अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्याले सेप्टेम्बर महिनाको एक बिन्दुमा दुई लाख छुने अनुमान एक अमेरेिकी विज्ञले गरेका छन्।
बुधबारमात्र अमेरिकामा संक्रमितको संख्या २० लाख नाघेको छ।
पछिल्लो समय अमेरिकी राज्यहरूले अर्थव्यवस्था र जनजीवनलाई सामान्य तुल्याउने भन्दै लकडाउनलाई खुकुलो पार्दै लगेका छन्।
हावर्डको ग्लोबल हेल्थ इन्सिट्यूटका प्रमुख आशिष झाले सिएनएनलाई बुधबार अन्तरवार्ता दिदैं यस्तो सम्भावना व्यक्त गरेका हुन्। अन्तरवार्तामा झाले प्रभावकारी कदम नचालिए अमेरिकामा कोरोनाका कारण हुने मृत्यु जारी रहने बताए।
'संक्रमण बढ्ने अवस्था नभएपनि यदि हामीले कुराहरूलाई त्यतिकै राखिराख्यौं भने मृतक संख्याले सेप्टेम्बर महिनाको कुनै बिन्दुमा २ लाख छुनेछ', झाले भने, 'यो त सेप्टेम्बरसम्मको कुरा हो। महामारी सेप्टेम्बरमा सकिनेछैन।'
झाले अन्तरवार्तामा आगामी साता र महिनामा 'हामी कहाँ जानेछौं' भन्ने कुराले आफूलाई चिन्तित पारेको पनि बताए।
बुधबारसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार ७ सय ५४ पुगेको छ।
यो संसारको कुनै पनि मुलुकमा कोरोनाका कारण भएको सर्वाधिक धेरै मृत्यु हो।
कोरोनाले अमेरिकामा महामारीको रूप लिन थालेपछि अमेरिकी सरकारले भाइरसका कारण करिब २ लाख ४० जनाले ज्यान गुमाउन सक्ने अनुमान सार्वजनिक गरेको थियो।