आज भन्दा केही वर्ष पहिला जब हामी कलेज पढ्न जाने कुरा गर्थ्यौँ, त्यसको पहिलो तयारी भनेकै काठमाडौँ वा देशको ठुलो मध्ये कै सहर जानुपर्ने बाध्यता थियो । उच्च माध्यमिक तथा स्नातक सुरु गरेका केही सुगम ठाउँ बाहेक अहिले पनि दुर्गम जिल्लामा बसोबास गर्नेहरूका लागि त झन् बिद्धालय शिक्षा नै अझ कष्टप्रद छ भने उच्च शिक्षाका लागि त समस्या यथावत् रहने नै भयो ।
हाम्रा गाउँहरूमा विकास भनेको पनि खाने पानी र बिजुली मात्र रह्यो, वा अलिकति विकास भनेको ठाउँमा पनि कच्ची सडक मात्र गयो । हामीले पनि गाउँमा कच्ची सडक मात्र पुर्याई दियो भने विकास भनेकै यही हो जस्तो मानेर खुसी हुन थाली सक्यौँ । यसको कारण हामीले विकास न त कहिले अनुभूति गर्न पायौँ, न त विकास कस्तो हुनुपर्छ भन्ने बुझ्ने मौका नै पायौँ ।
अझै पनि गाउँबाट बेसी झरेर बाटाको छेउमा घर जग्गा जोड्ने वा सहरतिर बसाई सर्नु नै हाम्रा लागि बाध्यता मात्र नभएर व्यक्तिगत प्रगतिका मानक हुन् । यसको मुख्य कारण हाम्रै अति सुन्दर गाउँ-पाखाहरूमा हामीलाई चाहिने शिक्षा तथा अस्पताल जस्ता अत्यन्त आधारभूत आवश्यकताहरू नहुनु पनि हो । तर हामीहरू आफैँले पनि गाउँ पाखाहरूलाई शिक्षा तथा स्वास्थ्य संस्थाहरूको केन्द्र बिन्दु बनाउनेबारे कहिले सोच्नै सकेनौँ । जसको कारण गाउँ, गाउँ नै रहे । बर्सौँ सम्म पनि विकासको मूल फुट्न सकेन ।
यी कुराहरूमा छलफल गर्नु भन्दा पहिला २ वटा प्रतिनिधि उदाहरण प्रस्तुत गर्न चाहन्छु ।
आज भन्दा २ वर्ष पहिला बेलायतबाट विद्धावारिधि पश्चात्को अनुसन्धान गर्नको लागि अमेरिकाको सिकागो सहरमा बसाइँ सरेँ । दुई वर्षको अनुसन्धान पश्चात् विभिन्न कारण बस नयाँ ठाउँमा काम गर्ने सोच आयो । आवेदनको दौरान मैले दिएका केही अन्तरवार्ता मध्ये २ वटा अन्तरवार्ताले लामो समय सम्म पनि मनमा एकप्रकारको कम्पन उब्जाई रह्यो, जसको अनुभव छोटकरीमा यहाँ राख्न चाहन्छु ।
सिकागो सहरबाट लगभग ३ घण्टाको दुरीमा अवस्थित मिचिगन राज्यको 'एन आर्बर' भन्ने सानो सहरमा अवस्थित मिचिगन विश्व-विश्वविद्धालयमा आँखाको क्यान्सर सम्बन्धी अनुसन्धानरत एक जना विशेषज्ञसँग अन्तर्वार्ता दिनुपर्ने थियो । भोलिपल्टको अन्तर्वार्ताको लागि एक दिन अगाडी साझा एन आर्बर पुगेँ । लगभग सवा १ लाख जनसङ्ख्या भएको अत्यन्त सानो सहर एन आर्बर पुगेपछि भोलि पल्ट प्रस्तुति र अन्य अनुसन्धानकर्ताहरूलाई भेट्नु भन्दा अगाडी मैले प्रत्यक्ष सँगै काम गर्नु पर्ने उक्त प्रोफेसरसँग भलाकुसारी गर्दै सहर हिँड्दै गर्दा अमेरिकाको सबै भन्दा ठुलो १ लाख क्षमताको रङ्गशाला देखाउँदै उनले भने: 'यो अमेरिकाको सबैभन्दा ठुलो रङ्गशाला हो र यो एन आर्बरको शान हो । भौगोलिक हिसाबले केही भिरालो र अन्य समथर ठाउँ गरी लगभग ६०० वटा भवन सहित ६००० रोपनीमा फैलिएको अमेरिकाको उत्कृष्ट मध्यकै मिचिगन विश्वबिद्धालय हेर्दा लाग्थ्यो, वास्तवमा हामीहरू र यी देशहरूमा विकासको परिभाषा नै फरक रहेछ । साथै हामीले विकासको सोच नै पुरै बदल्नु पर्ने रहेछ।
