पहिलो कुरा त अमेरिकामा बस्ने नेपालीले शायद नेपालमै बसेर काम,नाम र दाम ठग्नेहरूको सधैँ गाली खानु परेको छ । त्यसो त सबै भन्दा बढी विप्रेषण पठाउने मुलुकमध्ये दोस्रो देश पनि अमेरिका नै हो जुन वार्षिक लगभग डेढ खर्ब हाराहारीमा छ।
यस बाहेक अरू प्रत्यक्ष अप्रत्यक्ष योगदानको किन धेरै चर्चा गरौँ किनकि यो नेपालीत्वको कारणले गरिएको योगदान हो र यहाँका नेपालीहरूलाई नेपालीत्वमा गर्व मात्रै हैन अगाध प्रेम पनि छ । यो कुनै पूर्व प्रधानमन्त्री त के या वर्तमान प्रधानमन्त्रीसँग पनि खासै सरोकार नराख्ला।
तर अमेरिका, युरोप, जापान, अस्ट्रेलिया बस्ने नेपालीलाई गाली गरेर पुरूषार्थी देखाउनेको पर्व बन्छ प्रत्येक नेताहरूको भ्रमण। बरु त्यो चैँ चित्त नबुझ्ने विषय हो ।
एउटा सानो कथा जोड्न चाहन्छु - एक भरियाको दु:खी परिवार जेनतेन चल्दै थियो। अकस्मात उसकी श्रीमती खसी ।भरियामाथि शोक र दु:खको पहाडै खस्यो। दुईटा लालाबाला हुर्काउनु कि भारी बोक्न जानु ! उपाय - कान्छी श्रीमती ल्याउनु नै थियो। केही वर्षमै कान्छीबाट पनि दुईटा थपिए । ४ भाइ छोरा, २ गुँडबाट।
पहिलो गुँडका केटा बल्ल स्कुल जाने उमेर भएपछि गोठालो राखी दियो दुईटा साहुकहाँ।ज्याला चैँ साहुहरूबाट सौतेनी आमा या बाउले नै लिन्थे। बेला बेलामा घर आउँथे केटाहरू । सौतेनी आमाले खासै सहन्न थिई।
साना फुच्चेहरू पनि दाजुहरूसँग डक्लिन्थे । तर उनीहरूको अन्त जाने ठाउँ पनि त थिएन । समय परिवर्तन हुँदै गयो । भरिया पनि रोगले थल्लिंदै गयो । तर भरियाका दु:खको पाटोमा दुईटा केटाको ज्यालाले ठुलो राहत दिएको थियो। दुई भाइ गोठाला साहुको काम गर्दै गर्दा कान्छीपट्टिका छोरा स्कुल जान थाले । साहुका घर स्कुल जाने बाटैमा थिए । ती दुईटा स्कुलेले फुच्चे भाइहरू गोठाला देख्दै थुतुनो मस्काउँथे - 'ए भतुवा, ए गोठाला के हेरेको? खेल्ने भए आइज, तँ भतुवालाई एक दिएर ढाली दिन्छु।
ती दुई भाइ गोठाला पनि त कलिलै थिए। तिनीहरूलाई स्नेहले बाँध्ने पनि के नै थियो र ? एक दिन दाजु भाइ सल्लाह गरेर गाउँ नै छोडेर भागेछन् । साहुहरू भोलि पल्ट बिहानै भरियाकोमा पुगे । 'लु ठुला केटाहरू त भागे। अब हामीलाई साना केटा पठाइदे।' भरिया अकमक्क भयो ।आफ्नो ढल्दो उमेर र ऋणको पोकोले एकै चोटि गाँठो परेर छातीमा घोच्यो। कान्छी रोई कराई गर्न लागी- 'मेरा केटालाई स्कुल जान दिनुस् पछि ठुला भएर तिर्छन् ।' साहुले मुन्टो बटारे । अब गोठालो बस्ने पालो सुरु भयो साना फुच्चेको।
यो सत्य घटनामा आधारित कथा मैले परदेश बस्ने नेपालीलाई देश बस्नेले वर्षाउने गालीको सन्दर्भलाई बिट मार्न जोडेको हुँ।
कुनै पनि देशको इज्जत, प्रतिष्ठा, सम्मान या गौरव आदि के के सँग जोडिएको हुन्छ? इतिहास, राष्ट्रिय विभूतिहरू , राष्ट्रको सम्पन्नता,जनताको मौलिक जीवन, उन्नत संस्कृति,बौद्धिकता, सक्षमता,सर्वाङ्गीण पक्षका अन्तर्राष्ट्रिय स्पर्धा या फेरि देशको ढुकुटी, इतिहाँस र संस्कृति रित्ताउने हिंसात्मक अराजकतासँग जड्कडिएको एक थान व्यवस्था र तिनका आवरणको भ्रष्टाचार मैत्री प्रणालीमा हौसिएका केही राजनैतिक मठाधीशहरू ? यो कुरा गाली गर्ने जमातले नि सोचिदिए !
