमा खेलिरहन नपरोस्- उनीहरुकै भूमिमा होस्।