मे १७ २०१७ मा रसिया र ट्रंप क्याम्पेन बिचमा कुनै साँठगांठ छ वा छैन भन्ने जाँचबुझ गर्न रोबर्ट मुलरलाइ स्पेसल काउन्सल नियुक्त गरियो । तत्कालीन एफबीआइ प्रमुख जेम्स कोमीलाइ ट्रंपले बर्खास्त गरेपछि जारी रसिया सम्बन्धी अनुसन्धान अगाडी बढाउन सह महान्यायाधिबक्ता रड रोजेस्टाइनले स्पेसल काउन्सल नियुक्त गरे ।
एफबीआइको प्रमुखको रूपमा र अन्य अनुसन्धानात्मक कामहरूमा लामो समय नेतृत्व गरेका मुलरको नियुक्तिले धेरैलाई यो अनुसन्धान पनि कुशल रूपमा सम्पन्न हुने विश्वास थियो ।
एक कुशल अनुसन्धानकर्ताको रूपमा धेरैको विश्वास आर्जन गर्न सफल भए पनि मुलर राष्ट्रपति ट्रंप र उनका सहयोगीहरूको निशानामा परिरहे । ट्रंपले मुलर र उनको टिमलाई धेरै आलोचना गरे । तर पनि विगत करिब २२ महिना चुपचाप काम गर्दै गत मार्च २२ गते मुलरले आफ्नो प्रतिवेदन बुझाए ।
त्यसको दुई दिनपछि मार्च २४ मा महान्याधिबकता विलियम बारले मुलरको करिब ३०० पेज लामो प्रतिवेदनको निष्कर्ष ४ पेजमा निकाल्दै काँग्रेसलाई पठाए ।
यो करिब दुई बर्से अवधिमा मुलरले ट्रंपका निकट सहयोगीहरूमाथि मुद्दा दायर गरे र उनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै मुलरलाइ सहयोग गर्न सहमत भए । ट्रंपलाइ एक दशक भन्दा बढी कानुनी परामर्श दिँदा आएका "फिक्सर" माइकल कोहेन, ट्रंपका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन, ट्रंप चुनावी अभियानका प्रमुख पल म्यानाफ़र्ट, म्यानाफ़र्ट चुनावी अभियान प्रमुख हुँदा उनका सहायक बनेर काम गरेका रिक् गेट्स, विदेश मामिला सल्लाहकार जर्ज पापाडापलस आदि सरकारी अधिकारीहरूलाई ढाँटेको आरोपमा कोही सजाय भोग्दछन् भने कसैको अनुसन्धान जारी छ ।
यी धेरै शङ्कास्पद गतिविधिहरूका बाबजुद रसियासँग ट्रंपले साँठगांठ गरेको भन्ने पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै मुलरले प्रतिवेदन प्रस्तुत गरेपछि अमेरिकी राजनीतिको एक युगको समाप्ति भएको छ भने नयाँ युगको सुरुवात भएको छ ।
कसैलाई चित्त बुझे पनि वा नबुझे पनि ट्रंप प्रशासन माथिको यो अनुसन्धानको समाप्तिले देश अमेरिकी जनताका दैनिक समस्याहरूमा केन्द्रित हुन समय उपलब्ध हुनेछ ।
ट्रंप र उनका सहयोगीहरू यसलाई आफ्नो जितको रूपमा सकेसम्म "क्यास" गर्ने दाउमा देखिन्छन् । यो मुद्दालाई लगातार प्रसारण गरिरहेका मूलधारका मिडिया, रियालिटी शोका सञ्चालक एवम् डेमोक्र्याट पार्टीका प्रभावशाली व्यक्तिहरू विरुद्ध दक्षिणपन्थीहरूद्वारा तीव्र रूपमा हमला सुरु गरिसकिएको छ । उनीहरू यसलाई आफ्नो जित मान्दै यसैलाई तन्काएर २०२० को चुनावसम्म लैजाने मनस्थितिमा देखिन्छन् ।
अर्कोतिर डेमोक्र्याटहरु मुलर रिपोर्टको निष्कर्ष भन्दा पनि त्यस भित्र ट्रंप र उनका सहयोगीहरूले गरेका कामहरू उजागर होस् भनेर रिपोर्ट पुर्णरुपमा सार्वजनिक हुनु पर्ने माग राखेका छन् । "न्यायमाथि बाधा" गरेको आरोपमा भने प्रतिवेदनले ट्रंपलाइ न दोषी न दोष मुक्त गरेको छ । यसलाई नै उनीहरूले आफ्नो बचाउको आधार मानेका छन् । २०२० मा हुने निर्वाचनमा आफ्नो तर्फबाट ट्रंप विरुद्ध लड्ने उम्मेदवारको चयनमा व्यस्त डेमोक्र्याटहरु यो रिपोर्ट आइसकेपछि के कस्ता एजेन्डा लिएर जाने भन्ने तयारीमा लागेका छन् ।
रोबर्ट मुलरको प्रतिवेदनले रसियासँग साँठगांठ गरेको प्रमाणित गर्न नसके पनि ट्रंप, उनका आर्थिक गतिविधि, ट्रंप फाउन्डेसन आदि भने सरकारी अनुसन्धानको घेरामा रहेका छन् । आफ्नो करको विवरण लामो समयसम्म सार्वजनिक नगरेका ट्रंप माथि आफ्नो फाइदाको लागि कुनै बेला सम्पत्तिको अवमूल्यन गरेको र कति बेला सम्पत्तिको बढी मूल्य राखेर ऋण लिएको जस्ता विषयमा न्यु योर्कमा अनुसन्धान समेत हुँदैछ ।
अर्को देशसँग साँठगांठ नगरेको भन्ने कुराको प्रतिवेदन आउनुलाई आफ्नो विजय ठानेका ट्रंप अन्य दर्जनौँ मुद्दाहरूमा कसरी मुक्ति पाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।
पक्कै पनि दुवै राजनीतिक दलहरूले मुलर प्रतिवेदनलाई आफ्नै तरिकाले परिभाषित गर्दै फाइदा उठाउन खोज्नेछन् । त्यहाँ रहेका अस्पस्ट कुराहरूलाई स्पष्ट गर्न अनुसन्धान गर्नु पर्ने डेमोक्र्याटहरुको माग हुनेछ भने यो समग्र प्रक्रियालाई "बोक्सीको खोजी" रूपमा व्याख्या गर्दै आएका ट्रंप र उनका सहयोगीहरू यसको निष्कर्षलाई आधार मान्दै गत दुई वर्ष अनुसन्धानको नाममा भए गरेका गतिविधि र त्यस सँग सम्बन्धित व्यक्तिहरूलाई आक्रमण तीव्र पार्नेछन् ।
शिक्षा, स्वास्थ्य लगायत अमेरिकी जनताका समस्याहरू भने यी दुई पार्टीहरूको भिडन्तले समाधान गर्न झन् कठिन हुने कुरा सजिलै आकलन गर्न सकिन्छ ।