२०५१ सालम़ा एसएलसी पास गरेपछि पहिलो सपना भनेकै काठमाडौं जाने थियो। काठमाडौं कलेज पढ्न जानु भनेको आफ्नो लागि गर्वको कुरा हुन्थ्यो । त्यो सपना पूरा गर्न मेरा लागि पहिलो मापदण्ड थियो, प्रथम श्रेणीमा एसएलसी पास गर्नु।
आफूले तोकेको मापदण्ड पूरा गरेर मात्र भएन। बुवाको साधारण शिक्षण पेशाबाट धानिएको थियो मेरो मध्यम वर्गीय परिवार। त्यसमाथि भरखरै आगलागीबाट पूरै ध्वस्त भएको घर व्यवहार सम्हाल्न खोज्दै हुनुहन्थ्यो बुवा। परिवारले काठमाडौं पढ्न पठाउने खर्चको जोहो गर्न सकेन।
मैले आफ्नै बलबुतामा पढाइ अघि बढाउने निर्णय गरें। जीवनको नयाँ अध्याय सुरू भयो। म कानपुर, दिल्ली हुँदै मुम्बई पुगें।
मुम्बईम़ा पेट्रोल पम्पमा काम गरें। डान्स बारमा काम गरें। सानातिना पसल, होटलमा काम गरें। चरम संघर्षका दिन थिए ती। तर पनि मैले पढाई छोडिनँ। स्नातक पूरा गरें।
मुम्बई पुग्नुअघि नेपाल र भारतबारे मेरा आफ्नै भ्रम थिए। बिहार तथा उत्तर प्रदेशबाट नेपालम़ा मजदूरी गर्न आउने व्यक्ति नै मेरा नजरमा भारतको तस्बिर थियो। उनीहरूलाई आफूसँग, अरु नेपालीसँग दाँजेर म नेपाल नै सम्पन्न ठान्थें।
मुम्बईमा ७ वर्षको बसाई, त्यहाँको अध्ययनले हामी भारत भन्दा कति पछाडि रहेछौं भन्ने मलाई बुझायो।
मुम्बई विश्व विद्यालयबाट सूक्ष्म जीवविज्ञान (माइक्रोबायोलोजी) म़ा स्नातक गरिसके पछि म सन् २००१ मा काठमाडौं फर्कें। काठमाडौंम़ा अध्यापन सुरू गरें। भारतकै विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एउटा कलेजबाट स्नातकोत्तर गरें। आफ्नो विषयम़ा विद्यावारिधि र अनुसन्धान गर्ने धोकोले बेलायत गएँ।
वोल्भरह्याम्पटन विश्व विद्यालयको अनुभव अविस्मरणीय रह्यो। त्यहाँ मैले आफ्नो स्कुलमै उत्कृष्ट अंक ल्याएँ। दर्जनौं स्कुलमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र म्याथमेटिक्स (स्टेम) प्रतिनिधि बनेर विद्यार्थीहरूसँग अन्तर्क्रिया गरें। त्यहाँको गैर–राजनीतिक विद्यार्थी संगठनम़ा उठेर चुनाव जितें। आफ्नो स्कुल प्रतिनिधि बनेर बेलायत तथा एक सयभन्दा बढी देशका विद्यार्थीका समस्या र हकहितमा काम गर्ने मौका मिल्यो। यी सबै अनुभूति मैले सोचेभन्दा राम्रा थिए।
त्यसपछि सोही विश्वविद्यालयबाट छात्रवृत्ति जितेर मस्तिष्क क्यान्सरमा विद्यावारिधि गर्ने मौका पाएँ।
बेलायतको पढाइ र अनुसन्धानपछि म अमेरिका आएँ। विश्वकै उत्कृष्ट २० मा पर्ने अमेरिकाको सिकागो सहरको नर्थवेस्टर्न विश्वविद्यालयमा आवद्ध भएँ। क्यान्सरको उपचार र अनुसन्धानमा अमेरिका तथा विश्वकै प्रतिष्ठित क्यालिफोर्निया राज्यको लस एन्जेल्स सहर अवस्थित सिटी अफ होप मेडिकल सेन्टरसँग जोडिन पुगें।
म भारतमा पढ्दा होस् वा बेलायत वा अमेरिका मेरो मनको एउटा कुनामा देश फर्किने सपना फुलिरह्यो। फक्रिरह्यो। पढिसकेपछि देश कुनै ठूलो कुरा हैन।
नेपाल फर्किने भनेको आफूले सिकेको ज्ञान, सीप र अनुभव मुलुकका लागि उपयोग गर्न तयार हुनु हो। विदेशबाट पढेर फर्किनेमध्ये एक दुई अपवादबाहेक धेरै काठमाडौंमै बसोबास गर्न चाहन्छन्।
