झोला बोकेर परदेशिएको हरेक मानिसको चाहना मेरो जस्तै सबैको एउटै हुन्छ होला, भोलिदेखि सुरू हुने मेरो परदेश बसाइलाई कसरी सरल तथा जीवन उपयोगी बनाउने, आफ्नो परिवारको सपना पूरा गर्ने र आफू हुर्किएको समाज तथा देशका लागि केही न केही गरौं भन्ने लाग्ने।
यस्तै यस्तै सपनाको पोको बोकेर म सन् १९९९ मा पहिलो पटक अमेरिका आएँ र सात समुन्द्रपारको पातलपारीको भूमिमा आफ्ना भारी बिसाएँ, मेरो यो क्रम बाँकी केही वर्ष यसरी नै चल्यो र सन् २००३ देखि विश्वका मानिसहरूका लागि दर्बिलो आकर्षणको केन्द्र एवम् अवसरै अवसरको भूमि भनेर चिनिएको अमेरिकालाई मैले, मेरो गन्तव्य बनाएँ।
अमेरिका आएपछि यहाँको केही राज्यहरूमा बसाइको अनुभव गर्दै विगत १२ वर्षदेखि परिवारसहित पश्चिमी टेक्सासको एउटा गाउँलाई कर्मथलो बनाई बसोबास गर्दै आएको छु।
यी माथिका हरफहरू नितान्त मेरो व्यक्तिगत जीवनसँग मात्र जोडिएका विषयहरू हुन्। योसँगै मानवीय स्वभाव नै हो, त्यसमाथि पनि म विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले जन्म लिएको तपोभूमि, सीता र भृकुटीमाइको माइती देश र वीर गोर्खालीहरूको साहस र बहादुरीको गाथाले भरिपूर्ण इतिहास बोकेर आज संसारभर आफूलाई स्वाभिमानी नेपाली भनेर चिनिएको देश नेपालबाट आएको एक सचेत नागरिक हुँ।
यहाँ बस्दा नेपाली-नेपालीबीचमा समन्वय गर्दै, एक आपसमा भाइचारा र सद्भाव कायम राख्दै, यहाँको बसाइका क्रममा आइपरेका र मातृभूमिमा परेको हरेक दु:खसुखमा हातेमालो गर्दै, नेपाल र नेपालीको पहिचानका लागि खुलेका विभिन्न संघ संस्थामा रहेर काम र सहयोग गर्दै आजसम्मको यात्रा पूरा गरेको निवेदन गर्न चाहन्छु।
मेरो परदेश बसाइको बेला वरिपरिदेखिकै नेपालमा बस्ने नेपालीहरू तथा नेपाल बाहिर बस्ने नेपालीहरूको समग्र हित र उन्नतिका निम्ति, विश्वभर छरिएर बसोबास गरेका सम्पूर्ण नेपालीलाई एकै सूत्रमा जोड्ने गहन उद्धेश्य र लक्ष्यसहित खुलेको हामी सबैको एकमात्र साझा संस्था गैरआवासीय नेपाली संघमा कुनै न कुनै रूपमा आफूले सकेको सहयोग र भूमिका निर्वाह गर्दै आइराखेको छु।
यसैको सेरेफेरोमा मैले ‘मेरो कल्पनामा गैरआवासीय नेपाली संघ अमेरिकाको भोलिको भूमिका’का सन्दर्भमा आफ्ना भनाइ र दृष्टिकोण सार्वजनिक गर्न बाञ्छनीय लागेर केही विषय पस्कने जमर्को गरेको छु।
सन् २००३ मा स्थापना भएलगत्तै गैरआवासीय नेपाली संघले आफ्नो सञ्जाललाई नेपालीहरूको बाक्लो घनत्व भएको देशहरूमा क्रमश: विस्तार गर्दै फैलाउँदै आएको छ।
यही दौरानमा नेपालीहरूका लागि पछिल्लो गन्तव्य बनेको अमेरिकामा पनि लामो समयसम्म सामान्य अवस्थामा र सन् २०१४ पछि व्यापक रूपमा गैरआवासीय नेपाली संघको संगठन विस्तार केन्द्रदेखि च्याप्टर तहसम्म रहेको छ।
भर्खरै मात्र युरोपको माल्टामा संघको नयाँ शाखा थप समेत गरेको छ।
सूचना र प्रविधिका हिसाबले संसारलाई आज एकै गाउँ जस्तो नजिक बनाएको छ, तर भूगोलले हामीलाई एक आपसमा छुट्याएको छ।
यही फरक भूगोलमा बस्ने हामी नेपालीहरूका बीच फरक/फरक आवश्यकता र चाहनाहरू हुन्छन्।
त्यसैले, हामी अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीहरूको सामूहिक स्वार्थ र चाहनालाई पूरा गर्न साथै हाम्रा साझा मुद्दालाई नेपाल सरकारबाट सम्बोधन गराई नेपाल र नेपालीको हितमा काम गर्न गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको नेतृत्व जरूरी छ।
यही ठम्याइलाई आत्मासाथ गर्दै हामीहरूका बीच भएका मतभेद, केही तीतामिठा सत्य र असन्तुष्टिलाई एकातिर पन्छाएर एक आपसमा हार्दिकता र आत्मियता देखाउँदै २०१९ ओक्टुबर महिनाको १३-१६ तारेख काठमाडौंमा हुने संघको अन्तर्राष्ट्रिय सम्मेलन र अधिवेशनमा एकमतका साथ अघि बढ्ने वातावरणको बनाउने हाम्रो पहिलो सर्त हो।