म डोटी नगएकै वर्षौ भयो। शैलेश्वरी मन्दिर प्रवेश आन्दोलनपछि म त्यहाँ गएको छैन।
यसको अर्थ मैले डोटी लाई विर्सिएँ भन्ने कदापी होइन। डोटी सिलगढी मेरो मन, मस्तिस्क र शरीरका कण कणमा रहिरहेको छ।
शैलेश्वरी आन्दोलनले डोटीलाई विश्व मानचित्रमा स्पस्ट देखाइदियो। यसलाई अरूले जसरी व्याख्या गरे पनि मैले यसबाट केही महत्वपूर्ण पाठ सिक्ने मौका पाएँ।
परिवर्तन सम्भव छ। र वास्तविक परिवर्तन त्यो हो जसले मनहरू जोड्छ, मान्छेलाई नजिक ल्याउँछ। आन्दोलन सफल र असफल भन्ने हुँदैन किन भने जुनसुकै आन्दोलनले ईतिहासलाई आकार दिन्छ।
आन्दोलन पश्चात शैलेश्वरीको दर्शन गर्ने प्रबल इच्छा थियो। जुन आजका दिनसम्म पुरा हुन सकेको छैन।
शैलेश्वरी माता मेरा लागि मानव भित्रको मानवता जगाउने एक अलौकिक शक्ति केन्द्र हुन्।
सिलगढीप्रति अगाध माया भएर पनि त्यसको ईतिहासप्रति म अनविज्ञ थिएँ। तर मलाई डोटीको ईतिहासबारे अधिवक्ता (अटर्नी याट ल) बाशु फुलाराले छर्लंग्गै पारिदिनुभयो।
बाशु फुलारा अमेरिकी डायस्पोरामा परिचित नाम हो। डोटीका फुलारा पेशाले वकिल हुन्। उनले अनगिन्ति नेपालीलाई विदेशी भूमिमा न्याय दिलाएका छन्।
तिनै फुलारा दाजु हालै डोटी सिलगढी गएर फर्किनुभएपछि मलाई सिलगुढीबारे थप जानकारी लिने कौतुहलता बढ्यो।
उहाँ न्यूयोर्क फर्किए लगत्तै उहाँलाई भेट्न निवासमै पुगेँ।
उहाँले मलाई शैलेश्वरीको प्रसाद दिनुभयो। त्यसपछि बसेर भलाकुसारी गर्न लाग्यौ।
मैले सोधिहाले- ‘दाजु डोटी कस्तो भा’छ।?’
उहाँ केही बेर मौन रहनुभयो? बहुतै ‘भेग’ (vague) प्रश्न थियो। म यसरी सोध्दै थिएँ मानौं डोटी कुनै ब्यक्ति होस्।
फुलाराले जे भन्नुभयो त्यसले मलाई न्यूयोर्क मै दिपायल, सिलगढी, डोटी पुगेझै लाग्यो।
उहाँका शब्दले सजिब, यथार्थ र सुन्दर तस्बिर मेरो मानसपटमा उतारिदिएको थियो।
‘म सिलगढी पुगेको थिएँ। साँझको समय ईन्द्रचोकको मन्दिरमा जलेको धुपले पुरै चोक सुगन्धमय थियो। तर, एक प्रकारको सन्नाटा थियो। सिलगढी बजार सुकेको पात झै थियो थियो। अधिकांश मानिसहरू तराई झरिसकेका थिए। कोही विदेश भासिएका थिए। मलाई सिलगढीको चिसो सुगन्धित हावामा पनि उकुस मुकुस भयो।
जिरो पोइन्टको एउटा रूखको फेदमा बसेर साँझको बत्तीले झिलिमिलि दिपायल बजारलाई हेरिरहेको थिएँ। अलिक तल सेती नदी आफ्नै गतिमा बहिरहेको थियो।
दिपायलमा प्रचन्ड गर्मी थियो। ८-१० किलोमिटर टाढा रहेको सिलगढी मा भने बसन्त ऋतु झै आत्मालाई ठन्डा पुर्याउने शितलता थियो। डोटी सिलगढी नेपालको भौगोलिक विविधताको अनुपम नमूना हो। आखिर किन प्राणबिहिन देखिन्छ सिलगढी?,’ भावुक हुँदै उहाँले भन्नु भयो, ‘म ग्रामीण भेगतर्फ पनि गएँ। बद्लाव जरूर आएको छ। तर, गरिबी कहालिलाग्दो छ। मलाई यसले खुब पिरोल्यो। मान्छे किन गरिब हुन्छन्? म आँफैलाई सोधी रहेको थिएँ। कानूनको विद्यार्थी भएर होला मेरा आँखाले जीवन र जगतलाई न्यायको दृष्टिले हेर्छ। जनतामा कानूनको ब्यापक अज्ञानता पाएँ, चाहे त्यो लोकल लेवलमा होस् या राष्ट्रियस्तरमा जनतालाई उनीहरुका संबिधान र कानूनद्वारा प्रद्धत्त अधिकारबाट बचित गर्न साशकहरुले त्यही अज्ञानतालाई हतियारको रुपमा प्रयोग गरेको महसुस गरेँ। कानून त जनताको हो। उनीहरूले बुझे भने त्यसको प्रयोग र पालना गर्छन्।
साशकहरुले जथाभावी आफ्ना स्वार्थ पुरा गर्न कानून निर्माण गर्न पाउँदैनन्। अहिले नेपालमा ‘रूल अफ ल’ (बिधिको शासन) होइन रूल बाइ ल’ छ अझ भनौं, शासन मात्र छ। यो लोकतान्त्रिक होइन।
मलाई लाग्छ अब सही विकास गर्ने हो भने कानूनी शसक्तिकरण अपरिहार्य भएको छ। जनतालाई वकिल बनाउनु पर्छ जसले आफ्ना अधिकार बुझेका हुन्छन्, उनीहरुले कानुनको पालना गर्छन् र अन्यायपूर्ण कानुन को बिरोध गर्छन्। कानुन बुझेका मान्छे सचेत हुन्छन्, आफ्ना कानुनी अधिकार र राज्यले दिनुपर्ने सेवा सुबिधाका बारेमा जानकार हुन्छन्। तिनलाई प्राप्त गर्न पहल गर्न सक्छन्। यसरी उनीहरु गरिबीका कारक तत्वलाई सम्बोधन गर्न सक्छन्। मलाई लाग्छ यसरी नै हामी गरिबीमाथि जित पाउनेछौ। अन्यायका कारण नै गरिबी मौलाउँछ। समाज यसको दुश्चक्रमा भासिदै जान्छ।’
मैले कानूनको यती सुन्दर व्याख्या सुनेको थिइनँ। बाशु दाजु साँच्ची कै सिलगढीको सुगन्ध लिएर आउनु भएको थियो। मलाई सेती नदीको चिसो पानीमा नुहाए झै लाग्यो। मैले भने ‘दाजी तम वास्तवमी जनता का वकिल हौ।’ बाशु वास्तवमै सिलगढी र नेपाल का सुगन्ध हुन्।