त्यसो त फोहर चलाएर देशको इज्ज़त बढ्दैन, सफा गर्न हिम्मतदार पनि बन्नै पर्छ । ठुलो त्याग, तपस्या र निस्स्वार्थ सेवाभावले मात्र सुधारिन्छ समाज । तर त्यसै भन्दै गर्दा, चिन्ता र असन्तुष्टिको पनि गुन्जायस हुनै पर्छ।समस्या मात्रै भनेर समाधान त हुँदैन तर समाधानका लागि समस्याको पहिचान गरेर बहस त हुनै पर्यो नि।
अब मेरो मोटामोटी असन्तुष्टि चैँ राजनैतिक परिवर्तनको हवाला दिएर या राम्रो गर्ने नारा दिएर पहिले समग्र देशलाई चुट्नु चुटे । जनताले ठुलो मूल्य चुकाएर गणतन्त्र भन्ने व्यवस्था आयो । संविधान बन्यो फेरि दिव्य ८ वर्ष लगाएर। सङ्घीयता लेखियो- गाउँ गाउँमा सिंह दरबार भनियो । अब केवल स्थायित्व देऊ भनियो।
रातारात शेरबहादुरसँग सुतेका प्रचण्ड ओलीसँग उठे । अजीर्ण बहुमतको कम्युनिस्ट सरकार पनि बन्यो। अब सुरु भो नि त जनताको हिसाब किताब, ल अहिले सम्म हामीले तिमीलाई धेरै थोक दियौँ ल अब हामीलाई सुविधा, विकास, सुशासन, रोजगार, गुणात्मक स्वास्थ्य र शिक्षा देऊ।
सरकार बनेको डेढ वर्ष बित्न लाग्दा त झन् अस्तव्यस्त, झन् भ्रष्टाचार, झन् बेथिति, धार्मिकदेखि राजनैतिक विवादपछि विवाद, असुरक्षा, महँगीदेखि पिउने पानी र फेर्ने साससम्ममा खेलबाड। लौ न यस्तो के हो, के भएको हो भनेर कोही बोल्यो कि उल्टै प्रतिकार गर्न अरिङ्गाल पो खटाउन थालियो ! कहाँ छ जनताले चित्त बुझाउने ठाउँ ? कहाँ छ न्याय ? सत्य निरूपण तथा मेलमिलाप आयोगले न्याय दिएको खै ? भ्रष्टाचार काण्डमा ठुला माछा डुबुल्की मारेको देख्ने तर साना माछा मात्रै त्यो पनि जन आक्रोश शान्त पर्न पक्रिने र छोड्ने ?
म कसैको विरुद्ध उजुरी हाल्दिन तर कुनै राष्ट्रपति, प्रधानमन्त्री नेतालाई मालिक पनि त ठान्दिन । म तत्-तत् पदवालालाई पदवालै हैनन् पनि भन्दिन । तिनीहरूको महत्त्व नजरअन्दाज गर्दिन । तिनको गुण र दोषलाई छुट्ट्याएर हेर्ने गर्दछु । देशबाट सेवा सुविधा लिएर देश र जनताको सेवा गर्ने दायित्व बोकेका तिनीहरू प्राविधिक रूपमा उपल्लो तहका जागिरेहरू हुन् ।
म नेपालको संविधान मान्छु- देशको मालिक त हामी जनता पो हौँ त संविधान अनुसार । देशको प्रतिनिधित्व गर्ने तिनको जिम्मेवारी बढी होला त्यो पनि बहालवाला हुँदा ।आ-आफ्नो क्षेत्रमा जसले पनि देशको प्रतिनिधित्व गर्न सक्छ नि त्यसो त ।जस्तै: खेल क्षेत्रमा खेलाडीले गर्छ। नागरिकका दुईटा कर्तव्य हुन आउँछन्- देशको राम्रो प्रतिनिधित्व गर्ने आफैँले पनि परेको खण्डमा साथै अरूको हकमा राम्रो गरे सहयोग/ताली नराम्रो गरे खबरदारी/गाली। यो त प्रकृतिको नियमै हो नि। त्यो जसका लागि पनि लागु हुन्छ ।
