अमेरिकामा रहेका करिब पाँच सय नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको बताइएको छ।
करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइए पनि यसको स्वतन्त्ररूपमा पुष्टि भने हुन सकेको छैन।
अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट नेपालीमूलका अनिल लिम्बूको गत साता न्यू योर्कमा निधन भएको थियो।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सक डा. केशव पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।
तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
उनले अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्याधिक रहेको बताए।
कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ।
'अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ', उनले भने।
उनले त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको जानकारी दिए।
यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाले अनौपचारिक तथ्यांक केलाउँदा करिब ५ सय जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको बताए।
'हामीले अनौपचारिक तथ्यांक संकलन गरेका छौँ, यसरी तथ्यांक केलाउँदा करिब ५०० कोरोना भाइरसको संक्रमित भएको देखिएको छ। तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन्', उनले भने।
सापकोटाका अनुसार अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्यांक पत्ता लगाउन कठिन हुने बताए।
अमेरिकामा रहेका कति नेपाली संक्रमित छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन्।
अमेरिकामा ३०० रजिष्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजकी अध्यक्ष मञ्जु सङ्ग्रौलाले दिएको जानकारी अनुसार संस्थासँग आबद्ध नर्सहरु सबै ‘एक्टिभ ड्युटी’मा रहेका छन्।
यसैगरी अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ।
अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको जानकारी दिएका छन्।
अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशंका रहेको छ।
अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए।
भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट संक्रमित भएको रिपोर्ट आएको जानकारी दिए।
भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको संक्रमण परीक्षणका लागि सहयोग गरेको बताए।
संघीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उनको भनाइ छ।
भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहेका छन्।
यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो।
नेपालीहरु अमेरिकाको न्यू योर्क, क्यालिफोर्निया, न्यू जर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्यांक छ।
यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन्।
अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मुख्यरूपमा न्यू योर्कमा बढी देखिएको। न्यू योर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्यांक रहेको छ।
तर संघीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने भण्डारीले बताए।
भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेको जानकारी दिए।
नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको मार्गनिर्देशनहरु अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन्।
(राससका लागि मधुकर अधिकारी)