देश बनाउने सपना देख्न सबैलाई अधिकार हुन्छ। यो भन्दा पवित्र सपना अरू के हुनसक्छ र? सपना जब यथार्तमा रुपान्तरित हुन्छ जनता र त्यो देशको माटोले त्यसको लाभ पाउँछ। सपना सपना रहन्न यसले ईतिहास रच्छ।
सपनाको कुरा गर्न मलाई खासै मन पर्दैन। जन्मेदेखि अहिलेसम्म मेरा हजारौं सपना टुटेका छन्। म टुटेकासपना बाट आहत हुन्न।
बरू मेरो सपना टुट्नुका कारण म केही हदसम्म आफू नै भएझै लाग्छ। मेरो सपना केही निजी थिए केही सामूहिक हितका लागि थिए। तर ती सबै विकासकै सपना थिए।
विकास त भनेँ। तर मैले वास्तवमा विकासको अर्थ कहिल्यै बुझिनँ र बुझ्ने प्रयत्न पनि गरिनँ। यही नै मेरो सपना टुट्नुको प्रमुख कारक थियो।
केवल एकोहोरो रटान लगाइरहेँ। मेरा सपनाको ‘मिस्क्यारिज’अझ भनौं गर्भपतन गर्ने नालायक म नै हुँ। म जुनसुकै समुदाय, पार्टी या पेशाको ब्यक्ति भए पनि मेरो राष्ट्रिय चरित्र सामन्तवाद हो। अर्थात ‘फिउडलिज्म’।
यस्तो चरित्र भएको समाजमा सपना र हिपोक्रसी बिच खासै भिन्नता हुँदैन। म त भन्छु यस्तो समाजमा स्वार्थ देखिन्छ सपना होइन। यहाँ कसैले इमान्दार सपना देखेन, जसले जे देखे तिनीहरू धेरै पृथ्वीमा रहेनन्। र कोही रहन पाएनन्।
चाहे त्यो उमेरका कारणले होस् या कुनै षड्यन्त्रका कारण। यसको फेहरिस्त लामो छ मलाई घाउँ कोट्याउने चाहना छैन। त्यो किमार्थ अर्को नालयकीपन हुन जान्छ। त्यसले पुन जात, धर्म, विचारधारा र स्वार्थमा बिभाजित देशलाई नराम्ररी हानी शिवाय केही गर्दैन।
मैलेँ यो लेख नलेखे पनि हुन्थ्यो। यसले देशको सोँच निर्माणको पथमा योगदान देला भन्ने मलाई रत्तीभर आशा छैन। तर, चुप लागेर बस्नु मेरो कायरता हुन्थ्यो।
मेरो मानब हुँ भन्ने पहिचानमाथि प्रश्न उठ्थ्यो। यो हुनु भनेको ब्यक्तिको मात्र होइन राष्ट्रको सामुहिक चेतनाको अवसान हो।
म यतिसम्म नालायक पनि छैन कि, देशका लागि खलनायक बनौं। त्यसैले यो देशको सार्बभौम नागरिकको हैसियतमा लेख्ने धृष्टता गरेँ।
धेरैलाई मन नपर्ला, माफि चाहन्छु। माफि लेख, लेखेकोमा होइन, ‘धेरैको आड्मा’ बहुमतको आडमा ब्यक्तिलाई बिचरो बनाइने दौडमा माफि माग्नु मै भलाई छ।
कुरो पञ्चायत कालको हो। हाम्रो टोलमा केही युवाले बाजा/गाजासहित देउँसी खेलेर टोल सुधारका लागि रकम जम्मा गर्ने योजना बनाए। यो कुराको प्रशासनलाई जानकारी दिएका थियौं। तर, प्रशासनले ठाडै रोक लगायो।
टोल छिमेकमा नाचेर हाम्रो देउसी समाप्त भो। पिकनिकमा गएर सपना सकियो। हाम्रो टोल सुधार गर्ने सपना तुहियो। त्यतिखेरका सासकको बुझाईमा विकास भनेको पुल, पुलेसा केही विद्यालय खोलिदिने आफ्ना आसे/पासेलाई बक्सिस दिने र बाँकीले ताली बजाउने हो भन्ने थियो।
२०४६ पछि प्रजातन्त्र आयो। मान्छे अली अली बोल्न थाले। तर, विकासको हाम्रो बुझाईमा भने तात्विक भिन्नता आएन। यसको एउटा दृष्टान्त मसँग जिवित छ।
म डाटा, तथ्याङ्कभन्दा दृष्टान्तमा भरोसा गर्छु। किन कि यसमा मानवलाई ‘सब्जेक्ट’ बनाइँदैन। मान्छेलाई सब्जेक्ट बनाउने कुरा मलाई अपाच्य हुन्छ। म यसलाई मानवीय समवेदनाको अबमूल्यन् ठान्छु।
