उनलाई मैले न्यू योर्कमा भेटेँ। विभिन्न अन्दाज यानी ‘इस्टाइल’ मा। दिउँसो दार्शनिक झै लाग्ने उनी एक योगीझै बिहान ध्यान गर्दै थिए। साँझ राग अलाप्दा संगीतका सच्चा साधक दृष्टिगोचर हुन्थे।
जब भलाकुसारी गरेँ, उनमा एउटा पुरा जिन्दगी पाएँ। उनी अरू कोही नभएर बहु प्रतिभाशाली मुरलीधर थिए। गायक, अभिनेता, संगीतकार, गीतकार उनै मुरलीधर।
मेरा एक जना गुरूले धेरै पहिले जर्मन दार्शनिक एवम् कवि फ्रेड्रिक नित्स्छेको जीवन र दर्शनको बारेमा भनेको धुमिल याद छ।
मलाई त्यती खेर नै लागेको थियो, ‘नित्स्छेको क्लिस्ट फिलोसोफी म जस्ता साधारण मनुवाका लागि होइन। तर, तिनै नित्स्छेको एउटा उद्धारले भने सदैब मलाई संगीतमा यसको अर्थ खोज्न प्रेरित गर्यो। ‘संगीत बिना जीवन गल्ती हुन्थ्यो होला।’
न्यू योर्कमा मुरलीधर आएको थाहा पाएँ। समय मागेर पुरा दिन उनको साथमा बिताउने सोच बनाएँ। मलाई उनको स्वरमा उनी सामु बसेर ‘उडायो सपना सबै हुरीले....’ सुन्ने ठूलो धोको थियो।
सपनाहरूसँग मेरो खै किन हो अत्यान्तै लगाव छ। खुला आँखा गरेर सपना देख्ने कुनै विचारकभन्दा कम हुँदैनन्। र ती सपनालाई साकार पार्नेहरु कुनै सिद्धहस्त चित्रकार झै लाग्छन्।
मैले भेट्नासाथ मुरलीधर दाजुलाई ‘उडायो सपना सबै हुरीले..’ गाउन अनुरोध गरेँ। उहाँले मेरो आग्रह स्वीकार गरी गुन गुनाउनु भयो। यस्तो लाग्यो पुरा न्यू योर्क गुनगुनाइ रहेको थियो।
‘उडायो सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हिमाल जस्तो अचल रहने हाम्रो प्रिती थियो
माया प्रितीको अटुट डोरी कसले काट्यो छुरिले...’
मैले भने, ‘दाजुको नाम त्यतिकै मुरलीधर रहन गएको होइन।’ उहाँले विनम्रता साथ दुई हात जोड्नुभयो।
कुनै समय पण्डित जसराजको शिष्य रहनुभएका मुरलिधरमा त्यो ‘कल्चर’ र बिनम्रता हुनु स्वभाविक थियो।
वार्तालापको क्रम अगाडि बढ्यो। ‘यो मेरो पहिलो अमेरिका भ्रमण हो’, उनले भने।
अधिकांश जीवन भारत र नेपालमा बिताए। अमेरिका आउने लालसा सबैलाई हुन्छ। ‘म यहाँ यो उमेरमा केही सिक्न पाईन्छ कि भन्ने आशा लिएर आएको हुँ,’ यसो भनीरहँदा मैले उनमा बाल कौतुहलता र निश्चलता पाएँ।
उनी आफ्नो जीवन यात्रा सुनाउँदै गए- म रेडियो नेपालको ‘भोइस टेस्ट’ मा फेल भएँ। तर, गाउन छोडिनँ। म भित्र अभिनय थियो। भारततर्फ लागेँ। केही फिल्म र भारतीय टिभीकै ऐतिहासिक धाराबाहिक महाभारतमा अभिनय गरेँ। नेपाली सिनेमा खेलेँ। केहीलाई छोडेर हरेक फिल्ममा मेरो रोल सम्पादन गर्दा छोटो पारिएका हुन्थे। तर, मैले अभिनय छोडिनँ। जीवन चल्दै गयो। म एक पथिक न थिए। कहिले हिँड्न्थे, कहिले दौडन्थेँ, कहिले लड्थेँ। तर, म कहिलै रोकिइनँ।
यसै क्रममा मैले ‘उडायो सपना सबै हुरीले...’ गाएँ। सुपर स्टार्डम प्राप्त गर्ने मेरो सपना थियो। त्यस कसौटीमा आफूलाई मापन गर्नु मेरो अपरिपक्वता थियो। म अहिले यस अमेरिकी धर्तीमा टेकेर भन्दै छु- सपना अवश्य देख्नुपर्छ। तर, सपनाको गन्तब्य भन्दा तिमीले त्यो यात्रा कसरी तय गर्यौ, त्यो महत्वपूर्ण हुन्छ।
“सक्सेस” त सापेक्षिक हुन्छ। क्षणिक हुन्छ। केलाई सफलता भन्ने केलाई असफलता त्यो हेराइमा भरपर्छ।
अमेरिका बस्ने सबै नेपाली दिदीबहिनी दाजु भाइ त्याग गरेर आउनु भा छ सबैको आफ्नै कथा छ। बस,यो कथा या यात्रा राम्ररी तय गर्नु मै जीवन को सार्थकता देख्छु।
तपाईं मलाई भेट्न आउनु भो, यो न्यानोपनले मेरो जीवनयात्रालाई अर्थपूर्ण बनाएको छ। मान्छेको मन जित्नु माया पाउनु, कसैलाई दु:ख नदिनू हाम्रो सपना होइन र?
यस्ता सपनाको गन्तब्य हुँदैन। केवल ‘जोर्नी’ हुन्छ। र यो जोर्नी अब्बल दर्जाको हो जस्तो लाग्छ।
मेरो भूमिका सम्पादन हुनसक्छ। तर, मेरो जीवनयात्रा असम्पादित र विराट हुन्छ। त्यो ममा निर्भर गर्छ। म अवाक भएर मुरलीधर दाजुलाई हेरिरहेको थिए।
मैले बुझ्न नसकेको नित्स्छेको कथन सही रहेछ। संगीत बिना जीवन गल्ती हुन्थ्यो। यती सरल भाषामा जीवन र सपनाको औचित्य संगीत या मुरलीधर जस्ता संगीतका साधकले मात्र बुझाउन सक्थे।
अन्त्यमा उनले भने, ‘जीवन त असम्पादित यात्रा हो। बस चल्ते जाओ।’ नित्स्छेकै शब्द दोहोर्याउन मन लाग्यो मुरलीधर दाजुलाई नभेटेको भए शायद मबाट गल्ती हुन्थ्यो।