गैरआवासीय नेपाली संघ (एनआरएन) को ९ औं विश्व सम्मेलन आगामी अक्टोबरमा काठमाडौंमा हुने तय गरिएको छ। सम्मेलन आउन करिब ५ महिना बाँकी रहँदै गर्दा अध्यक्षका प्रत्यासी कुमार पन्त अहिले आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन्। चुनावी तयारीबारे आफू निकटकासँग भेटघाट र छलफलमा व्यस्त रहँदै गर्दा फणिन्द्र भट्टराईले कुमार पन्तसँग गरिएको कुराकानीको सम्पादित अंशः
एनआरएन विश्व सम्मेलन नजिकिँदै गर्दा तपाईं केमा व्यस्त हुनुहुन्छ ?
पहिलो चरणमा एनआरएनप्रति आम बुझाई र एनआरएनले लिनुपर्ने एजेण्डाबारे साथीहरुसँग छलफल भइरहेको छ। मुलतः अहिले एनआरएनए कता गइरहेको छ भन्नेबारेमै बहस केन्द्रित हो । एजेण्डाको विषयमा स्पष्ट खाका आइसकेपछि नेतृत्वको विषयमा पनि स्वभाविक चासो भइ नै हाल्छ।
एनआरएनले आफ्नो १६ वर्षे इतिहासमा संगठन विस्तार गर्ने काम सक्यो। संसारभर रहेको सबै नेपालीले एनआरएनए साझा संस्था हो भन्ने स्वीकार गर्न सक्ने अवस्था बनेको छ। यति ठूलो जमातले विश्वास गरेको शक्तिलाई गैरआवासीय नेपालीको हितमा र नेपालको समृद्धिको पक्षमा अधिकतम उपयोग गर्नु अहिलेको आवश्यकता हो। त्यसलाई सम्बोधन गर्नेगरी एनआरएनएको एजेण्डा आउनुपर्छ भन्ने हाम्रो भनाई हो। गैरआवासीय नेपालीको हितमा काम गर्न सक्ने, नेपालको समृद्धिको पक्षमा ठोस योजना ल्याउने सक्ने व्यक्ति चयन गरी संस्थालाई अगाडि बढाउनु पर्छ भन्ने हो। यसमै अहिले लागि परिरहेको छु।
नेपालको समृद्धिको पक्षमा ठोस योजना ल्याउन सक्ने व्यक्ति चयन गरी संस्थालाई अगाडि बढाउनु पर्छ भन्नु भयो, नेतृत्वमा म नै सक्षम छु भन्न खोज्नुभएको हो ?
सबै साथीहरुको अहिलेसम्मको सुझाव सल्लाह बुझ्दा मैले नेतृत्व लिनुपर्छ भन्दै आउनु भएको यथार्थ हो। यत्तिका वर्षसम्म एनआरएनएको अभियानमा लाग्नुभएको छ, तपाईंले अब संस्थाको नेतृत्व गर्नुपर्छ भन्ने साथीहरुको भनाई रहँदै आएको छ। त्यसको सम्मान गर्दै मैले आफ्नो उम्मेदवारीलाई अगाडि बढाउने निर्णय गरेको हुँ। गैरआवासीय नेपाली अभियानमा लामो समय संलग्न रहेकोले मैले आफूलाई नेतृत्व लिन सक्षम छु भन्ने महसुस गरेको छु। अब एनआरएनमा ठोस एजेण्डासहित अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ।
विगतमा हामीले लगानीको थुप्रै कुरा गर्यौँ। तर पनि खोजेअनुसार लगानी नेपालमा अझै जान सकेको छैन। टेस्ट प्रोजेक्टको रुपमा एउटा प्रोजेक्ट सन् २०१२ मा सुरु गरिए पनि त्यसपछि यो अवधारण अघि बढेको छैन। मैले नेतृत्व गरेको खण्डमा एनआरएनको सामूहिक लगानीप्रतिको यो अवधारणलाई निरन्तरता दिने योजना बनाएको छु।
