अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्या प्रकरणमा जागिरबाट निकालिएका प्रहरीहरूविरूद्ध नयाँ अभियोगहरूको घोषणा गरिएको छ।
अदालतका दस्तावेजमा डेरेक शोभिन विरूद्ध विना पूर्वयोजना आशययूक्त हत्या गरेको अभियोग लगाइएको छ।
यस्तै बाँकी तीन प्रहरीहरू विरूद्ध हत्या गर्न सहयोग पुर्याएको र मतियार बनेको आरोप लगाइएको छ।
जर्ज फ्लोइडको हत्यापछि अमेरिकामा नस्लीय भेदभावविरूद्ध ठूला प्रदर्शनहरू भइरहेका छन्।
गत एक साता देखि अमेरिकाभर प्रदर्शन हुँदै आएको छ।
जारी प्रदर्शनहरू अधिकांश शान्तिपूर्ण भएपनि केही प्रदर्शनहरू भने हिसांत्मक बनेका छन्। देशका कयौं शहरमा कर्फ्यू लगाइएको छ।
घटनामा संलग्न प्रहरीहरूविरूद्ध नयाँ अभियोगहरूको घोषणा गर्दै मिनोसोटाका महान्यधिवक्ता किथ एलिसनले लगाइएका अभियोगहरू न्यायको पक्षमा रहेको बताएका छन्।
बिबिसीमा प्रकाशित समाचारका अनुसार घटनाका प्रमुख आरोपी डेरेक शोभिनमाथि यस अघि लगाइएको 'थर्ड डिग्री' हत्या र पूर्वयोजना र विना आशय पारिस्थितिक कारणले हत्या भएको अभियोगमा कुनै परिवर्तन भएको छैन।
घटनामा संलग्न शोभिनसँगै थोमस लेन, जे एलेक्जेन्डर र टाउ थाओलाई कामबाट हटाइएको छ।
मिनिसोटाका सिनेटर एमी क्लोबुचरले दोषीहरूमाथि लगाइएका नयाँ अभियोगलाई न्यायको दिशामा एउटा कदम भएको बताएका छन्।
यस्तै घटनामा मारिएका फ्लोइडका परिवारका वकिल बेन्यामिन क्रम्पले पछिल्ला कदमहरू न्यायको बाटोमा महत्वपूर्ण कदम भएको भन्दै त्यसका लागि आभार प्रकट गरेका छन्।
उनले फ्लोइडको अन्तिम संस्कारअघि नै लिइएको यो कदम महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन्।
यसैगरी अमेरिकी टेलिभिजन सिएनएनसँग कुरा गर्दै उनले फ्लोइडका परिवारले डेरेक शोभिनविरूद्ध 'फस्ट डिग्री' हत्याको आरोप लगाउनुपर्ने चाहान राखेको बताउँदै हाल जाँच चलिरहेकाले त्यसमा परिवर्तन हुनसक्ने सम्भावना व्यक्त गरेका छन्।
प्रहरीमाथि लगाइएको हत्या आरोप कस्तो हो?
मिनिसोटा राज्यको कानुन अनुसार पहिलो र दोश्रो तहको हत्यामा आरोपीको आशय हत्या गर्ने थियो भन्ने कुराको प्रमाण पेस गर्नुपर्छ। सामान्यतया जानाजान गरिएको हत्यामा पहिलो तहको हत्या आरोप लाग्छ भने आवेग वा रिसमा गरिएको हत्यामा दोश्रो तहको हत्या आरोप लाग्छ।
यस्तै तेश्रो तहको हत्यामा भने अभियूक्तले हत्या गर्न खोजेको थियो भन्ने कुराको प्रमाण दिनुपर्दैन।
यसमा अभियूक्तले जे गरेका थिए त्यो खतरनाक र उसमा मानिसको जीवनप्रति कुनै संवेदनशिलता नभएको प्रमाणित हुनुपर्छ।
त्यहाँको कानुन अनुसार यदि कोही व्यक्ति दोश्रो तहको हत्या आरोपमा दोषी ठहर भए उसलाई ४० वर्षसम्मको कैद र तेश्रो तहको हत्यामा २५ वर्षसम्मको जेल सजाय हुनसक्छ।