त्यसमाथि एउटा भू.पू. मन्त्री प्रधानमन्त्री होस या बहालवाला जो आफ्नो निजी मामलामा स्वदेश होस या विदेश भ्रमणमा देशको ढुकुटीको प्रयोग गर्छ भने त्यो त ठुलो अपराध हो नि । खै त पारदर्शिता? निम्नमध्यवर्गीय हैसियतको मान्छे नेता हुँदैमा करोडौँको हिसाब किताब त्यसै स्वाहा ? कहाँबाट आयो श्रोत खुल्नु पर्दैन ? त्यो पाटो त बिचरै भैगो ।
अब अर्को पाटो।हेरौँ जो निकै चर्चामा ल्याइयो अरिङ्गालहरूको बलबुँता र भिजिलान्थे शैलीको प्रभावले । विगतमा कसैलाई पड्काएको छ भने त झन् त्यसले छेउछाउ आउँदा धारे हात लगाउने त भइहाल्यो नि । यसबाट राष्ट्रको बेइज्जत भएको देख्नेहरूको दिमाग ? म त फेरि पनि भन्छु- सबै नेपाली नागरिकले आफैँ भित्र आफ्नो र आफ्नो देशको परिभाषा खोज्ने हो । कुनै कथित भिभिआईपी होस या सर्वसाधारण - हरेक व्यक्तिसँग जोडेर देशको इज्जत खोज्ने कुरा त निजको व्यवहार अनुसार मात्रै हो। नेपालको ठगले नै स्वदेशदेखि विदेशसम्म नेपाली नै ठगिरहेको हुन्छ धेरै जसो ।देशको नागरिक हो इज्जत जान्छ भनेर पींडीतले त सोच्दैन नि । जहिले पनि बदला लिन खोज्छ । जहाँ कुनै सरोकार छैन त्यहाँ मुद्दा मामला गर्नु बुद्धिमानी चैँ हैन भन्ने त मेरो धारणा हो तर पीडा पोख्ने, न्यायको याचना गर्ने त पींडकको नैसर्गिक अधिकार हो नि।
मैले यो लेख लेख्दै गर्दा स्वदेश फर्किसकेका प्रचण्डलाई कसैले भनिदेओस् कि जसरी उपचारै नहुने रोग लागेको भनिएकी जीवनसंगिनी उपचार खोज्न तपाईँ अमेरिका आउनु भए जस्तै तिलक श्रेष्ठले पनि सबै आशा मरेर एक पटक न्यायिक उपचार खोजेको हुन सक्छ । त्यो पनि प्रकृतिकै नियम हो। यसमा नेपालको एक रत्ती पनि बेइज्जत भएको छैन किनकि त्यो प्रचण्ड पथ थियो यो खुद प्रचण्डकै अमेरिका पथ हो। अमेरिकामा न्यायको लागि लड्नु प्रत्येक नागरिकको गर्वको विषय हो ।
एउटा उदाहरण सम्झौँ- वर्तमान राष्ट्रपति डोनाल्ड ट्रंप २०१६मा निर्वाचित हुँदै गर्दा महिला विरुद्ध दिएको अभियक्तिको विरोधमा नेपालका लागि तत्कालीन अमेरिकी राजदूतले काठमाडौँ दूतावासमै कालो पट्टी सहित विरोध जनाएकी थिइन् । उनी सन् २०१८ मा नेपालमा आफ्नो कार्यकाल पूरा गरिकन हाल श्रीलङ्कामा राजदूत नै छिन्। नेपालमा भए यो सम्भव हुन्थ्यो ? त्यसै कागले कान लग्यो भन्दा कान नछामी कागको पछाडि लागि हाल्छौँ नि हामी त ! बरु मुद्दा दायर गर्ने श्रेष्ठ साँच्चिक्कै पीडित हुन् भने उनी सँग प्रचण्डले मानवीय संवाद गरेको भए अझै कद उँचो हुन्थ्यो अम्रिकापथका सन्दर्भमा ।
त्यसै गरी पत्रकार देखि कलाकार सम्मको अभिव्यक्ति सबै तपाईँहरूकै पछिल्लो सत्ताले दिएका नैराश्यताका माझ निस्केका अभिव्यक्ति हुन् । आजभोलि यस्तै स-साना कुरालाई तपाईँ र तपाईँकै बफादारहरूको मनोदशाले तपाईँहरू आफैँलाई बडो बडो उत्तेजित, अस्थिर, अशान्त र प्रतिकृयात्मक बनाएको प्रस्टै देखिन्छ ।
देश बनाउन तपाइहरूको मिहिनेत लागोस्। नेता ज्यु, विदेशमा गरिखाने नेपालीहरूलाई गाली गरेर बन्दैन नयाँ नेपाल।