सबै गैरआवासीय नेपाली मिलेर नेपालमा एउटा ठूलो फण्ड लिएर जानुपर्छ भन्ने साथीहरुको सुझाव र चासो पनि रहँदै आएको छ। त्यो एजेण्डालाई मुख्य रुपमा मैले अहिले पनि उठार्इ रहेको छु। अर्कोतिर देश आर्थिक रुपमा गरीब भएकै कारण सामाजिक र परोपकारी भावनाको पनि बढी अपेक्षा गरिएको हुँदा सामाजिक तथा परोपकारी कामलाई जोड दिनुपर्ने आवश्यकता छ। त्यसको लागि संसारमा छरिएर रहेका ८० लाख एनआरएनमध्ये आर्थिक रुपमा सक्षम एनआरएनको जमात पनि ठूलो छ। त्यस्ता साथीहरुको जमात बढ्दै जाँदा च्यारिटी गर्ने क्रम अहिले बढेको छ।
विकसित देशहरुमा कम्पनी वा व्यक्तिले सामाजिक कार्यहरुमा योगदान गर्दा कुनै ट्रष्ट वा फाउन्डेसनमार्फत गर्न पाइयो भने ट्याक्समा केही रकम छुट (रिडक्सन) हुन्छ। अहिलेको अवस्थामा फाउन्डेसन नभइकन च्यारिटी गर्दा ट्याक्समा रिडक्सन गर्न पाइने अवस्था छैन। त्यसकारण हामीले सम्भव भएका ठाउँहरुमा फाउन्डेसन विस्तार गरेर सोहीमार्फत एनआरएन परोपकारी काममा सहभागी योजना बनाएका छौं।
त्यसो गर्दा ठूलो संख्याको एनआरएन परोपकारी काममा सहभागी हुन सक्नेछ। ‘ट्याक्स रिफन्ड बेनिफिट’ पनि लिन सकिन्छ। यिनै कुरा लिएर म साथीहरुमाझ जाँदैछु ।
यस्तै ‘भिजन २०२०’ भन्ने प्रस्ताव निवर्तमान अध्यक्ष शेष घलेले ल्याउनुभएको हो र त्यसमा एनआरएनले च्यारिटीको कामलाई कसरी अघि बढाउने भनेर स्पष्टसँग लेखिएको छ। त्यसलाई कर्यान्वयनमा लिएर जानुपर्ने मेरो कर्तव्य छ।
अर्कोतर्फ हामी पछाडि धेरै ठूलो संख्याको एनआरएन दोस्रो पुस्तामा छ। त्यो पुस्तालाई स्थानीय राजनीति, व्यवसायिक , सामाजिक लगायतका क्षेत्रमा कसरी सहभागी गराउने भन्नेबारे पनि मेरो ध्यान रहनेछ।
जति धेरै युवा पुस्तालाई एनआरएनमा सहभागी गराउन सकियो त्यति नै हाम्रो दोस्रो पुस्ताले पनि लाभ लिन्छ र नेपालले पनि फाइदा लिन सक्छ भन्ने मेरो बुझाई छ। प्रवासमा महिलाहरु निकै सक्षम छन् तर उनीहरुको उल्लेख्य रुपमा एनआरएनमा सहभागिता नभइरहेको अवस्थामा सहभागिता बढाउन पनि मेरो पहल रहनेछ।
चुनाव नजिकिँदा तपाईको दौडधुप चर्को देखिन्छ, एनआरएन वृत्तभित्र कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
अत्यन्तै उत्साहपूर्वक ढंगले साथीहरुले तपाईं नै नेृतत्वमा जानुपर्छ भनेर भन्दै आउनु भएको छ। गत महिना अष्ट्रेलिया पुग्दा धेरै साथीहरुले एनआरएनलाई थप उचाई दिन तपाई नेतृत्वमा हुनुपर्छ, सहयोग गर्न तयार छौं भनेर भन्नुभयो। साताअघि मात्रै अमेरिकासहित युरोपका देशहरुमा पुग्दा त्यस्तै खालको प्रतिक्रिया पाएको छु। साथीहरुसँग सामाजिक सञ्जाल र भिडियो कन्फरेन्समा छलफल हुँदा उहाँहरुले दर्शाउनु भएको मायाले उत्साहित बनाएको छ। अहिले साथीहरुको ‘फिडब्याक’ लिने क्रमको अन्तिम चरणमा छु।
अघिल्लो विश्व सम्मेलनमा भवन भट्टसँग तपाईको गोप्य सम्झौता भएको भन्ने चर्चा हुने गरेको छ। भट्टबाट सहमति कार्यान्वयन हुनेमा विश्वस्त हुनुहुन्छ ?