एन आर्बर सहर अमेरिकाको उत्कृष्ट सहर मध्ये गनिन्छ । विश्व-भरिबाट प्रतिस्पर्धा गरेर आएका संसार भरिका ४४ हजार बिद्धार्थीका साथै प्राध्यापक, अनुसन्धानकर्ता आदि र उनीहरूका परिवार सहित ७५% प्रतिशत जनसङ्ख्या उक्त विश्व विद्धालयसंग मात्र सम्बन्धित रहेको तथ्यले देखाउँछ। साथै उक्त विश्व विद्धालयले गर्दा विश्व स्तरीय अन्य कम्पनीहरू, मेडिकल केन्द्रहरू आदि त्यहीँ स्थापना भएकै छन् भने यस सहरको अर्थतन्त्र नै उक्त विश्व विद्धालयमा आधारित रहेछ ।
उक्त विश्व बिद्धालयको वरिपरि हिँड्दै गर्दा कैयौँ भवनहरू स्यांग्जाको वालिङ स्थित आफ्नै पुरानो घरको गोठ पलतिरको भिरालो ठाउँमा बनाएको सम्झना आउँथ्यो । चिसो ठाउँ, रुख बिरुवाले ढाकेको, अप्ठ्यारो भूगोलको बिचमा बनेका कैयौँ भवनहरू देख्दा आफ्नो गाउँको झझल्कोले पिडा हुन्थ्यो । अनि मन-मनै सोचेँ, यदि यो विश्वविद्धालय नभएको भए, यो ठाउँ अमेरिकाकै सबै भन्दा दुर्गम ठाउँ मध्यकै हुन्थ्यो होला । तर विश्वस्तरिय विश्व विद्धालय र उक्त विश्व विद्धालयको मातहतमा रहेका अस्पताल र अनुसन्धानले त्यति सानो गाउँ अहिले विश्वकै केन्द्र बिन्दु बनेको रहेछ । यो अमेरिकाको त्यस्ता कैयौँ दर्जन विश्वविद्धालयहरु मध्यको एउटा प्रतिनिधि उदाहरण मात्र हो ।
अब दोस्रो उदाहरण तर्फ लागौँ । विश्व प्रसिद्ध अस्पताल 'मेयो क्लिनिक' को नाम सुन्दै क्लिनिक जस्तो लाग्ने उक्त अस्पताल कुनै बेलामा दोस्रो विश्व-युद्धका
घाइते लाइ उपचार गर्न बनेको प्राइभेट क्लिनिक थियो । भौगोलिक हिसाबले दुर्गम जस्तै मान्नु पर्ने, वर्षमा अधिकांश समय जाडो हुने, अमेरिकाको मिनिसोटा राज्यमा अवस्थित करिब १ लाख जनसङ्ख्या भएको रोचेस्टर सहर पुग्दा पुग्दा सानो, शान्त, खासै मानिसहरू नदेखिने कुनै कुनामा आए जस्तो लाग्थ्यो । यो अस्पताल देख्दा लाग्यो, उक्त अस्पताल नै आफैमा एउटा सहर हो । त्यसैले पनि मेयो क्लिनिक तथा रोचेस्टरको बारेमा इन्टरनेटमा खोज्दा अहिले पनि रोचक तथ्य भेटिन्छ; रोचेस्टरमा बस्नु भनेकै मेयो अस्पतालमा बसे सरह हो । हुन पनि अस्पताल रोचेस्टर सहर भरि फैलिएको छ । मेयो क्लिनिकमा अन्तर्वार्ताको लागि नै आएको भन्ने बित्तिकै त्यहाँको स्थानीय एयरपोर्टमा अवस्थित सूचना केन्द्रमा उनीहरूले गरेको सम्मान हेर्दा लाग्थ्यो, झन् त्यहाँ काम गर्ने व्यक्तिले पाउने सम्मान साच्चिकै सम्झना लायक हुँदो हो ।
मेयो क्लिनिकका भवनहरू मात्र भेटिने उक्त सहरको करिब १ लाख जनसङ्ख्या मध्ये ६३ हजार त उक्त अस्पतालका कर्मचारी मात्र रहेछन् । यसको मतलब हो, उक्त सहरमा बस्ने अधिकांश बासिन्दा उक्त अस्पतालमा कार्यरत डाक्टर, वैज्ञानिक, प्राध्यापक, नर्स, अन्य कर्मचारी, उपचार गर्न गएका बिरामी र उनका परिवारहरू हुन् । ६३ हजार कर्मचारी मध्ये उक्त सहर र वरिपरिका मात्र ३४ हजार व्यक्तिहरू मेयो क्लिनिकमा कार्यरत रहेछन् भने रोचेस्टर सहरको अर्थतन्त्र पनि मेयो क्लिनिकमै आधारिक रहेछ । मन-मनै कल्पना गरेँ, यो अस्पताल नभइदिएको भए तथा हाम्रा देशका नेतृत्वले जस्तै त्यहाँको जनसङ्ख्यालाई आधार बनाएर यति सानो ठाउँमा किन अस्पताल चाहियो भनिदिएको भए न त त्यहाँ मेयो क्लिनिक नै हुन्थ्यो, न त त्यहाँ प्रत्येक वर्ष संसार भरिबाट १३ लाख व्यक्तिहरू उपचार गर्न जान्थे ।