कुरो २०४६ ताका कै हो। म सडकमा उभिरहेको थिएँ। एक जना रिक्सा चालक यात्रुसहित रिक्सा हुइँक्यादै म नजिक आएर रोकिए।
यात्रुले भने कति पैसा दिउँ तलाई। रिक्सा चालकले पाँच रूपैया हजुर भने। बढी बोल्चस् एक चड्कन लगाइदिउँ यात्रुले रवाफका साथ भने। दुई रूपैयाको नोट फालेर गाली गर्दै आफ्नो बाटो लागे।
त्यसपछि दस वर्ष देश द्वन्द्वमा गयो। विकासको आशमा थुप्रै ज्यानहरू गए। द्वन्द्व अन्त्य भयो। देशमा नयाँ संविधान लेखियो। थुप्रै सरकार फेरिए। थुप्रै ब्यक्ति प्रधानमन्त्री, मन्त्री भए।
२०४६ झै यस पटक पनि देशलाई स्वीटजरल्यान्ड सिंगापुर बनाउँछु भन्ने थुप्रै आए। जनता बोल्नमा पोख्त भइसकेका थिए। बोलीको कमि थिएन। तर, बोली कसैको पक्ष या बिपक्षमा कसैको दास या गुलाम या चम्चाको रूपमा प्रष्फुटित हुन्थ्यो।
समाज विभक्त त पहिले नै थियो अहिले त समाज नै थिएन। जनता जनता थिएनन्। केवल थिए त नेता र कार्यकर्ता। पशुपति शर्मा भन्ने एक साधारण गीत गाएर जनतालाई मनोरञ्जन दिने र परिवारको पेट पाल्ने एक गायकले एक गीत गाए मानौं भूकम्प नै गयो।
पशुपतिलाई यति त्रशीत पारियो कि, म जस्ता थुप्रै आम जनता आफू स्वतन्त्र सार्वभौम चेतनशील मानव हौं भन्ने कुरा भुल्न पुग्यौ।
शक्तिका अगाडि शक्तिहिनले के गर्न सक्छ भन्ने लाचारी यत्रतत्र देखियो। अपमान पशुपति शर्माको थिएन। सम्पूर्ण मानब हुँ भन्नेको थियो।
यो परीदृश्य ठूलो थिएन। तर, सानो पनि थिएन। किनकि, यसले देशको आत्मा चोटिल बन्न पुग्यो। फेरि एक पटक सपनाको हत्या भयो। भयको जीत भयो। भय घृणाभन्दा डरलाग्दो प्रबृत्ति हो।
यी तिनै कालखण्ड भोगेको जनता, म आफैंलाई सोध्न बाध्य छु आखिर किन मर्छन् सपनाहरू? मलाई राम्ररी ज्ञान छ, म बिज्ञ त होइन। तर, मलाई बिज्ञ कहलिने एक रत्ती रहर छैन।
विज्ञहरूले कुनै पनि समस्यालाई आफ्नो विज्ञताको सन्दर्भमा मात्र हेर्छन्। आफ्नो कुरा सावित गर्न खोज्छन्। समग्र तस्बिर हेर्न चाहन्नन्। तसर्थ समस्याले द्वन्द्वको रूप लिन्छ। पशुपति शर्मा झै म बबुरोको न बिज्ञ कहलाउने योग्यता छ, न हैसियत नै। तर, नागरिकको रुपमा मेरो देशको भलाई के मा छ? भन्ने बुझाई राख्ने पूर्ण अधिकार मसँग छ त्यसैको प्रयोग गर्दैछु।
१ लोकतन्त्र भनेको चुनाव भन्ने बुझाई
भोट् या चुनाव लोकतन्त्र होइन। लोकतन्त्रको एउटा ‘एलिमेन्ट’ तत्व मात्र हो। लोकतन्त्रको इकाइ ब्यक्ति हो, त्यसपछि परिवार हो, अनी समाज।
लोकतन्त्रमा बहुमतले सरकार बन्छ। तर, भोटको संख्याले नीति, नियम र न्याय निर्धारण गर्दैन, गर्नु हुँदैन।
लोकतान्त्रिक पद्धतीमा हरेक ब्यक्तिको सम्मान हुन्छ। डिग्निटी हुन्छ। सरकार शासन गर्न होइन, सेवा गर्नका लागि हुन्छ। ‘आउ मलाई दाम्लोले बाँध’ भनेर जनताले भोट गर्दैनन्। यदि गर्छ भने त्यो जनता होइन, दास हो।
त्यसैले म भन्छु - कुनै पनि नेताको सल्लाहकार ठीक भएनन्, नेता त ठीक हो भन्नु कुतर्क हो। त्यो कस्तो नेता जसले आफूलाई दिइएको गलत सल्लाहको पहिचान गर्न नसकोस्। ‘कोटरी’ बाट या किचन क्याबिनेटबाट चल्ने पनि के नेता?