एउटा सामाजिक संस्थामा दाबी सबैले गर्न पाउनुपर्छ। ८० लाख नेपालीहरुको प्रतिनिधिमूलक साझा संस्था भएकाले यसमा मबाहेक अरु कोही हुनुहुन्न भनेर म भन्दिनँ। कोही पनि प्रतिस्पर्धामा आउन सक्नुहुन्छ। प्रतिस्पर्धाको लागि म व्यक्तिगत रुपमा तयार छु र मलाई सबै अग्रज एनआरएनका नेताहरुले पनि विश्वास गर्नुभएको छ।
यसमा मेरो दाबी स्वभाविक रहन्छ। भवनजी र म बीच आठौं विश्वसम्मेलनका क्रममा भएको व्यक्तिगत सहमति हो। यो व्यक्तिगत सहमतिले संस्थाका अरु साथीहरुलाई ठूलो अर्थ नराख्न सक्छ। किनभने संस्थाले ल्याउनुपर्ने एजेण्डा नै मुख्य कुरा हुने हुँदा त्यसलाई प्रभावकारी ढंगले कसले कार्यान्वयन गर्न सक्छ भन्ने मुख्य विषय हो।
त्यतिबेला भवनजी दुई पटक उपाध्यक्ष भइसकेको व्यक्ति भएकाले उहाँले अध्यक्षमा सहयोग गर्न आग्रह गरे बमोजिम म उपाध्यक्षमै सीमित रहेर समर्थन गर्ने र अर्को कार्यकाल मैले नेतृत्व गर्ने भन्ने सहमति भएको हो। भवनजी संस्थाको एक जिम्मेवार व्यक्ति रहेकाले उहाँले मलाई विगतको सहमतिअनुसार समर्थन गर्नुहुन्छ भन्नेमा म ढुक्क छु।
प्रसंग बदलौं, सरकारसँग गर्नुभएको १० अर्बको लगानी सम्झौताको प्रगति के छ ?
हामी गैरआवासीय नेपालीले चालु पुँजी १० अर्ब रूपैयाँ लिएर नेपालमा लगानी भित्र्याउन कोष बनाउने घोषणा गरेअनुसार लगानी सम्मेलनका क्रममा सरकारसँग विधिवत रूपमै सम्झौता गरेका हौं। यो एउटा ‘म्युच्युअल फन्ड’ हो। यो फन्डमा सुरुमा हामी ५ प्रतिशत रकम राख्नेछौं। कुल पुँजीको पाँच प्रतिशत नेपाल सरकारले राख्नेछ र ५ प्रतिशत नेपालको निजी क्षेत्रले राख्छ।
बाँकी ८५ प्रतिशत ‘एनआरएन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट कोष’ नामको कम्पनीबाट आइपिओमार्फत् लगानी जुटाइनेछ। आइपिओमार्फत् विशेषगरी संसारभर छरिएर रहेका साना लगानीकर्ता साथीहरु जो हुनुहुन्छ, उहाँहरुले लगानी गर्न चाहेको रकमका लागि आफू बसेकै ठाउँबाट आवेदन दिन सक्नुहुन्छ। कोषमा गैआवासीय नेपालीले मात्र लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।
हुन त आइपिओमा गइसकेको सेयर जसले पनि किन्न पाउने विद्यमान कानुन रहेछ। तर, त्यसलाई सरकारले परिमार्जन गर्ने भनेर प्रतिबद्धता जनाइसकेको छ। हामी अहिले यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन क्रियाशील छौं।
कोषमार्फत गरिएको लगानी सुरक्षित हुन्छ भनेर लगानीकर्तालाई कसरी आश्वस्त पार्न सक्नुहुन्छ ?