यी दुईवटा प्रतिनिधि उदाहहरण दिनुको कारण के हो भने यी दुवै ठाउँ मेरो जन्मस्थान स्यांग्जाको वालिङ नगरपालिकासँग मिल्दोजुल्दो छ । वालिङ नगरपालिकाको जनसङ्ख्या ८० हजार जति छ भने त्यहाँको भौगोलिक हिसाबले पनि भिरालो छ । वालिङ न त एकदम दुर्गम छ न त पोखरा, काठमाडौँ जस्तो एकदम विकसित नै । हामीले वालिङ मात्र नभएर रोल्पा, रुकुम, कर्णाली जस्ता ठाउँमा उच्च अध्ययनका लागि उत्कृष्ट शैक्षिक संस्था तथा अस्पतालहरू निर्माण गर्न सक्ने हो भने न त हाम्रा सहरहरू भिडभाड र प्रदूषण बाट आक्रान्त हुन्थे, न त गाउँको स्थिति अहिले जस्तो नाजुक हुन्थ्यो ।
यी दुई प्रतिनिधि उदाहरण बाट प्रस्ट हुन्छ, उच्च अध्ययन गर्न जाने भनेको गाउँबाट सहर नै हुनुपर्छ भन्ने होइन, जहाँ उत्कृष्ट शैक्षिक संस्था हुन्छ, त्यो ठाउँमा जाने हो । ग्रामीण भेगमा यस प्रकारका नेपालकै माटो सुहाउँदो अध्ययन, अध्यापन र अनुसन्धान गर्ने उच्च शैक्षिक संस्था तथा उक्त ठाउँमा अत्यावश्यक र आधारभूत सुविधा मात्र दिन सक्ने हो भने पनि कम्तीमा पनि आफ्नो देश भित्रका विभिन्न ठाउँबाट मानिसहरू अध्ययनको लागि गाउँमा जान सक्छन् । त्यसले उक्त ठाउँ र जनताको चेतना, ज्ञान र शिक्षाको हिसाबले सशक्तीकरण मात्र गर्ने होइन, त्यहाँको रोजगारी, विकास, र आर्थिक गतिविधिमा पनि एकदम ठुलो भूमिका खेल्छ ।
हुन त प्रश्न पनि उठ्न सक्ला, हाम्रा सरकारी बिद्धालय नै नाजुक छन्, माथि भनेका जस्ता उत्कृष्ट संस्थाहरू भन्दा बरु बिद्धालय शिक्षामै केन्द्रित हुनुपर्छ । तर बिद्धालयको साथ साथै हामीले आफ्नो माटो सुहाउँदो अन्वेषण-अनुसन्धान गर्न सकेनौँ भने हामीले हाम्रा जैविक श्रोतहरूलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा सदुपयोग सक्दैनौँ । यसको उदाहरण भारतलाई लिन सकिन्छ ।
भारत आफैँमा राजनीति र भ्रष्टाचार बाट आक्रान्त नभएको होइन, साथै भारतमा अहिले पनि सरकारी बिद्ध्यालयको स्थिति एकदम नाजुक छ, तर अङ्ग्रेजहरूबाट स्वतन्त्र हुन् साथ आइआइटि जस्ता विश्व स्तरीय प्राविधिक केन्द्रहरू खोलिए । अहिले विश्वका सैयौं विश्व विद्धालयमा बिद्धावारिधि पश्चात्को अनुसन्धानको लागि भारतबाट विद्धावारिधि गरेका हजारौँ अनुसन्धानकर्ताहरू भेटिन्छन् । यसको कारण के हो भने भारतले आफ्नो आन्तरिक व्यवस्थापन गर्दै गर्दा देशलाई आवश्यक पर्ने विश्व स्तरीय मानव श्रोत आफ्नै विश्वविद्दालय उत्पादन गर्न सक्षम छ भने त्यही अनुसारको अनुसन्धान गर्न सक्षम छ । साथै मेडिकल, इन्जिनियरिङ जस्ता कैयौँ विधाको अध्ययनका लागि राष्ट्रिय स्तरको कडा प्रतिस्पर्धा गरेर भारतमा बिद्धार्थीहरु ग्रामीण भेकमा खुलेका शैक्षिक संस्थाहरूमा अध्ययन गर्न जान्छन् ।
अन्तिममा, अब हामीले गाउँबाट सहर जाने प्रक्रिया तथा संस्कार लाइ सहरबाट गाउँ तर्फ फर्काउन अत्यावश्यक भैसकेको छ । हाम्रा विकासका योजनाहरू अब सहर केन्द्रित होइन, गाउँ केन्द्रित हुनै पर्छ । अब हामी गाउँबाट हामी सहर पस्ने होइन, सहरबाट गाउँ फर्किने हो र यसको लागि वातावरण तयार गर्ने हो ।