के उसको आफ्नो विवेक र इन्द्रियले पदासिन हुने बित्तिकै काम गर्न छोड्छन्? विगतका महाराजालाई हेरे पुग्छ। ईतिहास पल्टाए पुग्छ। जनताको मुखमा ताल्चा लाउन खोज्नु नदीको प्रवाह रोक्न खोज्नु हो। यसको नतिजा कमन्सेन्स भएको जोसुकैले पनि बुझ्छ।
बुझ्नु पर्ने त के छ भने, जोसुकैले मुख बन्द गर्न खोज्छ उसले आफ्नो पतनको कथा आफ्नै हातले लेख्छ। जुन जनता निजी स्वार्थका लागि देश र सामुहिक हित बिर्सन्छ उसले जनता कहलाउने अधिकार गुमाउँछ। ऊ केवल गुलाम रहन्छ र आउने पीडिलाई पनि गुलामीको संस्कार दिएर जान्छ।
२ लोकतन्त्र र विकासको अर्थ नबुझ्नु या बुझ्न नचाहनु
राष्ट्रको दु:खद् पाटो के भने यहाँ सत्ता परिवर्तनका लागि मात्र आन्दोलन भए। लोकतन्त्रको लागि भनिएका आन्दोलन वास्तवमा लोकतन्त्रका लागि थिएनन् मात्र सत्ता र शक्तिका लागि मात्र रहे।
त्यसो भएको भए हाम्रो राष्ट्रिय चरित्रमा लोकतन्त्र प्रतिबिम्बित हुन्थ्यो। यहाँ लोकतन्त्र र विकासलाई अलग गरेर हेरियो। मनन गर्नुपर्ने के हो भने लोकतन्त्र भित्रै विकास हुन्छ। लोकतन्त्रमा विकास ‘इन्बिल्ट’ हुन्छ।
जसरी एउटा मानव मस्तिस्क र मानब मुटु एउटै शरीरमा विद्यमान हुन्छन्। जहाँ साँचो लोकतन्त्र हुन्छ त्यहाँ मानसिक र भौतिक विकास सँगै हुन्छ। यी दुईलाई अलग्याउन मिल्दैन।
त्यसो गर्दा त्यो समाज अधिनायकवादी, तानाशाही बन्नपुग्छ। स्तर गिरेर भन्नुपर्दा कसैको प्राइभेट लिमिटेड कम्पनी बन्छ देश।
वाक स्वन्त्रताको साथमा नागरिक जिम्मेवारी लोकतन्त्रमा उत्तिकै अहम हुन्छ। जनता कसैको पिछलग्गु बन्नु हुँदैन। त्यो लोकतन्त्र होइन। कमैया प्रथा, हलिया प्रथा, बालीघरे प्रथाको बिस्तारित रूप हुनजान्छ।
३ . बहुमतले अल्पमतको अधिकार तय गर्नुपर्छ भन्ने सोच
वास्तविक लोकतन्त्रमा कदापी बहुमतले अल्पमतको अधिकार तय गर्दैन। मौलिक अधिकार बहुमतले तय गर्ने सोच मध्ययुगिन हुन्छ। यो खतरनाक प्रवृत्ति हो।
पुल पुलेसा, फ्लाई ओवर, सडक बन्न केही बेर अबेर होला चाहेर नचाहेर पनि बन्छन्। नत्र राजा महेन्द्रकालिन सडकमा गणतान्त्रिक नेपालका जनता गुड्ने थिएनन्।
समय आएको छ मूल्य मान्यता निर्माण गर्ने। लोकतन्त्रलाई जीवनमा लागू गर्ने। यसो गर्न सके पानी जहाज ल्याउन, रेल ल्याउन सपना देख्नुपर्ने छैन। प्राकृतिक र स्वभाविक रूपमा आउनेछन्।
ईन्टरनेट पनि त्यसरी नै आएको हो। यो भन्दा सोफिस्टिकेटेड प्रबिधि आउनेछ,आइरहने छ। खाली यति बुझे पुग्छ लोकतन्त्र र विकास दुई अलग सिद्धान्त होइनन्। लोकतन्त्र जीवन शैली हो। लोकतन्त्र नै विकास हो। देशको भलो होस्। सबैको भलो होस्।