लगानीप्रति हामी एकदमै सचेत छौँ। गैरआवसीय नेपालीले सामूहिक रूपमा ल्याउन लागेको यति ठूलो लगानी पहिलो हो। एकै पटक यति धेरै मान्छे संलग्न भएको लगानी सुरक्षित नहुँदा त्यसले धेरै निराशा ल्याउन सक्छ। त्यसले नकारात्मक प्रभाव पार्नसक्छ भनेर हामी एकदमै सचेत छौं।
हामी मात्रै होइनौँ नेपाल सरकार पनि यसमा एकदम सचेत छ। गैरआवासीय नेपालीको लगानी भविष्यमा अरू प्रभावकारी रूपले भित्र्याउनका लागि मुनाफामुलक क्षेत्रमा लगानी गरिनेछ। कोषको ब्यबस्थापन गर्ने काम यस क्षेत्रमा बिज्ञता हासिल गरेका प्रोफेसनलहरुले गर्नेछन्।
नीति नियम र अनुगमन गर्नका लागि लगानी कर्ताको तर्फबाट बोर्डको ब्यबस्था गरिनेछ। यसमा अरु केही थप प्रोभिजनहरु पनि राखिनेछन्। जस्तै अहिलेको नेपालको विद्यमान ऐनअनुसार यसरी आएको फन्डलाई स्पेसिफिक क्षेत्रमा मात्रै लगानी गर्न पाउने रहेको छ। तर हामीले त्यो नभई मुनाफा हुने अन्य क्षेत्रमा पनि लगानी गर्न पाउनु पर्छ भन्दै आएका छौँ। जस्तै बैङ्कका सेयरहरु पनि किन्न पाउनु पर्यो।
सो कोषले निश्चित रकम ब्याजमा लिने दिने ब्यबस्था समेत हुनुपर्छ भनेर तयारी भइरहेको छ। जसले गर्दा लगानीको प्रतिफल सुनिश्चित गर्न सकियोस्। साथीहरुले गरेको लगानीबाट आएको मुनाफा फेरि बाहिर आफू बसेको ठाउँमा सहजै फिर्ता लैजान सकिने व्यवस्था (रिप्याट्रीयेशन) गर्न सक्नेछन्। यी धेरै कारणले गर्दा लगानीकर्ता ढुक्क हुन्छ, हामीले लगानीकर्ता साथीहरुको लगानी सुरक्षित गर्न सकियोस् भनेर पर्याप्त ध्यान दिएका छौँ।
तपाईं एनआरएन लगानी तथा वाणिज्य प्रवद्र्धन कार्यदलका अध्यक्ष पनि हुनुहुन्छ, के अब साँच्चै नेपालमा लगानीको वातावरण बनेको हो ?
एकदमै। नेपालमा शान्ति स्थापना भएपछि, संविधान भइसकेपछि एउटा स्थिर सरकार बनेको छ। स्थिर सरकार बनेपछि नेपालमा लगानीको सम्भावना बढेको छ। नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको भन्ने बारे हामीले मात्र होइन विदेशी लगानीकर्ताले पनि महसुस गर्न थालेका छन्।
तपाईंहरु लगानीको वातावरण बन्यो भन्नुहुन्छ, तर आशातित लगानी आएको पाइँदैन नि ?
होइन । इच्छा शक्ति जहिले पनि राखेको हो। निराश कहिले पनि थिएनौँ। सबैले बुझेको कुरा हो, यसअघि नेपालमा स्थिर सरकार थिएन, संविधान बनेको थिएन। भोलि के हुने हो भनेर कसैलाई केही थाहा थिएन। त्यसो भएकाले गैरआवासीय लगानीकर्ताहरु चिन्तित देखिन्थे। अब त्यस्तो स्थिति छैन। तपाईँले भनेजस्तो हिजो पनि गैरआवासीय नेपाली साथीहरुले लगानी गर्दै नगरी बसेका भन्ने होइन। जस्तै नेपालमा उद्योग व्यवसाय, जल बिद्युत आयोजना, पर्यटन ब्यबसाय हस्पिटल, बैङ्क आदि क्षेत्रमा गैरआवासीय नेपालीहरुले थुप्रै लगानी गर्नु भएको छ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
हामी जहाँ बसे पनि नेपाली हौं। देशलाई माया गर्नको निम्ति नेपालमै बस्नुपर्छ भन्ने पनि छैन। अहिलेको विश्वव्यापीकरणको युगमा संसारको जुनसुकै कुनामा बसे पनि नेपाललाई माया गर्न सकिन्छ, योगदान गर्न सकिन्छ। ८० लाख एनआरएन बाहिर बस्नुहुन्छ, यो भनेको कुल जनसङ्ख्याको झण्डै एक तिहाइ हुन आउँछ।
यत्ति सङ्ख्याको साथीहरु, त्यसमा पनि युवाहरु देशका लागि सक्रिय भएनन् भने हामीले कल्पना गरेको समृद्धि पछि पर्छ।
त्यसकारण सबै साथीहरुले सकेको लगानी गरेर, योगदान गरेर नेपालमा रोजगारीको अवसर सिर्जना गर्न सक्रियतापूर्व लाग्नुहुन म संसारभरका गैरआवासीय नेपालीलाई संस्थामार्फत् अनुरोध गर्न चाहन्छु । साथै संस्थालाई सही गति दिन सही नेतृत्वको जरुरी हुने भएकाले त्यसतर्फ पनि गम्भीर बन्न अनुरोध गर्दछु।