म यसलाई भिन्न तरिकाले सोच्छु। नेपाल फर्किने एकदम थोरै मध्येका व्यक्ति पनि काठमाडौंमै बसोबास गर्ने हो भने हाम्रा गाउँ पाखाहरू जस्ता थिए त्यस्तै रहने भए। आजको सन्दर्भमा त झनै रित्तै हुने भए।
हामी गाउँ घरमा हुँदा त्यहाँबाट काठमाडौं जाने वा काठमाडौंमा बसोबास सपना देख्छौं। त्यसपछि विदेश जाने सपना देख्छौं।
विदेशबाट फर्किने भने काठमाडौंमै अड्किन्छौं, किन? एउटा स्वभाविक प्रश्न उठ्छ— त्यसो हो भने गाउँ कसले बनाइदिन्छ? स्थानीय निर्वाचित नेतृत्वले त हाम्रो लागि वातावरण बनाइदिने हुन्। स्थानीय नेतृत्व न त सबै विषयमा विज्ञ नै हुन्छन्, न त उनीहरूलाई विकास निर्माणम़ा साथ दिने राम्रो टिम नै हुन्छ। त्यसैले जब हामी विदेशबाट आफ्नै गाउँ फर्किदैनौं, तबसम्म अरुले गाउँ बनाइदिएनन् भनेर चर्को कुरा गर्न सुहाउँदैन जस्तो लाग्छ।
त्यसैले अब हामीले गाउँ आउने वातावरण बनाउनै पर्छ। यसको लागि आफ्ना गाउँबाट विदेसिएका व्यक्तिहरूले सामाजिक सञ्जालको सदुपयोग गरेर एउटा सञ्जाल निर्माण गरौं। गाउँमै गएर केही गर्ने वातावरण निर्माण गरौं।
गत मंसिर महिनाबाट हामीले विश्वभरि फैलिएर रहेका तर आफ्नो देश तथा गाउँ फर्किन चाहना राख्ने साथीहरूमाझ नेपाल फर्कौं महाअभियान चलाएका छौं। यसको प्रमुख उद्देश्य देश फर्केका, फर्किन प्रतिवद्ध भएका वा फर्किन चाहना भएकाहरूलाई एउटै ठाउँमा ल्याएर छलफल गर्नु हो।
यो अभियान सुरू भएको पछिल्लो ७ महिनामा हामीसँग संसारभरिबाट सयौं साथीहरू जोडी सकेका छन्। हामीमध्ये कैयौं साथीहरू विश्वकै उत्कृष्ट संस्थाहरूमा काम गरेको अनुभव र सीप लिएर फर्किन प्रतिवद्ध छन्। कैयौं त झन् आफ्नै गाउँमा गएर स्थायी बसोबास गर्ने तयारी गरिरहेका छन्। अहिले हामीहरू आफ्नो गाउँ वा सहरमा फर्किसके पछि हामीलाई आइपर्न सक्ने अप्ठ्याराहरूबारे पनि कुरा गरिरहेका छौं। त्यसलाई हल गर्ने उपायका साथै हामीले गर्नु पर्ने आर्थिक, सामाजिक, पारिवारिक केही तयारीमा जुटेका छौं।
अबको १–२ वर्षभित्रै फर्किनको लागि सामूहिक तयारीमै लागेका छौं। हामी सयौंको संख्यामा आ–आफ्नो गाउँ फर्किने छौं। हामीलाई विश्वास छ, लाखौंको संख्यामा विदेशमा रहेका अन्य व्यक्तिहरूलाई पनि यसले सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गर्ने छ। आफ्नो गाउँ वा देशमा भविष्य नदेखेर विदेश जाने तरखरमा रहेका अन्य दसौं हजार व्यक्तिहरूलाई पनि यसले प्रेरणा दिनेछ। उनीहरूले विदेशबाट फर्केकाहरूसँग सहकार्य गरेर आफ्नै गाउँ, ठाउँमै केही गर्ने जमर्को गर्नेछन्।
अन्त्यमा, कुनै एक पुस्ताले आफ्नो व्यक्तिगत तथा पेशागत महत्वाकांक्षा र स्वार्थ केही हदसम्म त्याग्न सक्नुपर्छ। हामीले विदेशमा रहेको भौतिक र व्यक्तिगत केही सुविधा त्यागेर आफ्नै देश फर्केर सामूहिक योगदान दिन सकेनौं भने विदेशमै जन्मे हुर्केका हाम्रा सन्ततिको पुस्ताले हाम्रो देश बनाउने कुरा झनै अकल्पनीय हो। आफ्नो गाउँ–ठाउँ र देशका लागि हामीले यति योगदान नगर्दासम्म मुलुक बन्न मुश्किल नै हुन्छ। त्यसैले आफ्ना व्यक्तिगत महत्वाकांक्षा त्यागेर, आफ्नै गाउँ फर्कौं र सामूहिक योगदान गरौं।